बाबुराम देवकोटा
सिन्धुलीमाढी, भदौ २० गते । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलमाई नगरपालिका–९ बथानचौडी नजिकै शुक्रबार बिहान ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
विराटनगरबाट कठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ९६४४ नम्बरको ट्रकको ठक्करबाट टाउकोमा गम्भि्री चोट लागेका पैदल यात्री सोही ठाँउ निवासी ४६ वर्षीय भुवन भुजेलेको उपचारको क्रममा शुभ स्वस्तिक अस्पताल बर्दिबासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उक्त ठाउँमा ट्रकको ठक्करबाट दुई जना पैदल यात्री घाइते भएका थिए । अर्का पैदल यात्री सोही ठाँउ निवासी ६४ वर्षीय टेकप्रसाद दाहालको टाउको र छातीमा चोट लागेको र उहाँको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरी निरीक्षक टंक कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रक अनियन्त्रित भई सोही स्थानमा सडकको दाहिने साइडमा घरमा आड लागेर लोल्टे अवस्थामा छ । ट्रकले घरमा समेत क्षति पुर्याएको र घरको गाह्रोले थिचिएर २० वटा कुखुरा मरेका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।