प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ २६ गते । रौतहटको गुजरा नगरपालिका सिमरा भवानीपुरले तीन दिन शोक बिदा दिएको छ । देशका विभिन्न भागमा भएको आन्दोलनको क्रममा थुप्रै युवा, विद्यार्थी तथा नागरिकहरूले अमूल्य ज्यान गुमानु परेको कारण दुःख र पीडादायी अवस्था सिर्जना गरेको भन्दै प्रदर्शनका क्रममा मृत्यु हुने नागरिकको सम्झनामा भदौ २५ गतेदेखि भदौ २७ गतेसम्म शोक बिदा दिइएको गुजरा नगरपालिका कार्यालयले जनाएको छ ।
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न अस्पतालहरूमा सयौं घाइतेहरूको उपचार भइरहेको अवस्थामा नेपाली समाज दुःखी बनेको नगरपालिकाद्वारा जारी शोक बिदाको सूचनामा उल्लेख गरिएको छ ।
दर्जनौं होनहार युवाले ज्यान गुमाउनु परेको यस मार्मिक र पिडादायी घडीमा गुजरा नगरपालिका नगर प्रमुख स्तरिय निर्णय अनुसार शोक बिदा दिइएको गुजरा नगरपालिकाका अधिकृत जितबहादुर चौधरीले जानकारी दिनु भयो ।
आन्दोलनका क्रममा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै नगरपालिकाले शोकसन्तप्त परिवारजन प्रति गहिरो संवेदना व्यक्त गरेको छ । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यस विषम परिस्थितिलाई सवैले सभ्यता र धैर्यताका साथ् सामना गर्दै सामाजिक, शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न आवश्यक रहेको गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले बताउनुभयो ।
सम्पूर्ण जनसमुदाय, कर्मचारीवर्ग, अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा सरोकारवाला सवै पक्षलाई शान्त, संयमित र सहज वातावरण निर्माणमा सहयोग गर्न नगर प्रमुख चौधरीले अनुरोध गर्नुभएको छ ।