• २२ भदौ २०८२, आइतबार

हामीले गरेका राम्रा काम जनतालाई भन्न आएका हौं : अध्यक्ष प्रचण्ड

blog

लमजुङको मध्यनेपाल भोर्लेटारमा स्थानीयलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, भदौ २२ गते ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले गरेका जनतामुखी र ऐतिहासिक उपलब्धिहरू जनतामाझ सुनाउन मध्यपहाडी लोकमार्ग अभियानमा हिँडेको बताउनुभएको छ ।

अभियानअन्तर्गत शनिबार लमजुङको मध्यनेपाल आइपुग्नुभएका अध्यक्ष प्रचण्डले राम्रा कामको पर्याप्त प्रचारप्रसार हुन नसक्दा त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताउनुभयो ।

लमजुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनतासंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं ।”

उहाँले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा यसअघिका अनुभव र अनुभूति समेत साट्नुभयो । उहाँले मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै भन्नुभयो, “मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु गर्दा लमजुङ आइपुग्दा तराई–मधेश र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो । तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ ।”

अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता महत्त्वपूर्ण काम गरिएको स्मरण गर्नुभयो । दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेश आन्दोलनलाई सम्बोधन गर्दै शान्ति र स्थायित्वको जग बसाइएको बताउनुभयो ।

तेस्रो कार्यकालमा सुशासन अभियान सञ्चालन, मिटरब्याज पीडितलाई न्याय दिने पहल, विदेशमा रहेका नेपालीलाई सामाजिक न्यायको दायरामा ल्याउने, जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउने, भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गर्ने र चीनसँग १४ वटा नाका खोल्ने जस्ता काम सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले जोड दिनुभयो, “हामीले देश र जनताको हितका लागि गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन् । तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ । यो अभियानले जनतालाई सत्य तथ्यमा जोड्ने र भविष्यको बाटो देखाउने विश्वास मैले लिएको छु ।”

यसअघि लमजुङको रामबजारमा अध्यक्ष प्रचण्डलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो । अभियानमार्फत जनतामाझ प्रत्यक्ष संवाद गर्दै अगाडि बढिरहेका उहाँले हरेक सम्बोधनमा जनताको अपार समर्थनले आफूलाई नयाँ ऊर्जा दिएको र अब देशको वास्तविक शक्ति माओवादी केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गत जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाको समयमा जेठ १२ गते पोखरामा आएर स्थगित गरिएको थियो । अभियानअन्र्तगत आइतबार मध्यने्पाल, सुन्दरबजार र राइनास नगरपालिकामा जनभेटघाट र अन्तरक्रिया कार्यक्रम राखिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज पारसमणी पौडेलले जानकारी दिनुभयो ।

जनभेटघाटसहित सुन्दरबजार नगरपालिकाको कोइरालाफाँट, सुन्दरबजारस्थित लमजुङ क्याम्पस अवलोकन र भेटघाटपछि सिउँडिबारमा वृहत जनभेटघाट तथा जनसंवाद कार्यक्रम राखिएको माओवादी केन्द्र लमजुङका संयोजक रामचन्द्र पौडेलले जानकारी दिनुभयो । आइतबार नै राइनास नगरपालिकामा आयोजना गरिने सहिद परिवार भेटघाट, अन्तरक्रिया र जनसंवादपछी माओवादी नेतृत्वको टोली गोरखाको पालुङटार प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।