प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ २४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाए पनि उनीहरू कार्यालयमा हाजिर हुन पुगेका छैनन् । सङ्घीय मन्त्रालयले गत १२ गते रौतहटको १६ वटा स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो ।
इन्जिनियरिङ सेवातर्फका गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलम अनिवार्य अवकाश भएपछि गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणिप्रसाद कलवार प्रमुख प्रशासकीय अधिकृत खोज्दै मन्त्रालय पुगेपछि त्यहाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपाने हाजिर हुनुभएको हो । गरुडाबाहेकका १५ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सम्पर्कमासमेत नआएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
परोहा नगरपालिकाका नगरप्रमुख शेख वकिलले आफ्नो नगरपालिकामा खटाइएका उपसचिव दीपककुमार निरौलाको प्रतीक्षामा दिन बित्ने गरेको गुनासो पोख्नुभयो । मन्त्रालयले उपसचिव खटाए पनि हाजिर हुन नआएको उहाँको गुनासो छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्माका अनुसार खटाइएका प्रमुख प्रशासकीय अधिकृत पालिकामा हाजिर हुनैपर्ने बताउनुभयो ।
खटाइएको प्रमुख प्रशासकीय अधिकृत पालिकामा हाजिर हुन गए नगएको बुझ्ने काम भइरहेको बताउँदै महाशाखा प्रमुख शर्माले कतिपय स्थानीय तहको खाता रोक्का समेत गरिएको जानकारी दिनुभयो ।
दुई महिनादेखि कर्मचारी तथा शिक्षकले तलब नपाएको र दसैँ नजिकिँदै आइरहेकाले जिम्मेवारीबाट हटाइएकै प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरबाट खाता सञ्चालनको व्यवस्था मिलाइएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमले जानकारी दिनुभयो ।
खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नआउने पुरानो प्रवृत्ति रौतहटमा कायम रहेकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएकै भरमा स्थानीय सरकारको आर्थिक काम कारबाही रोक्न नमिल्ने उहाँको भनाइ रहेको छ ।
मन्त्रालयले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाए पनि पहिला खटाइएका निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द नगरेकाले पुरानै प्रमुख प्रशासकीय अधिकृतको नाममा खाता सञ्चालन गर्नु बाध्यता रहेको प्रमुख कोष नियन्त्रक गौतमले बताउनुभयो ।
गढीमाई, माधवनारायण, राजपुर र राजदेवी नगरपालिकाको खाता सञ्चालन गरी पहिलो किस्ताबापतको ससर्त र समानीकरण अनुदान उपलब्ध गराइएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।
रौतहटका १८ वटा स्थानीय तहमध्ये १६ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी समालेका छन् । राजदेवी परोहा, देवाहिगोनाही, बौधीमाई र गुजरा नगरपालिकामा प्रशासन सेवातर्फको अधिकृतस्तरका निजामती कर्मचारी कार्यरत रहेका छन् । गौर, राजपुर, कटहरिया, फतुवा विजयपुर र गढीमाई नगरपालिकामा स्थानीय सेवाका अधिकृतस्तरका कर्मचारी कार्यरत रहेका छन् । त्यस्तै ईशनाथ र वृन्दावन नगरपालिकामा शिक्षातर्फका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यभार समालेका छन् । माधवनारायण र मौलापुर नगरपालिकामा इन्जिनियरिङ सेवातर्फका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेका छन् ।
हालै हाजिर भएको गरुडा नगरपालिकाबाहेक रौतहटको दुई वटा पालिका चन्द्रपुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा मात्र दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेको अवस्था छ ।