• २६ भदौ २०८२, बिहिबार

लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

blog

म्याग्दी, भदौ २६  गते ।  जिल्लाको बेनी नगरपालिका-४, सिङ्गा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेस्टुरेन्ट पुरिएको छ । दुई वटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ ।  

प्रेम श्रीसले सञ्चालन गर्नुभएको श्रीस होटल बाढीले पूर्णरूपमा पुरिएको बेनी-४ का वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र बाढी पसेको छ । 

तातोपानी कृषि सहकारी संस्था र भगवती मन्दिरभित्र बाढी पसेको छ । बाढीले मङ्गाला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक अवरुद्ध बनाएको खड्काले जानकारी दिनुभयो । 

घरभित्र रहेका स्थानीय बाढी आउन थालेपछि भागेर ज्यान जोगाएका छन् । अहिले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय डोजरको सहायतामा बाढी नियन्त्रणमा जुटेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुई वटा डोजर परिचालन गरेका छन् । 

स्थानीयवासीले सामुदायिक भवन र मन्दिरभित्र पसेको बाढी पन्छाउन श्रमदान गरेका छन् । एक सय ३० थान ग्याबियन जाली लगाउन थालिएको छ । तटबन्धका लागि बुधबार साँझ त्यहाँ लगेर राखिएको ग्याबियन जाली पनि बाढीले पुरेको छ । रासस