गलकोट (बागलुङ), भदौ २४ गते । यस वर्ष बागलुङबाट रु ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले आर्थिक वर्ष २०८१ र८२ मा रु ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको सङ्घका अध्यक्ष दीपक गौतमले बताउनुभयो ।
अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने गरेको छ । अमेरिकामा कुकुरको मुख्य खानाका रूपमा रहेको छुर्पी नेपालबाट ठूलो मात्रामा निर्यात हुने गरेको छ । आव २०८०/८१ रु ३८ लाख ५४ हजारबराबरको छुर्पी बिक्री गरेको सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष रु १६ लाखभन्दा बढीको छुर्पी बिक्री गरेको छ । दुग्ध सहकारीले यस वर्ष रु १० करोड ९९ लाख १७ हजार ८५५ बराबरको दूध र दुग्धजन्य वस्तुको कारोबार गरेको छ ।
उहाँका अनुसार सहकारीबाट दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ । त्यसमध्ये अन्तरराष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च छ । छुर्पीको माग बढेपछि सङ्घले एक वर्षमा रु १६ लाखको छुर्पी उत्पादनमा वृद्धि गरेको हो ।
दुग्ध सहकारी सङ्घले बागलुङका १५ सहकारी संस्थाको दूध सङ्कलन गरेर दूध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् । जसमा एक हजार ५०० भन्दा बढी किसान आबद्ध छन् । हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् ।
सहकारी सङ्घमा १७ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको अध्यक्ष गौतमले बताउनुभयो । यस्तै आव २०७९र८० मा रु २९ लाखको छुर्पी निर्यात गर्न सफल भएको थियो । रासस