• १४ वैशाख २०८१, शुक्रबार

वर्षातमा पनि चलायमान सौराहा

blog

वसन्त पराजुली 

सौराहा, असार १४ गते । चितवन राष्ट्रिय निकुञ्जभित्रका पर्यटकीय गतिविधि रोकिए पनि निकुञ्जमै निर्भर रहेको पर्यटकीय नगरी सौराहाको गतिविधि भने रोकिएको छैन । सौराहा नजिकै रहेका बाघमारा र कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती र जिपजस्ता जङ्गल सफारीका गतिविधि चलिरहेकाले सौराहाको पर्यटकीय गतिविधि वर्षात्को सिजनमा पनि चलायमान रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले बताउनुभयो ।

“हामीले सौराहा आउने पर्यटकका लागि जङ्गल सफारीका कुनै पनि गतिविधि रोकेका छैनौँ । निकुञ्जसँगै जोडिएका बाघमारा र कुमरोज सामुदायिक वनमा निकुञ्जजत्तिकै जङ्गली जनावर अवलोकन गर्न पाइन्छ । हामीले त्यसैमा पर्यटक घुमाएर पनि सौराहाको पर्यटन गतिविधिलाई निरन्तरता दिइरहेका छौँ,” महासचिव थपलियाले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ, गँैडाजस्ता दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गीका कारण देश विदेशका पर्यटक आर्कषित छन् । ९३२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा रहेका ६६० चराचुरुङ्गी, बीसहजारी तालजस्ता रामसार क्षेत्रमा सूचीकृत तालतलैयाले यसको आकर्षण अझै बढाएको हो ।

हात्ती चढेर वन्यजन्तु (बाघ, गैँडा) हेर्नु चितवन आउने पर्यटकको विशेषता हो । वर्षात्मा निकुञ्जमा बढ्ने झाडी, हिलो र बाढीका कारण निकुञ्जले हरेक वर्ष यो सिजनमा निकुञ्ज प्रवेशमा रोक लगाउने गर्छ । यो वर्ष पनि निकुञ्जले सूचना जारी गरेर असार १ देखि भदौ ३० सम्म पर्यटकलाई निकुञ्ज प्रवेशमा रोक लगाएको हो । 

निकुञ्जभित्रै प्रवेशमा रोक लागे पनि निकुञ्जबाहिरका मध्यवर्ती क्षेत्रमा सहजै पर्यटक आउजाउ गर्न सक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । “निकुञ्जको विशेषता भनेकै हात्ती सफारी, जिप सफारी, जङ्गल सफारी (पैदल यात्रा) र डुङ्गा सफारी हुन् । यी कार्य अहिले पनि निकुञ्जबाहिरका मध्यवर्ती वनमा रोकिएको छैन,” आचार्यले भन्नुभयो । 

निकुञ्जमा आउने पर्यटकको वन्यजन्तु अवलोकन गर्ने उद्देश्य रहने गर्छ तर यो सिजन जङ्गलमा झाडी बढ्ने भएकाले जनावर नदेखिने, वन्यजन्तुको जोखिम पनि बढी हुने, वर्षात्को हिलो तथा बाढीले निकुञ्ज प्रवेशमै अवरोध हुनेजस्ता गतिविधिले हरेक वर्ष यो सिजनमा पर्यटकका लागि प्रवेश रोकिने प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो ।  

मध्यवर्ती क्षेत्रमा जङ्गल सफारीका गतिविधि नरोकिएकाले अरू बेला निकुञ्जभित्र जङ्गल सफारी गराउने जिप, डुङ्गा र हात्ती पनि सामुदायिक वन क्षेत्रमा चलाउन थालिएको छ । पर्यटकीय नगरी सौराहामा अहिले जङ्गल सफारीमा ४० वटा जिप, २५ वटा डुङ्गा र एक सयभन्दा बढी हात्ती छन् । 

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे वर्षात्मै पनि सौराहामा पर्यटक आउने क्रम जारी रहेको बताउनुभयो । “सौराहाको औसत अकुपेन्सी ५० देखि ६० प्रतिशत हो तर अहिले त्यो घटेर १५ देखि २० प्रतिशतमा झरेको छ । पर्यटक आउन भने रोकिएका छैनन्,” उहाँले भन्नुभयो । सौराहामा रहेका ११० वटा पर्यटकीय होटलमा दुई हजार पाँच सय श-या छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार गएको एक वर्षमा एक लाख ५० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । निकुञ्ज अवलोकन गर्नेमध्ये झन्डै ८० प्रतिशत सौराहाबाटै निकुञ्ज प्रवेश गर्छन् । अहिले सौराहामा विशेष त आन्तरिक पर्यटकसँगै भारतीय र युरोपेली पर्यटक देखिएका छन् ।