• २२ भदौ २०८२, आइतबार

मुस्ताङमा उच्च घनत्वको स्याउ उत्पादन दस प्रतिशतले बढ्यो

blog

उच्च घनत्वको (हाइब्रिड)को उत्पादनमा सक्रिय निरज तुलाचनको स्याउ बारी । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), भदौ २२ गते । यस वर्ष मुस्ताङमा उच्च घनत्वको (हाइब्रिड)को उत्पादन करिब १० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । स्याउ उत्पादनमा नेपालमै ‘हब’का रूपमा परिचित मुस्ताङका कृषक उच्च घनत्वको स्याउ खेतीमा आर्कषित भएसँगै गत वर्षको तुलनामा उत्पादन बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । 

गत वर्ष मुस्ताङबाट १२ सय ५० मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष १३ सय ७५ मेट्रिक टन स्याउ फलेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरूङले बताउनुभयो ।

प्रमुख गुरूङले भन्नुभयो, ‘‘यसपटक उच्च घनत्वको स्याउको उत्पादन बढेसँगै बजारमा पनि सहजै पाइन्छ, कृषकले बारीमै राम्रो मूल्यमा बिक्री गर्नुभएको छ ।’’ जिल्लाभर ६० हेक्टरमा उच्च घनत्व प्रविधिमा आधारित(हाइब्रिड)स्याउखेती गरिएकामा यसवर्ष ५० हेक्टर क्षेत्रफलमा उत्पादन दिएको छ । छिटो गुलियो पसेकाले यसपटक भदौ ५ गते गाला र किङरोड जातको स्याउ भदौ १५ गतेदेखि टिपेर बजारमा बिक्री भइरहेको छ । कृषकले उच्च घनत्वको स्याउको गाला, किङरोड जाताको स्याउलाई बगैँचामै प्रति केजी साढे २ सय रुपियाँमा व्यापारीलाई बिक्री गरिरहेका छन् । गतवर्ष १ सय ९० रुपियाँमा बिक्री गरिएको थियो । 

जिल्लामा कर्म गुरुङ, निरज तुलाचन, सरोज तुलाचन सहित करिब १ सय कृषकले उच्च घनत्वको स्याउ खेती गरेका छन् । प्रति हेक्टर २५ मेट्रिक टनसम्म उत्पादन हुन्छ । कृषि ज्ञान केन्द्र, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ),स्थानीय कृषक, समूह, सहकारी संस्था र स्याउ फार्मका साथै स्थानीय सरकारले समेत उच्च घनत्वको स्याउ खेतीलाई प्रोत्साहन गरेका छन् । 

हालसम्म मुस्ताङबाट उच्च घनत्वको स्याउ उत्पादनको करिब ८ प्रतिशत बजारमा गइसकेको छ । मुस्ताङमा रैथाने स्याउ रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजी स्याउ उत्पादन गर्दै आइरहेका छन् । आकार र प्रकारका हिसाबले पनि गुणस्तरयुक्त रहेको मुस्ताङमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने स्थानीय जातको स्याउ भदौको २५ गते टिपेर बजारमा लैजाने कार्यतालिका रहेको छ । 

यस वर्ष अनुकुल मौसमसँगै बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम रहेको अवस्थामा उत्पादन बढ्ने र ढुवानी समेत समयमै हुने भएको छ । मुस्ताङमा स्थानीय स्याउ ८ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५६६ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले ६ हजार ७८ मेट्रिक्टन स्याउ उत्पादन उत्पादन हुने लक्ष्य राखिएको छ । प्रति हेक्टर १०.७४ मेट्रिक्टन स्याउ उत्पादन हुन्छ । त्यसैगरी उच्च घनत्वको स्याउ खेती ६० हेक्टर क्षेत्रफलमा फैलिएकोमा ८ हजार ४ सय ९६ मेट्रिक्टन स्याउ उत्पादान हुने अनुमान गरिएको छ ।