• १६ चैत २०८०, शुक्रबार

खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधान गर्छौं : खानेपानीमन्त्री चौधरी

blog

काठमाडौं, असार १३ गते । खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्दै तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।

सोमबारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ मा खानेपानी मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिनुुहुँदै मन्त्री चौधरीले तराईका जिल्लामा खानेपानीमा देखिएको आर्सेनिक समस्या समाधान गर्न तीनै तहको सरकारका बीचमा समन्वय, सहकार्य र सहजीकरण गर्नुपर्ने बताउनुभएको हो ।

सङ्घीय तहबाट कार्यान्वयन हुने योजनाहरु भने आर्सेनिक रहे, नरहेको यकिन गरेर मात्रै बनाइने गरेको उहाँको भनाइ छ  ।

उहाँले खानेपानीको गुणस्तर परीक्षणका लागि आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले सङ्घीय खानेपानी कार्यालयहरुमा पानी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने कार्यक्रम पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको जानकारी दिनुभयो ।

‘‘आर्सेनिक समस्या तीनै तहको सरकारको साझा समस्या भएकोले तीनै तहका सरकारबीच आवश्यक समन्वय, सहकार्य र सहजीकरणका साथ कार्यक्रम र कार्ययोजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ । यसका निमित्त विभिन्न निकायहरुबाट वितरण भइरहेको तथा आम जनताले उपभोग गरिरहेको खानेपानीको गुणस्तर परीक्षणका लागि विशेष कार्यक्रम आगामी आ.व.को कार्यक्रममा समावेश गरिएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यस्तै सहज, सुलभ पानी परीक्षणका लागि सबै सङ्घीय खानेपानी कार्यालयहरुमा पानी प्रयोगशाला परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने कार्यक्रम पनि आगामी आ.व.मा समावेश गरिएको छ ।’’

साथै, दीर्घकालीन रुपमा आर्सेनिकमुक्त पानीको वितरणका लागि कर्णाली, कोशी, नारायणी, सुनकोशी, मरिण, चतरालगायतका नदीहरुबाट पानी ल्याई वितरण गर्नका लागि आयोजनाको अध्ययन भइरहेको जानकारी उहाँले दिनुभयो । उहाँले सो आयोजना आगामी आर्थिक वर्षबाट नै अगाडि बढाउने योजना रहेको बताउनुभयो ।