• २६ भदौ २०८२, बिहिबार

सम्वादमार्फत समस्याको समाधान खोजिनुपर्छ : मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । फाइल तस्बिर

सन्तोष सुवेदी 

कास्की, भदौ २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिबाट मुलुकलाई सम्वाद र एकताबाट पार लगाउन सकिने बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले बिहीबार एक विज्ञप्ति जारी गर्दै  संयम, संवाद र एकताको बाटोबाट मात्र मुलुकलाई पार लगाउन सकिने उल्लेख गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारको घर जलेपछिको खरानीलाई जग र जरैदेखि बलियो बनाउन पुँजीको रूपमा लिँदै शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘‘यस्तो परिस्थितिबाट देशलाई निकाल्ने बाटो संवाद र एकता मात्रै हो । राष्ट्रपतिज्यूले अघि बढाउनुभएको संवाद पहललाई गण्डकी प्रदेश सरकारले स्वागत गर्दछ । यो पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चारजगत सबैको सहकार्य अपरिहार्य छ ’’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले युवा पुस्ताको आकाङ्क्षा र भावनालाई आत्मसात गर्दै संवैधानिक रिक्तता सिर्जना हुन नदिई वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘‘भदौ २३ को अत्यधिक बल प्रयोगले ठुलो मानवीय क्षति गरेको र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाले मुलुकलाई स्तब्ध बनाएको छ । सङ्घीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, सरकारी निवास र निजी सम्पत्तिमा भएको क्षति दुःखद र निन्दनीय भएको छ’’ उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।  पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेतामाथि भएको आक्रमणलाई अमानवीय भन्दै मुख्यमन्त्री पाण्डेले खेद प्रकट गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले हालको घटनाक्रमले राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य पारेको उल्लेख गर्नुभएको छ।