गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २१ गते । डा. नवराज लम्सालको नयाँ महाकाव्य ‘कल्प’ सार्वजनिक भएको छ । शुक्रबार एक समारोहबिच उक्त महाकाव्य सार्वजनिक गरिएको हो । पूर्वमन्त्री तथा सांसदहरू गगन थापा, विद्या भट्टराई, सुदन किराँती, सांसद मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयंले संयुक्त रूपमा उक्त महाकाव्य सार्वजनिक गरेका थिए ।
समारोहमा कांग्रेसका महामन्त्रीसमेत रहेका पूर्वमन्त्री तथा सांसद गगन थापाले नवराज लम्सालको प्रतिस्पर्धा नवराज लम्सालसँग मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लम्साल २०६२ को आन्दोलनयताको केन्द्रीय साहित्यिक व्यक्तित्व हुनुहुन्छ ।” कुनै दलको झन्डा नबोके पनि कुनै पनि राजनीतिक दलका नेताभन्दा कम राजनीतिक चेतना लम्सालसँग छैन भन्दै उहाँले त्यही चेतनाका कारण उनका काव्य उच्चस्तरका, वैचारिक र राजनीतिक नेतृत्वले पनि पढ्नैपर्ने भएको बताउनुभयो ।
कार्यक्रममा सांसद विद्या भट्टराईले भन्नुभयो, “लम्सालको वैचारिक धरातल निकै गहिरो पाएँ ।” महाकाव्य पढेपछि कविको विश्वदृष्टि निकै राम्रो भएको उहाँको भनाइ थियो । कार्यक्रममा सांसद सुदन किराँतीले लम्साल सीमान्तकृत जाति आदिवासी महिला र मधेशीको सांस्कृतिक विम्ब र पहिचानका गहिरो लेखक भएको उल्लेख गर्नुभयो ।
सांसद मनिष झाले लम्सालले मधेशलाई जुरुक्क उठाएर आफ्नो बोली राख्न नसक्ने जनताको बोलीलाई कविताको भाषा दिएर देशलाई जोडेको बताउनुभयो ।
समीक्षक राजकुमार बानियाँले विश्वका चर्चित महाकाव्यको उदाहरण दिँदै नेपाली भाषामा यस प्रकारको काव्य लेखिनु नेपाली भाषाकै गौरव भएको बताउनुभयो । महाकाव्य हुनका लागि जति चिन्तन बौद्धिकता र गहिराइ चाहिन्छ, लम्सालले त्यसको सीमा पार गरेको उहाँको भनाइ थियो ।
प्रकाशक पुष्पराज पौडेलले लम्साल जस्तो महाकाव्यकारको महाकाव्य प्रकाशन गर्न पाउनु प्रकाशनगृहका लागि सौभाग्यको कुरा भएको धारणा राख्नुभयो । पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।