• २२ भदौ २०८२, आइतबार

निजामती सेवा दिवसमा प्रभातफेरी तथा स्वास्थ्य शिविर

blog

ज्ञानु पंगेनी
मध्यविन्दु , भदौ २२ गते ।
२२ औँ निजामती सेवा दिवसको अवसरमा आइतबार नवलपुरमा प्रभातफेरी तथा स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

‘व्यावसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’  भन्ने मूल नारासहित सुशासन र सदाचार निजामती सेवाको आधार, निष्ठा र इमान्दारीता : निजामती सेवाको प्रभावकारिता, जनताको सेवा हाम्रो प्रतिबद्धता, निजामती कर्मचारीको प्रतिबद्धताः मितव्ययिता, दक्षता र  प्रभावकारिता, नागरिकमैत्री प्रशासन लोकतन्त्रको बलियो आधार जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर जिल्ला प्रशासन कार्यालयबाट निस्किएको र्‍याली सभापति चोक हुँदै, फलफूल चोकस्थित डिभिजन वन कार्यालयमा पुगेर समापन भएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले  आफ्नो कर्म स्थलमा आफ्नो जिम्मेवारी इमानदारपूर्वक निर्वाह गर्न अनुरोध गर्नुभयो । आफ्नो कर्म घरको गरीमा र साखलाई उँचो राख्ने गरी आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्नुपर्ने र उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिनुभयो ।  दिवसका सन्दर्भमा तय गरिएको नारालाई शिरोधार्य गर्दै त्यसलाई अपनाउँदै त्यस कुराप्रति प्रतिबद्ध भएर लाग्न   उहाँले आग्रह गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले  कार्यक्रममा सहजीकरण गर्दै २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर २०६२ सालदेखि दिवस मनाउन थालिएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपाल, कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख दीपा गौतमलगायत जिल्लास्थित विभिन्न कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सहभागिता थियो ।

दिवसको अवसरमा आयोजित स्वास्थ्य शिविरमा सुगर प्रेसर, पिसाब जाँच तथा उचाइ र तौल जाँच गरी त्यस अनुसार स्वस्थ रहनका लागि आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो ।