• २६ भदौ २०८२, बिहिबार

थप १९२ जना कैदी नियन्त्रणमा

blog

काठमाडौँ, भदौ २६ गते । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ ।

नेपाली सेनाले आज विज्ञप्तीमार्फत सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका सात जना कैदीलाई नियन्त्रणमा लिई सेनालाई बुझाएको छ । एक जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएको र १२ कैदी आफैँ कारागारमा हाजिर भएका छन् ।

रामेछापस्थित जिल्ला कारागारमा कैदीले बाहिर जान पाउनु पर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि सेनाले चलाएको गोली लग्दा १२ जना कैदी घाइते हुनुका साथै दुई जनाको मृत्यु भएको छ ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको बनेपा–९, नयाँ बस्तीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ । हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको सेनाले जनाएको छ । रासस