• २२ भदौ २०८२, आइतबार

निजामती सेवाको गौरव

blog

निजामती प्रशासनलाई राज्यको स्थायी सरकार भन्ने गरिन्छ । लोकतान्त्रिक राज्य संरचनामा कार्यकारी नेतृत्व जनमतका आधारमा फेरबदल भइरहन्छ । राजनीतिक दलमार्फत जनमतको प्रतिनिधित्व हुन्छ । आवधिक निर्वाचनले ताजा जनमतमार्फत कार्यकारिणी नेतृत्व तय गर्छ । जनमत स्थिर हुँदैन । राजनीतिक दलका नीति र कार्यक्रमका आधारमा बदलिरहन्छ । लोकतन्त्रमा समय, परिस्थिति र कार्यसूची तथा गुणदोषका आधारमा नेतृत्व फेरबदल स्वाभाविक हुन जान्छ । यसमा राजनीतिक दलका विचार, सिद्धान्त, नीति, कार्यक्रम, नेता र नेतृत्व आदि जनमतलाई प्रभाव पार्ने मूलभूत तत्व विद्यमान हुन्छन् । आवधिक निर्वाचन अनुरूप प्राप्त जनादेश राजनीतिक नेतृत्वको कार्यसम्पादन गर्ने वैधानिक हो । जनादेश कार्यान्वयनमा भने राज्य संयन्त्रको स्थायी प्रशासनिक संरचनामार्फत नै हुन्छ । यसमा विकल्पको सुविधा छैन, हुँदैन । नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्ने मूल प्रशासनिक संयन्त्र नै राज्यको मुटु हो । निरन्तर र अविछिन्न काम गर्ने प्रशासनयन्त्रबाटै समग्र राज्य चरित्र झल्कन्छ । हाम्रा सन्दर्भमा निजामती सेवा नै स्थायी सरकार र राज्यको मुटु हो । संवैधानिक व्यवस्था अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रले देशमा तीन तहको सरकार क्रियाशील बनाएको छ । तीन तहमै निजामती प्रशासन स्थायी सरकारका रूपमा सेवा प्रवाहमा छ । निजामती सेवा दिवस समग्र प्रशासनलाई अझ जनमुखी बनाउँदै सुशासनप्रति प्रतिबद्धता जनाउने गौरवपूर्ण दिनसमेत हो ।

भदौ २२ गौरव गर्ने ऐतिहासिक दिन त्यसै भएको होइन । नेपालमा विसं २०६१ भदौ २२ गते पहिलो पटक यो दिवस मनाउन थालियो । यसमा ऐतिहासिक कडी छ । विसं २००८ असार १ गते लोक सेवा आयोग स्थापना भयो । आधुनिक प्रशासनको जग निर्माणमा यो त्यस बखतको नवीन आयाम थियो । आयोग स्थापना भए पनि कानुनी अभाव थियो । त्यो अभाव पूरा गर्न विसं २०१३ भदौ २२ गते निजामती सेवा ऐन आयो । त्यसैले नेपालमा निजामती प्रशासनको कानुनी र संस्थागत जग बसायो । यही दिनलाई २०६१ साल भदौ २२ गतेदेखि निजामती सेवा दिवस मनाउन थालियो । निजामती ऐन ल्याउन तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको ठुलो भूमिको यहाँ बिर्सन मिल्दैन । तत्कालीन अस्थिर राजनीतिक परिवेशमा स्थायी प्रशासनको जग बसाउनु दूरदर्शी सोच थियो । व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन यो दिवसको नारा रहेको छ । यो नारामा गहनता छ । व्यावसायिक र सिर्जनशील प्रशासनले नै मुलुकमा विकासलाई अग्रता दिन सक्छ । समृद्धिको दिशा निर्देश गर्न सक्छ । सेवा प्रवाहमा सुशासन अपरिहार्य छ । दिवस मनाउनुको मुख्य उद्देश्य निजामती सेवाबारे व्यापक जनचासो बढाउनु पनि हो । व्यावसायिक प्रशासनप्रति गौरव बढाउन सेवाग्राहीमा भिज्नु पर्छ । यस निम्ति सेवाको गतिशीलता बढाउनु जरुरी छ । दक्ष, प्रतिबद्ध र उच्च सेवाभाव भएको युवा जनशक्ति आकर्षण गर्नु आवश्यक छ । युवा पलायन रोक्नु पनि जरुरी छ ।

यो गौरवमय दिनमा उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत गरिन्छ । यसले सेवाप्रति अटल भाव पैदा हुन्छ । यस्तो दिनमा निजामती कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने कार्यक्रम अझ बढी आयोजना गरी आमनागरिकमा निजामती सेवाको प्रियता बढाउनु पर्छ । कुनै पनि संस्था गुनासोविहीन हुन सक्दैन । राज्यका सेवा प्रवाहमा नागरिकको गुनासो भए सुधार गर्नु पर्छ । लोकतन्त्रमा जनता नै मालिक हुन् । नागरिकले तिर्ने कर नै समग्र निजामती प्रशासनको लागत हो । नागरिकको सेवामा समर्पित निजामती प्रशासनले नै सुशासन प्रवर्धन गर्न सक्छ । भ्रष्टाचारमुक्त प्रशासनबिना सुशासन सम्भव छैन । भ्रष्टाचार गर्ने, सेवा प्रवाहमा ढिलासुस्ती र अवरोध सिर्जना गर्ने कतिपयबाट निजामती सेवा कलुषित हुन सक्छ । यस्तो प्रवृत्तिप्रति कठोर भई पवित्र सेवाप्रति प्रतिबद्ध हुने दिन पनि हो यो । सेवा प्रवाह अब संसारभर प्रविधिमैत्री भइरहेको छ । चुस्त सेवा प्रवाहका निम्ति सूचनाप्रविधिको अधिकतम उपयोग वाञ्छनीय छ । अझै निजामती प्रशासनका कतिपय आयाम समयको वेगसँग तालमेलमा छैनन् । परम्परागत ढर्रा छ । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुँदा गतिशील अत्याधुनिक सेवा प्रवाहबिना सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग र जरा बलियो हुन सक्दैन । निष्पक्षता, पारदर्शिता, तटस्थता, न्यायमैत्री र विवेकपूर्ण सेवाबाटै निजामती प्रशासनको गौरव बढ्छ । समग्र निजामती सेवाको गौरव उँचो बनाउन सफलता मिलोस्, हार्दिक शुभकामना ।