रङ्गेली समाचारदाता
विराटनगर, भदौ २१ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर वायर्सले भारतीय ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) बाट गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा उत्पादन हुने विद्युतीय तार निर्यात गर्ने पहिलो उद्योगले बिआइएस पाएको हो ।
मोरङको बुढीगङ्गा गाउँपालिकामा शारडा समूहद्वारा सञ्चालित यस उद्योगले उत्पादन गर्दै आएको प्रिमियर वायर्स भारतमा बिक्रीका लागि सहज बाटो खुलेको सञ्चालकले बताएका छन् । उद्योगका सञ्चालक उद्योगी पवन शारडाका अनुसार भारतमा कुनै पनि वस्तु निर्यात गर्दा बिआइएस अन्तर्गत आइएस (इन्डियन स्ट्यान्डर्स) अनिवार्य छ । त्यही सहज निर्यातका लागि त्यहाँको कानुनी बाटो अपनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रिमियर वायर्स यसअघि भारत, बङ्गलादेश र भुटानमा समेत निर्यात हुँदै आएको छ ।
“खास गरी हाम्रो बजार बङ्गलादेश र भुटान नै थियो,” उद्योगी शारडाले भन्नुभयो, “भारतीय बजार भए पनि यसमा केही समयदेखि केही प्रक्रिया अपनाउनु परेकामा अब बाटो खुलेको छ ।” शारडाले प्रिमियर वायर्स नेपालमा बिआइएस सर्टिफाइड पहिलो वायर्स उद्योग भएको दाबी गर्नुभयो ।
प्रिमियर वायर्सलाई यही भदौ १३ गते (अगस्त १९) मा बिआइएसले पत्र लेख्दै कम्पनीले उत्पादन गर्ने पिभिसीसहित लचिलो र कडा कन्डक्टर भएको सिटेड र अनसिटेड ११००० भोल्टेजसम्म क्षमता भएको केबुललाई गुणस्तर चिह्न प्रदान गरिएको उल्लेख छ । बिआइएस पाएको केबुल घर तथा कलकारखानामा प्रयोग हुने उल्लेख छ । जसमा भारतीय मापदण्ड (आइएस) ६९४:२०१० को प्रावधान अन्तर्गत गुणस्तर चिह्न प्रदान गरिएको भनिएको छ ।
उद्योगी शारडाले नेपालमा समेत कतिपय परामर्शदाताले केबुल प्रयोगमा बिआइएस मान्यता प्राप्त भनेर उल्लेख गरिदिने गरेका छन् । त्यस आधारमा भारतबाट मालवस्तु मगाउनुपर्ने बाध्यता थियो अब भने त्यो हटेको छ ।
उहाँका अनुसार यसअघि नेपाल तथा भारत दुवै देशको साझेदारीमा निर्माण भएको विराटनगरको सुक्खा बन्दरगाहमा समेत भारतीय सामग्री प्रयोग भएका छन् ।