नवराज कट्टेल
विराटनगर, भदौ २० गते । कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानी–सुनसरी धरानसम्मको ४२ किलोमिटरमध्ये ३२.८ किलोमिटर सडक हस्तान्तरण भएर सडक डिभिजन कार्यालय विराटनगर मातहत आएको छ । उत्तर–दक्षिण कोशी सडक योजना अन्तर्गत रानी–धरान खण्ड छ लेन राजमार्ग विस्तार आयोजना कार्यालय इटहरीबाट सडक डिभिजनमा हस्तान्तरण भएको हो ।
छ लेन सडक आयोजना इटहरीका इन्जिनियर तथा सूचना अधिकारी दुर्गा मण्डलका अनुसार ९५ प्रतिशत भौतिक प्रगति र ९४ प्रतिशत प्रगति भइसकेको छ । उहाँका अनुसार अब सुनसरीको दुहबीमा एक हजार आठ सय मिटर, तरहराको जङ्गल खण्डमा पाँच किलोमिटरमा अझै काम चालु छ । ठेक्का रकम आठ अर्ब ८४ करोडमध्ये अब ४० करोड भुक्तानी दिन बाँकी रहेको छ । यो खण्डको धरानको तीनकुनेदेखि धरान बजारको पाँच किलोमिटर सडक सीमा विवादका कारण विस्तार हुन नसकेको हो ।
हालसम्म नेपाल–भारत सीमा क्षेत्र रानी–विराटनगर ६.४६, विराटनगर–कन्चनबारी १.५६, कन्चनबारी–दुहबी ६.६७, दुहबी–इटहरी (दुई खण्ड) ९.५३, इटहरी–तरहरा ४.१७ र तरहरा–तीनकुने ४.१७ किलोमिटर सम्पन्न भएको हो । ठेक्का व्यवस्थापन अनुसार एक वर्षको त्रुटि सच्याउने ठेकेदारको जिम्मेवारी सकिएपछि ठेकेदारमार्फत आयोजनालाई र आयोजनामार्फत सडक डिभिजनमातहत आएको हो ।
आयोजनाबाट सडक डिभिजन कार्यालय विराटनगरको स्वामित्वमा आएपछि कोशी राजमार्गको रानी–विराटनगरको ढाट खण्ड भने मर्मत गरिहाल्नुपर्ने चिन्ता थपिएको छ । रानीदेखि विराटनगरको ढाटसम्मको सडकखण्ड जताततै भत्किएर अहिले सवारी हिँडाउन नसक्ने स्थितिमा पुगेको हो । सडक डिभिजन कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी प्रभावकिरण राईले अब मर्मतका लागि प्रक्रिया थाल्ने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले सडकको भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारी गुड्ने क्षेत्रमा समस्या देखिएको बताउनुभयो । त्यसका लागि सडक विभागमार्फत मर्मतको बजेट माग गरिएको राईको भनाइ छ । भारतबाट मालवस्तु बोकेर आउने ठुला मालवाहक ट्रक तथा सवारी गुड्ने क्षेत्रमा बर्सेनि समस्या दोहोरिँदो छ ।
विराटनगर भन्सार कार्यालय हुँदै दैनिक ३५० मालवाहक सवारी औद्योगिक तथा व्यापारिक वस्तु लिएर नेपाल प्रवेश गर्ने गरेका छन् । भन्सार जाँचपासपछि मालवाहक सवारी, सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रको कच्चा तथा व्यापारिक प्रयोजनका वस्तु गन्तव्यसम्म छोडेर फर्कन्छन् । यी सवारी गुड्ने भन्सारदेखि औद्योगिक क्षेत्रसम्मको १८ किलोमिटर सडक जताततै चिरा पर्ने, लच्किने र भासिने समस्या देखिएको हो ।
विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) मा रहेको भन्सार कार्यालयको गेटदेखि लिङ्क रोड चार किलोमिटरसमेत दबिएको छ । त्यसपछि कोशी राजमार्ग खण्डसमेत दबिएको छ । इन्जिनियर राईले कोशी राजमार्गको छ लेनमध्ये केन्द्र भागबाट पश्चिम खण्डमा देखिएको समस्या मर्मतबाट समाधान खोजिने बताउनुभयो ।
आइसिपीको व्यवस्थापन हेर्दै आएका ट्रान्स नेपालका निर्देशक लक्ष्मी सुब्बाका अनुसार न्यूनतम १० टनदेखि ९० टनसम्म भार बोकेका सवारी नेपाल भित्रिने गरेका छन् । जबकि सडकको भारवहन क्षमता सवारीको एक्सलदेखि एक्सलसम्म १० टन मात्रै छ । कोशी राजमार्ग हुँदै सुनसरी–मोरङ औद्योगिक कोरिडोरको दुहबीसम्म पुग्ने मालवाहक सवारी गुड्ने सडक भत्किएपछि त्यसको दीर्घकालीन समाधान खोज्ने विषय सडक डिभिजनका लागि चिन्ताको विषयसमेत बनेको छ ।