बेइजिङ, भदौ २६ गते । संयुक्त राज्य अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञ तथा रक्षा प्रमुखबिचको वार्ताले दुई देशका नेताबिच सम्भावित भेटवार्तातर्फ ‘सानो तर महत्त्वपूर्ण कदम’ को सङ्केत दिएको विश्लेषकको भनाइ छ ।
तर उनीहरूले आसन्न शिखर सम्मेलनबारे अत्यधिक अपेक्षा नगर्न चेतावनी पनि दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच अन्तिम भेट सन् २०१९ मा भएको थियो । यस पटकको सम्भावित भेटतर्फ सबैको ध्यान ताइवान, दक्षिण चीन सागर र अमेरिकी कर जस्ता संवेदनशील विषयमा केन्द्रित हुने छ ।
यस वर्ष दुई ठुला अर्थतन्त्रबिचको तनाव चर्किएको भए पनि अप्रिलपछि दुवैले एकअर्काको निर्यातमा बढ्दो कर लगाएका कारण केही चिसिएको देखिएको छ । ट्रम्प र सीले अन्तिम पटक जुनमा टेलिफोनमा कुरा गर्नुभएको थियो । अगस्टमा ट्रम्पले यस वर्ष वा केही समयपछि चीन भ्रमण गर्ने सङ्केत दिनुभएको थियो ।
तर सीले यसबारे सार्वजनिक टिप्पणी गर्नुभएको छैन । यसैबिच, बुधबार दुई देशका विदेश र रक्षा प्रमुखबिच भएको वार्ताले नेताबिच प्रत्यक्ष भेटवार्ताको आशा थपेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा चीनसँग ‘रचनात्मक र खुला संवाद’ चाहेको बताउनुभएको थियो ।
चिनियाँ विदेश मन्त्रालयले पनि वार्ता फलदायी भएको बताउँदै, तर अमेरिकी पक्षका पछिल्ला नकारात्मक कार्य र भनाइले चीनका वैध अधिकार र चासो कमजोर पारेको चेतावनी दिएको छ । सिङ्गापुरका नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट प्रोफेसर डिलन लोहले भन्नुभयो, “यो वार्ता अघिल्ला संवाद र व्यापार सम्झौताको निरन्तरता हो । सकारात्मक सङ्केत देखिन्छ, तर अझै धेरै कदम चाल्न बाँकी छ ।”
-अनिश्चितता अझै कायम-
यही दिन चिनियाँ रक्षामन्त्रीले पेन्टागन प्रमुख पिट हेग्सेथलाई भिडियो कलमार्फत चेतावनी दिँदै भन्नुभयो, “चीनलाई रोक्न वा हस्तक्षेप गर्न खोज्नु व्यर्थ हुने छ ।” सिङ्गापुर नेसनल युनिभर्सिटीका राजनीति विज्ञ चोङ जा इयानले यी संवादले ‘ट्रम्प-सी भेटको मार्ग प्रशस्त गर्न सक्छन्’ भने पनि कुनै ठोस नतिजा अझै प्रष्ट नभएको बताउनुभयो । “राष्ट्रपति चाँडै निर्णय बदल्ने स्वभावका हुन्छन्, त्यसैले भेट नजिकै छ भनेर भविष्यवाणी गर्नु अपरिपक्व हुन सक्छ”, उहाँले भन्नुभयो । रासस/एएफपी