• २१ भदौ २०८२, शनिबार

जापानको अर्थतन्त्रमा सुधारको सङ्केत, घरेलु खर्च १.४ प्रतिशतले वृद्धि

blog

टोकियो, भदौ २० गते । जापानमा जुलाई महिनामा दुई वा सोभन्दा बढी सदस्य रहेको घरपरिवारको घरेलु खर्चमा १.४ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धि पछिल्ला तीन महिनायता लगातार भएको वृद्धि हो, जुन उपभोग सुधारको सङ्केत मानिएको छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, उक्त महिनामा यस्ता घरपरिवारले औसतरूपमा तीन लाख ५ हजार ६ सय ९४ येन (करिब २ हजार ६३ अमेरिकी डलर) खर्च गरेका थिए । सिजनअनुकूल समायोजन सहितको मासिक आधारमा हेर्दा, जुलाईमा घरेलु खर्च १.७ प्रतिशतले बढेको देखिएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार, यो वृद्धि मुख्यतः बढ्दो विद्युत महसुल र सवारी साधन सम्बन्धी खर्चका कारण भएको हो । तर, मूल्यवृद्धिका कारण खाद्य वस्तुमा खर्च घटेको उल्लेख गरिएको छ । उहाँका अनुसार, उपभोग सुधार देखिए पनि यो अझै सशक्त रुपमा देखिएको छैन । जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५० प्रतिशतभन्दा बढी हिस्सा घरेलु खर्चबाट आउने भएकाले, घरेलु उपभोग आर्थिक सूचकको रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । रासस/सिन्ह्वा