• २२ भदौ २०८२, आइतबार

बिपी राजमार्ग दुई लेनमा पुनर्निर्माण हुँदै

blog

अहिले सञ्चालनमा रहेको बिपी राजमार्ग ।

केदार तिमिल्सिना

बनेपा, भदौ २२ गते  । गत असोज दोस्रो साताको बाढीबाट पूर्ण रूपमा क्षति भएको बिपी राजमार्ग दुई लेन (डबल लेन) मा पुनर्निर्माण हुने भएको छ । सडक डिभिजन भक्तपुरले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गलाई हालको इन्टरमिडियट लेनबाट स्तरोन्नति गरेर दुई लेनको बनाउने भएको हो ।

सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जियिनर (सिडिई) सुमन योगेशले बाढीबाट पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गलाई दुई लेनमा पुनर्निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले इन्टरमिडियट लेनमा निर्माण गरेको बिपी राजमार्गलाई पुनर्निर्माण गर्दा दुई लेनको बनाइने छ । दुई लेनको बनाउने गरी दुई वटा खण्डको सडक पुनर्निर्माणका लागि सम्झौता भइसकेको छ ।” 

उहाँले बिपी राजमार्गको डालाबेँसीदेखि चार सयबेँसीसम्मको ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी÷कमलजित÷एवान जेभीसँग एक अर्ब २२ करोड र चार सयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा/नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोड रुपियाँमा ठेक्का सम्झौता भएको बताउनुभयो । 

“जाइकाले इन्टरमिडियट लेन अन्तर्गत साढे पाँच मिटरको सडक बनाएको थियो । उक्त इन्टरमिडियट सडकमा ठुला सवारीसाधन सञ्चालनमा समस्या देखिएको थियो भने अब पुनर्निर्माण हुने भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको २९.५ किलोमिटर सडकलाई नौ मिटरमा विस्तार गरिने छ,” सिडिई योेगेशले भन्नुभयो । दुई लेनको बनाएपछि सवारी आवागमनमा समस्या नहुने उहाँले बताउनुभयो ।

कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २९.५ किलोमिटर सडक दुई लेनको बनाइने छ । “बिपी राजमार्गमा आगामी दिनमा हुन सक्ने सवारी चापलाई ध्यानमा राख्दै पुनर्निर्माण गर्न लागिएको सडकलाई दुई लेनको बनाउन लागेका हौँ । यस्तै हामीले धुलिखेलदेखि भकुन्डेबेँसीसम्मको करिब २२.७ किलोमिटर सडकलाई समेत दुई लेनको बनाउन सकिने देखेका छौँ,” सिडिई योगेशले भन्नुभयो ।  

कार्यालयले धुलिखेलदेखि भकुन्डेसम्मको सडकलाई दुई लेनको बनाउनका लागि विस्तृत परियोजना रिपोर्ट (डिपिआर) समेत तयार गरेको छ । उक्त सडकखण्डलाई सरकारले बजेट सुनिश्चित गरेर काम गर्न अनुमति दिएको खण्डमा दुई लेनमा विस्तार गर्न सकिने उहाँले बताउनुभयो । सरकारले पछिल्लो समय अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई छ लेनमा विस्तार गरिरहँदा बिपी राजमार्गको धुलिखेलदेखि भकुन्डेसम्मको सडकलाई दुई लेनमा विस्तार गरेको खण्डमा पूर्वी पहाडी र तराई जाने सवारी सहज रूपमा आवागमन गर्न सक्ने छन् । 

सरकारले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि साढे आठ अर्बको स्रोत सुनिश्चित गरेको अवस्थामा काभ्रेपलाञ्चोकतर्फका दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डमा अनुमानभन्दा कम मूल्यमा ठेक्का लागेकोले सोही रकमबाट सडक विस्तारको काम गराउँदा राज्यलाई थप आर्थिक भार नपर्ने प्राविधिक बताउँछन् ।

सरकारले बिपी राजमार्गको खुर्कोटदेखि सिन्धुली चियाबारीसम्मको ३०.५ किलोमिटर सडकलाई छोटो बनाउनका लागि सुरुङमार्ग बनाउने विषयमा छलफलसमेत सुरु गरेको छ । उक्त सुरुङ निर्माणका लागि जाइकालाई अध्ययन गर्न सरकारले अनुरोध गरेको छ । अध्ययन अनुसार खुर्कोटबाट चियाबारीसम्म सुरुङमार्ग निर्माण गरेको खण्डमा करिब २२ किलोमिटर साँघुरो सडकको यात्रा छोटिने छ । अध्ययन अनुसार खुर्कोटदेखि चियाबारीसम्म करिब साढे आठ किलोमिटर सुरुङमार्ग बन्ने छ । 

बिपी राजमार्गको धुलिखेलदेखि खुर्कोटसम्मको सडकलाई दुई लेन र खुर्कोटबाट चियाबारीसम्म सुरुङमार्ग बनाएको खण्डमा साँघुरो, घुम्ती र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हट्ने छ ।