प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ २२ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री अनिल कुमार झाले छोरीको शिक्षा र सम्मानमै समाजको उज्ज्वल भविष्य रहेको बताउनुभएको छ ।
छोरीको पक्षमा सधैँ वकालत गरिरहने संविधान सभा सदस्य तथा मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्री स्व. डा. डिम्पल झाको अथक प्रयासको फलस्वरुप नै मधेश प्रदेशमा छोरीको नाममा विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेको उहाँले बताउनु भयो ।
डा. झा एउटा परिवार वा गाउँको नेत्री मात्र नभएर सिङ्गो मधेश प्रदेश र समाजप्रति समर्पित रहनुभएको बताउनुहुँदै अध्यक्ष झाले डा. झा आफ्नो सक्रिय जीवनकालमा महिला अधिकार, शिक्षा तथा पूर्वाधार विकासका लागि पुर्याएको योगदान सबैले सदैव सम्झिरहने बताउनुभयो ।
रौतहटको दुर्गाभगवती गाउँपालिका– ३ मत्सरीमा शनिबार आयोजित “छोरी संरक्षण तथा छात्रवृत्ति कार्यक्रम” मा बोल्नु हुँदै अध्यक्ष झाले यस किसिमका अभियानले विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न हौसला मात्र दिने नभएर छोरीलाई समान अवसर दिनुपर्ने सोच आमाबाबुलाई अभिप्रेरित गर्न पनि सहयोग पुर्याउने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ३ मत्सरिमा आर्थिक वर्ष २०८१/०८२ मा जन्मिएका ४५ जना छोरीको अभिभावकलाई नगद पाँच हजारसहित सम्मान गरिएको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष धमेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
साथै उच्च शिक्षा हासिल गर्न किशोरीहरुको मनोवल बढाउने उद्देश्यले छात्रवृत्ति र सम्मानपत्र प्रदान गरिएको उहाँले बताउनुभयो । यस वर्ष वि.वि.एमा पूर्ण छात्रवृत्ति पाएकी ज्योती सर्राफलाई नगद २५ हजारसहित सम्मानपत्र, पहिलो पटक दलित समुदायबाट कक्षा १२ मा ३.४ जि.पि.ए प्राप्त गरेकी निकी रामलाई १५ हजार रुपियाँ र सम्मान पत्र प्रदान गरिएको वडा अध्यक्ष झाले जानकारी दिनुभयो ।