• २४ भदौ २०८२, मङ्गलबार

नेपाल सर्प महोत्सवको तेस्रो संस्करण धनुषामा हुने

blog

जनकपुरधामस्थित नेपाल सर्प महोत्सवबारे आयोजित पत्रकार सम्मेलन । तस्बिरः लक्ष्मी चौधरी ।

लक्ष्मी चौधरी

जनकपुरधाम, भदौ २३ गते । 'मानव र सर्पबिचको सहअस्तित्व प्रवर्धन गर्ने' भन्ने मूल नाराका साथ धनुषामा आगामी असोज २ र ३ गते “नेपाल सर्प महोत्सव”को तेस्रो संस्करण आयोजना हुने भएको छ।

मिथिला वाइल्ड लाइफ ट्रस्ट र सेभ द लाइफको संयुक्त आयोजनामा हुने महोत्सव मिथिला बिहारी नगरपालिका–२ स्थित कल्चर भिलेजमा आयोजना हुन लागेको हो ।

सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवमा सर्पसम्बन्धी जानकारीमूलक स्टल, सर्प विज्ञहरूको अन्तर्क्रिया, विभिन्न जातका सर्प प्रदर्शन, उद्धारसम्बन्धी वृत्तचित्र प्रदर्शनलगायत कार्यक्रम रहने छन् ।

आयोजकका अनुसार नेपाल सर्प महोत्सव समूहले जैविक विविधता संरक्षण, मानव–सर्प द्वन्द्व न्यूनीकरण, सर्प व्यवस्थापन र सर्प संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले यो महोत्सव सुरु गरेको हो । समूहका सदस्यहरूले सर्प र सर्पदंश सम्बन्धी क्षेत्रमा दशकौँको अनुभव बटुलेका छन् । 

हालसम्म नेपालका विभिन्न जिल्लामा सयभन्दा बढी सचेतना कार्यक्रम, क्षमता अभिवृद्धि तालिम, कार्यशाला र अन्तरक्रिया सञ्चालन भइसकेको जनाएको छ।

मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले महोत्सवले मधेश प्रदेशमा मानव र सर्पबिच सहअस्तित्वबारे सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“सर्पलाई किसानका साथीका रूपमा लिनुपर्छ । सर्पको पर्यावरणीय र धार्मिक महत्त्वबारे वैज्ञानिक ढङ्गले बुझाउन यस महोत्सवले ठुलो भूमिका खेल्ने छ ।”

यस्तै, सेभ द लाइफका अध्यक्ष कमल देवकोटाले सर्प संरक्षण र सर्पदंश व्यवस्थापनमा जनचेतना अभाव भएकै कारण धेरै दुर्घटना हुने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “सर्पदंश हुँदा के गर्ने र के नगर्ने भन्नेबारे जानकारी नहुँदा अनावश्यक मृत्यु भइरहेका छन् । यो महोत्सवमार्फत प्राथमिक उपचारको सही जानकारीसहित सर्प संरक्षणमा जनसहभागिता बढाउने हाम्रो उद्देश्य हो ।”

महोत्सवमा सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक र सांस्कृतिक महत्त्वबारे सचेतना फैलाइने छ । साथै, सर्पदंश हुँदा प्राथमिक उपचार कसरी गर्ने भन्नेबारे सहभागीलाई प्रत्यक्ष जानकारी दिइने आयोजकहरूले जनाएका छन् ।

यसअघि महोत्सवको पहिलो संस्करण २०८० भदौ ३ र ४ गते नवलपुरको कावासोतीमा, दोस्रो संस्करण २०८१ असोज १ र २ गते रूपन्देहीको तिलोत्तमामा सम्पन्न भइसकेको छ ।