• २६ भदौ २०८२, बिहिबार

उत्तर कोरियाकी किम जु ए ‘मान्यता प्राप्त उत्तराधिकारी’ : सियोल

blog

उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु ए ।

सियोल, भदौ २६ गते । दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनकी छोरी किम जु एलाई उहाँको औपचारिक उत्तराधिकारीका रूपमा मान्यता दिएको जनाएको छ । 

जु ए हालै बेइजिङको उच्चस्तरीय भ्रमणमा आफ्नो बुवासँग सहभागी भएकी थिइन् । यो भ्रमणमा उनले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटिन् । यसरी पहिलो आधिकारिक विदेश भ्रमण गर्दा किशोरी जु एले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय ध्यान तानेकी थिइन् ।

विश्लेषकले लामो समयदेखि उनलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिरहेका छन् । तर केहीले उनको जेठो दाजुलाई पनि गोप्य रूपमा सत्ताका लागि तयार पारिएको हुन सक्ने सङ्केत दिएका थिए । “जु एले सम्भावित उत्तराधिकारीका रूपमा आफ्नो स्थिति बलियो बनाउन पर्याप्त ‘क्रान्तिकारी कथा’ सुरक्षित गरेकी छन्”, दक्षिण कोरियाली सांसद ली सेओङ-क्वेन भन्नुभयो, “चीन भ्रमणमा उनको सहभागिता पनि त्यही उत्तराधिकार कथाको अंश हो ।”

जु ए सन् २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यति बेला उनले बुवासँग अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण अवलोकन गरेकी थिइन् । त्यसपछि उत्तर कोरियाली राज्य मिडियाले उनलाई ‘प्रिय बच्चा’ र ‘मार्गदर्शन गर्ने महान व्यक्ति’ भनेर उल्लेख गर्न थाल्यो । यी शब्द सामान्यतया शीर्ष नेता र तिनका उत्तराधिकारीका लागि मात्र प्रयोग गरिन्छ ।

यसअघि उनको अस्तित्वको पुष्टि मात्र सन् २०१३ मा उत्तर कोरिया भ्रमण गरेका पूर्व एनबिए स्टार डेनिस रोडम्यानले गरेका थिए । उनले किम जोङ उनसँग भेट्दा जु एलाई भेटेको दाबी गरेका थिए । सियोलले सुरुआतमा किम र उहाँकी पत्नी रीले सन् २०१० मा पहिलो सन्तानका रूपमा पत्रुलाई जन्म दिनुभएको र जु ए दोस्रो सन्तान भएको सङ्केत गरेको थियो । 

तर सन् २०२३ मा दक्षिण कोरियाली एकीकरण मन्त्रीले किमको छोरा भएको विषयमा ‘निश्चित पुष्टि गर्न नसकिएको’ बताएका थिए । किम जोङ उन सन् २०११ मा आफ्नो बुवाको निधनपछि सत्तामा आउनुभयो र उहाँले चार पटकको आणविक परीक्षण गराउनुभएको छ, जसको पछिल्लो परीक्षण सन् २०१७ मा भएको थियो ।

सांसद लीका अनुसार, जु ए बाहेक किमको अर्को सन्तानबारे भएका अफवाह-चाहे अपाङ्गता भएको वा विदेशमा अध्ययनरत रहेको-‘विश्वसनीय छैनन् ।’ लीले भन्नुयभो, “विशेष गरी विदेश अध्ययनबारे कुरा हो भने, यस्तो कुरा लुकाउन खोजे पनि अनिवार्य रूपमा थाहा हुन्छ । त्यसैले यो सम्भावना निकै कम छ ।” रासस/एएफपी