गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), भदौ २२ गते । बर्दियामा गिद्धका गुँड भेटिन छाडेका छन् । अग्ला सिमल र सालका रुखमा भेटिने गिद्धका गुँड पछिल्लो समय भेटिन छाडेका हुन् ।
अग्ला सिमलका रुख मासिँदै गएपछि गिद्धका गुँड भेटिन छाडेका हुन् । सिमलका रुखमा स्थायी रूपमा बस्ने गिद्धले रुखका अभाव हुन थालेपछि गुँड लगाउन छाडेका छन् । बर्दियाको कृष्णसार संरक्षण क्षेत्र बढैयाताल आसपासको क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा गाउँपालिकाको इन्टेक क्षेत्रमा छिटपुट गिद्ध देखिने गरेको संरक्षणकर्मीको भनाइ छ ।
नेपाल गिद्ध संरक्षण अभियानका सदस्यसचिव रामबहादुर शाहीले बर्दियामा १० वर्षअगाडि गिद्धका गुँड जताततै फेला पर्ने गरे पनि पछिल्लो समय गिद्धका गुँड देखिन छाडेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गिद्धको स्थायी वासस्थान र गुँड भेटिएमा त्यसको आसपासको क्षेत्रमा गिद्ध रेष्टुरेन्ट बनाउने सोचमा थियौँ, त्यो पूरा हुन सकेको छैन ।” उहाँले गिद्धको बासस्थान नभए पनि विभिन्न स्थानमा समय समयमा गिद्ध देखिने गरेको बताउनुभयो । पहाडी क्षेत्रतिर भिरबाट लडेका पशु खान पाउने र तराई क्षेत्रमा मृत पशु गाड्ने चलन भएको हुनाले पनि बर्दियामा गिद्धको सङ्ख्या कम देखिएको हुन सक्ने उहाँले दाबी गर्नुभयो ।
प्रकृतिको कुचिकारका रूपमा लिइने गिद्ध संरक्षणका लागि प्रयास भए पनि गिद्धको सङ्ख्या घट्दै गएको छ । नेपालमा हाडफोर, सेतो, डङ्गर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइन्छ । ती गिद्धमध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न, सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक रहेका छन् । खैरो गिद्धको सङ्ख्या भने सामान्य अवस्थामा छ । नेपाल गिद्ध संरक्षण अभियानका अनुसार नेपालभरि करिब १५ हजारको सङ्ख्यामा गिद्ध रहेका छन् ।
विशेष गरी गिद्धको आहारा विषाक्त भएका कारणले गर्दा सङ्ख्या घट्दै गएको हो । घरपालुवा जनावरमा डाइक्लोफिनाक औषधी प्रयोग र सो औषधी प्रयोगपश्चात् मृत पशुको मासु गिद्धले खाँदा सङ्ख्या घट्दै गएको संरक्षणकर्मीको भनाइ छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले निकुञ्जमा संरक्षणका कार्यक्रममा गिद्ध संरक्षण अभियानलाई पनि समेट्ने गरेको भए पनि गिद्ध संरक्षणका लागि विशेष कार्यक्रम नभएको बताउनुभयो ।