• १६ असार २०८१, आइतबार

नेताहरु जिम्मेवार नबन्दा देश बनेन : मन्त्री चौधरी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले नेताहरु देश र जनताप्रति जिम्मेवार नबन्दा देश बन्न नसकेको बताउनुभएको छ । सोमवार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 

मुलुक चलाउने मान्छे जिम्मेवार नबन्दासम्म देश अघि बढ्न नसक्ने उहाँले बताउनुभयो । सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गरेमात्र देश बन्ने मन्त्री चौधरीको भनाइ छ । नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै मन्त्री चौधरीले समस्या समाधानको बेला आएको चर्चा गर्नुभयो । 

“मुलुक बन्न नसक्नुको मुख्य कारण हामी सबै घमण्डी भयौँ, जिम्मेवार बनेनौं । कर्मचारीको बारेमा त के भनौँ र ? तर हामीले आफ्नो तर्फबाट जे गर्नुपर्ने हो त्यो गरेनौं” मन्त्री चौधरीले भन्नुभयो । आफूलाई संरक्षण गर्ने किसिमका कानुन बनाउन खोज्ने र मुलुकप्रति बेइमानी गर्ने प्रवृत्ति बढिरहेको उहाँले टिप्पणी गर्नुभयो । 

मन्त्री चौधरीले देश बनाउन सुदृढ र सशक्त प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । मन्त्रीहरुले घुस खाँदा देश नबनेको उहाँले बताउनुभयो । देश बनाउने सोचमा सबै इमानदार बन्न आवश्यक रहेको मन्त्री चौधरीले चर्चा गर्नुभयो ।