• २१ कात्तिक २०८१, बुधबार

स्पर्श सञ्चार

blog

यमबहादुर दुरा 

प्रस्तुत दृष्टान्तहरूले हाम्रो जीवनमा स्पर्श कति महत्त्वपूर्ण हो भन्ने तथ्यलाई पुष्टि गर्छन् । स्पर्शलाई मानिसले सिकेको पहिलो भाषा हो भन्ने भनाइ छ । यो निःशब्द सञ्चार हो । स्पर्श सञ्चार (Tactile communication)मा शब्द आवश्यक पर्दैन । बोली नफुटेका बच्चादेखि प्रेमिल जोडीले मात्र होइन, जीवनको अस्ताचलमा पुगेका वृद्धजनले स्पर्श सञ्चारलाई भरपूर उपयोग गर्छन् । 

कतिपय परिस्थितिमा मानवीय सम्बन्धका घनिष्टता, गहनता र गहिराइ पनि स्पर्शबाटै अनुभूत गर्न सकिन्छ । भारतका होमियोप्याथी विशेषज्ञ अजित कुलकर्णीले आफ्नो पुस्तक ‘बडी ल्याङ्ग्वेज एन्ड होमियोप्याथी’ मा स्पर्शलाई प्रेमको आदिम भाषा मानेका छन्, जुन धेरै हदसम्म यथार्थपरक छ । स्पर्शसँग प्रेमको साइनो गहिरोसँग जोडिएको छ ।

स्पर्शलाई आधारभूत जैविक आवश्यकता मानिन्छ । हामीलाई अवगतै छ,  बच्चा जन्मनेबित्तिकै आमालाई छुवाइन्छ । यसले नवजात शिशु र आमाबीच स्पर्शको महत्त्व दर्साउँछ । कुलकर्णीका अनुसार गर्भमा रहँदा पनि भ्रूण वा बच्चाले स्पर्शको माध्यमबाट सञ्चार गर्छ । बच्चा जन्मेपछि पनि उसले स्पर्शको माध्यमबाट नै उसले आफू ममतापूर्ण परिवेशमा सुरक्षित रहेको सुनिश्चित गर्छ । 

नवजात शिशुले बाहिरी दुनियाँको सम्पर्कको दायरा र संज्ञानात्मक क्षेत्र पनि स्पर्शको माध्यमबाट फराकिलो पार्दै लान्छ । अजित कुलकर्णीका अनुसार अभिभावकको ममतामयी स्पर्शको अभावमा बच्चा भौतिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा रोगी बन्न सक्छ । उसका लागि स्पर्श अपरिहार्य आवश्यकता हो । यद्यपि स्पर्शको महìव शिशुकालमा मात्र होइन, जीवनपर्यन्त रहिरहन्छ ।

जर्मनीको अन्तर्राष्ट्रिय प्रसारण संस्था ‘डयचे वेले’ ले तयार पारेको वृत्तचित्र ‘द पावर अफ जेन्टल टच’ (अप्रिल २, २०२२) मा चर्चा गरिएअनुसार स्पर्शले नवजात शिशुकोे श्वासप्रश्वास, शरीरको तापक्रम तथा ब्लड सुगरको तहलाई स्थिर तुल्याउन सहयोग गर्छ । 

यति मात्र होइन स्पर्शले नवजात शिशु र आमाबीच भावनात्मक सम्बन्ध कसिलो बनाउने, शिशुलाई आनन्दित तुल्याउने तथा सुरक्षित अनुभूत गराउने काम पनि गर्छ भन्ने तथ्य प्रमाणित भइसकेको छ । वास्तवमा नवजात शिशुको स्वास्थ्य तथा उन्नत हुर्काइका लागि स्नेहले भरिपूर्ण अङ्कमाल लगायतका स्पर्शका तमाम आयाम अपरिहार्य मानिन्छन् ।

मानिस सामाजिक सम्बन्धबिना बाँच्न सक्दैन भन्ने तथ्य सर्वविदितै छ । स्पर्शले मानवीय सम्बन्धलाई मजबुत तुल्याउँछ । अजित कुलकर्णीको शोधमा सबै उमेरका मानिसलाई स्पर्श आवश्यक पर्छ । तर पनि बालबालिका तथा वृद्धवृद्धालाई तुलनात्मक रूपमा बढी मात्रामा स्पर्श आवश्यक पर्छ । समग्रमा भन्दा स्पर्शले आनन्द, भरोसा तथा सुरक्षाभाव पैदा गर्छ । 

मानिस मात्र होइन जनावरका लागि पनि स्पर्श उत्तिकै अपरिहार्य जैविक आवश्यकता हो । यस विषयमा पर्याप्त अनुसन्धान भएका छन् । कुकुर तथा बिरालोले पनि मानवीय स्पर्शलाई मीठो गरी अनुभूत गर्न सक्छन् । गाई, भैँसी, बघिनी आदिले आफ्ना बच्चालाई चाटेर ममता प्रदर्शन गर्छन् । चिम्पाञ्जीले एकअर्कालाई ग्रुम ९न्चययm० गरेर अपनत्व प्रदर्शन गर्ने तथा कुस्ती ९ध्चभकतष्लिन० खेलेर मनोविनोद पनि गर्ने गर्छन् । 

वैज्ञानिक शोधअनुसार अभिभावकबाट स्पर्श नपाएका चिम्पाञ्जीका बच्चामा नकारात्मक किसिमले शारीरिक तथा मनोवैज्ञानिक असर परेको ‘डयचे वेले’ को पूर्वउल्लिखित वृत्तचित्रमा जनाइएको छ । स्पर्शको अभाव भोगेका चिम्पाञ्जीका बच्चामा शारीरिक वृद्धि तथा स्मरण शक्तिमा अपूरणीय क्षति पुग्नुका साथै कतिपय अवस्थामा यस्ता बच्चाको मृत्युसमेत भएको वृत्तचित्रमा उल्लिखित छ ।

स्पर्शका अनेकन प्रकार छन् । अङ्माल गर्नु, कपाल सुम्सुम्याउनु, घुस्सा हान्नु, घोच्नु, ढेस्सिनु, रगड्नु, काउकुती लगाउनु, कन्याउनु, चुम्बन गर्नु, काँध थपथपाउनु, सुस्त किसिमले छुनु, चिमोट्नु, टाउको ठोक्काउनु, कुम जोर्नु वा ठोक्काउनु, धकेल्नु, तान्नु, निचोर्नु, समाउनु, मालिस गर्नु, हातेमालो गर्नु, हात समाउनु, हात मिलाउनु आदिलाई स्पर्शको किसिमका रूपमा लिन सकिन्छ । पूर्वीय संस्कृतिमा पाउ लाग्नु, ढोग्नुजस्ता सम्मानसूचक तथा समर्पणसूचक गतिविधिलाई पनि स्पर्श सञ्चारको रूपमा लिन सकिन्छ ।

स्पर्शले असीमित प्रकारका भाव सञ्चार गर्छ । ‘इन्साइक्लोपिडिया अफ कम्युनिकेसन थ्योरी’ का अनुसार स्पर्शमार्पmत अवस्थाअनुसार लाखौँ किसिमका भावसञ्चार हुन्छन् । यसले प्रेम, घृणा, सामीप्य, शत्रुभाव, चिन्ता, सहानुभूति, असुरक्षा, आकर्षण, चिन्ता, आरिस, रीस, निराशा, सुनिश्चितता, रतिरागात्मक भाव, समर्पणभाव, अपमान, ध्यानाकर्षण, चेतावनी, सहमति–असहमति, विश्वास–अविश्वास आदि भाव झल्काउँछ । 

अझ सूक्ष्म किसिमले हेर्ने हो भने हरेक किसिमको स्पर्शको आ–आफ्नै अर्थ हुन्छ । देश, काल र परिस्थितिअनुसार स्पर्शको अर्थ फरक पर्न सक्छ । कतिपय अवस्थामा यसको अर्थ व्यक्तिपिच्छे पनि फरक–फरक हुनसक्छ । ‘इन्साइक्लोपिडिया अफ कम्युनिकेसन थ्योरी’ का अनुसार स्पर्शको तरिका, स्पर्शको अवधि, सन्दर्भ, स्पर्श गर्दाको समय, स्पर्श गरिएको ठाउँ (शरीरको भाग), स्थान (स्पर्श गर्दाको भौगोलिक अवस्थिति), लिङ्ग, उमेर, स्पर्श गर्ने र गरिने व्यक्तिबीचको सम्बन्ध आदिले स्पर्शको अर्थमा भिन्नता आउँछ । 

सांस्कृतिक विषय पनि हो, स्पर्श । व्यक्तिको सांस्कृतिक उद्भवले पनि स्पर्शको अर्थमा फरक पर्न सक्छ । अजित कुलकर्णीले आफ्नो पुस्तकमा सार्वजनिक जीवनमा छाती, कम्मर, कोखा आदि स्थान स्पर्शका लागि बर्जित ठाउँ मानेका छन् । उनले काँधभन्दा माथिको भाग स्पर्शका लागि स्वीकृत हिस्सा ठह-याएका छन् । 

यद्यपि स्पर्श गर्ने र गरिनेबीच आपसी समझदारीमा मात्र स्पर्श स्वीकार्य हुन पुग्छ । अर्को शब्दमा भन्दा स्पर्शलाई अर्थपूर्ण बनाउन छुने र छोइनेबीच सहमति, समन्वय र समभाव आवश्यक पर्छ । 

स्पर्श दुईधारे तरबार हो । यसले मानवीय सम्बन्धलाई सकारात्मक वा नकारात्मक असर दुवै तवरबाट असर पार्न सक्छ । यसले अवस्थानुसार सम्बन्धलाई मलजल गर्ने  वा रुखो बनाउने दुवै काम गर्न सक्छ । विवादरहित ‘स्पर्श सञ्चार’ का लागि दुवै पक्ष स्पर्शको भाका र भङ्गिमासँग परिचित हुन आवश्यक छ ।

स्पर्शले हाम्रो दिमागमा सीधा असर पार्छ । दिमागले स्पर्शलाई क्षणभरमै वर्गीकरण गरी तत्कालै स्पर्शको किसिम र अर्थ निर्धारण गर्छ । स्पर्शले हाम्रो शरीरमा अनेकन् प्रतिक्रिया जन्माउँछ । उदाहरणका प्रेमिल जोडीबीच स्पर्शले अक्सिटोक्सिन हर्मोन उत्पादन गर्छ । जसलाई ‘प्रेम हर्मोन’ भनेर पनि चिनिन्छ । मानिसले चेतन र अवचेतन अवस्थामा हरेक दिन आफ्नै शरीर स्पर्श गर्छ । ‘डयचे वेले’ को पूर्वउल्लिखित वृत्तचित्रका अनुसार एक जना व्यक्तिले दैनिक चार सयदेखि आठ सय पटक आफ्नो शरीरमा स्पर्श गर्छ । 

विशेषज्ञहरूले स्पर्शलाई पीडानाशक प्राकृतिक औषधि (Natural pain killer) मानेका छन् । यसलाई प्रस्ट्याउन  अनेकन उदाहरण उपलब्ध छन् । कुनै बच्चालाई चोटपटक लागेर वा कुनै असह्य पीडा हुँदा आमाले कसिलो अङ्कमाल गर्दा बच्चाको रुवाइ कम हुन्छ । यसको अर्थ हो आमाको स्पर्शले उसको पीडा कम हुन्छ । कुनै व्यक्ति चोटपटकको वेदनाले छटपटिँदा चोटपटक लागेको ठाउँमा मुसारिदिँदा वा सुम्सुम्याइदिँदा वेदना कम हुन्छ । 

अर्कोतिर प्रियजनको मृत्युमा शोक–विह्वल भएका व्यक्तिलाई नजिकको साथीसङ्गी वा आफन्तजनले अङ्कमाल गरी सहारा दिँदै सुम्सुम्याएको दृश्य हामीले देख्दै आएको हो । यसो गर्दा सम्बन्धित व्यक्तिकोे मानसिक आघात तथा पीडा कम हुन पुग्छ । स्पर्शसँग जोडिएको यस प्रकारको औषधीय गुण तथा भावनात्मक–मनोवैज्ञानिक पक्ष मानव समाजका लागि सामान्य बुझाइकै विषय हो । यसमा धेरै चर्चा आवश्यक छैन ।

स्वास्थ्य विज्ञानमा पनि स्पर्शको उच्च स्थान छ । स्पर्शलाई रोग निदान गरी उपचार गर्ने पद्धतिको रूपमा लिइन्छ, जुन प्राचीनकालदेखि नै अस्तित्वमा छ । गाउँघरमा धामी–झाँक्री तथा वैद्यले नाडी छामेर रोगको प्रकृति तथा बिरामीको अवस्था पत्ता लगाउने र सोहीअनुसार उपचारमा जुट्ने कुनै नयाँ विधि होइन । चिनियाँ उपचार पद्धति अक्युपन्चर तथा अकुप्रेसर स्पर्शमै आधारित छ । 

अजित कुलकर्णीले आफ्नो पुस्तकमा उल्लेख गरेअनुसार ट्युमर विशेषज्ञ तथा क्यान्सर विशेषज्ञ (अन्कोलोजिस्ट)ले स्पर्शको माध्यमबाट शरीरमा क्यान्सरयुक्त कोश भए–नभएको  पत्ता लगाउन सक्छन् । 

स्वास्थ्य क्षेत्रमा भएको प्राविधिक चमत्कारले पनि स्पर्शसँगै नाता गाँसेको देखिन्छ । अल्ट्रासाउन्डलाई  यसको एउटा दृष्टान्तका रूपमा लिन सकिन्छ । गर्धनको अल्ट्रासाउन्डबाट थाइराइडको आकार थाहा हुन्छ  । यसैगरी पेटमा गरिने अल्ट्रासाउन्डबाट कलेजो, प्यान्क्रियाज, पित्तथैली, मिर्गौला, मूत्रथैली, बच्चाको आकार तथा स्वास्थ्य आदिबारे भरपर्दो जानकारी पाउन सकिन्छ । 

सर्जिकल रोबोटको विकास भइसकेको छ । यसले परम्परागत शल्यक्रियामा हुन सक्ने मानवीय कमजोरीलाई सच्याउन र शल्यक्रियालाई भरपर्दो बनाउन धेरै हदसम्म सहयोग गरेको छ । यसबाट चिकित्साशास्त्रमा क्रान्तिकारी परिवर्तन आएको छ, जुन स्पर्श प्रणालीकै परिमार्जित संस्करण हुन् ।

यसबाहेक हस्तरेखा अध्ययन, परम्परागत ल्याप्चे, हस्ताक्षर, नाडीबाट चल्ने घडी आदिको सीधा साइनो स्पर्शसँग छ । वैज्ञानिक विकास क्रमसँगै आएका विद्युतीय हाजिरीलगायतका बायोमेट्रिक प्रणाली, स्मार्टवाच, फिटनेट ट्र्याकर, रिमोट कन्ट्रोल, थर्मल गन, टचस्क्रिन प्रणालीमा आधारित मोबाइल फोन तथा अन्य उपकरण, वेरेबल  (Wearable)  आदि स्पर्श पद्धतिकै परिस्कृत तथा विकसित रूप हुन् । 

यी तमाम दृष्टान्तका आधारमा स्पर्शको सम्भावना र उपयोगिता अनन्त छ भन्न कुनै कठिनाइ हुँदैन । स्पर्श आँखा होइन तर यसले हाम्रो जीवनमा आँखाले जस्तै भूमिका निर्वाह गरिरहेको छ । यही आधारमा स्पर्शलाई ‘अतिरिक्त आँखा’ भन्ने चलन पनि छ । स्पर्शले गर्ने बहुआयामिक सञ्चारको महिमा अपरम्पार छ ।