• २० भदौ २०८२, शुक्रबार

गोरखापत्र ग्राहक योजनाको इतिहास

blog

गोरखापत्र प्रकाशनको ग्राहक योजनाको इतिहास हेर्दा त्यति सुखद देखिँदैन । सुरुमा पत्रिका त निस्कियो तर ग्राहक नै पाएको थिएन । पत्रिका निकाल्न सकस भएको विषय त्यसबेला प्रकाशित विज्ञापनबाट स्पष्ट हुन्छ, “ग्राहकवर्गले यस्का उपर कृपादृष्टि नदिनु भयाका हुनाले अब यो गोर्खापत्र चल्नालाई बडा मुश्किल हुने जस्तो बुझियो यस कारण यो सूचना गरियाको हो । येस गोर्खापत्रले आफ्नू उत्साह बढाउने ग्राहकहरू नभयाको देखेर सबैसँग बिदा माग्दछ कि भने जस्तो भयाको छ ।” “हाम्रो यो गोर्खापत्रको ग्राहक १००० पुर्‍याउनु बाग्मतीमा जहाज चलाउनु जस्तो भयो ।” यो पीडादायक विज्ञापन १९६२ साल वैशाख २६ गते गोरखापत्रमा छापिएको थियो । त्यो बेला गोरखापत्र प्रकाशनको प्रारम्भमा ग्राहकको निकै ठुलो खडेरी बेहोरिएको थियो भन्ने कुरा त्यतिबेला प्रकाशित सामग्री अध्ययन गर्दा थाहा लाग्छ । न्यून साक्षरता, पठन संस्कृतिको अभाव, क्रय शक्तिलगायतका कारण तत्कालीन समयमा गोरखापत्रलाई पाठक पाउन निकै कठिन भएको बुझ्न सकिन्छ । त्यो बेला ग्राहक अभावका कारण प्रकाशनलाई निरन्तरता दिने कि नदिने भन्ने अन्योल नै सिर्जना भएको थियो । यद्यपि पाठकको अपेक्षित आकर्षण नहुँदा नहुँदै पनि तत्कालीन शासकले प्रकाशनलाई भने निरन्तरता दिएका थिए । त्यो बेलामा गोरखापत्रको एकप्रतिको मूल्य २ आना तोकिएको थियो । 

गोरखापत्र पेस्कीस्वरूप ग्राहकमा 

यस्तै “गोर्खापत्रको पेस्की वर्ष दिनलाई सदर मोफसल सर्वत्र ४ रुपियाँ मात्र छ । ठेगाना बदल्नु पर्‍यो भने छोडेको ठामको र सरेको ठामको ठेगनासमेत लेखिपठाउनु । परदेशी ग्राहकहरूले मूल्य पठाउँदा हिन्दुस्थानीबाहेक मोफसलकाले हुन्डियान वा रजिष्टरीद्धारा पठाउनु । हिन्दुस्थानीले मूल्य वापत् टिकट पठाउँदा आधा आना बट्टा समेत पठाउनु मनि आर्डर चल्दैन ।” यो सूचना गोरखापत्रले विसं १९९८ असोज ४ गते प्रकाशित गरेको थियो । त्यो बेलामा प्रकाशित विज्ञापन अनुसार गोरखापत्रका ग्राहकसँग पेस्कीस्वरूप रकम लिएर उपत्यकाबाहिरका जिल्लामा बिक्री गरिन्थ्यो । 

गोरखापत्रको रोचक पक्ष 

“गोरखापत्र नेपालभरलाई ने.रू २ / 

हिन्दुस्थानभरलाई के.रू ३/–

एक संख्याको मूल्य /६ ” गोरखापत्र साप्ताहिकको वार्षिक मूल्य थियो । यो विसं १९९९ कात्तिक १४ गते  गोरखापत्रकै पहिलो पृष्ठमा विज्ञापन छापिएको थियो ।

यो विज्ञापन पढ्दा त्यसबेलाको गोरखापत्र अहिलेको भारत र उहिले हिन्दुस्थानसम्म माग हुँदोरहेछ भन्ने पनि बुझिन्छ । त्यो बेला गोरखापत्रले नेपाल र भारतका लागि दुईथरी मूल्य उल्लेख गरेको देखियो । भारत दुरी हिसाबले टाढा भएकाले पनि नेपालमा भन्दा भारतका लागि पत्रिकाको मूल्य महँगो तोकिएको अनुमान गर्न सकिन्छ ।

गोरखापत्र चन्दाका रूपमा बिक्री

“गोरखापत्र तथा गजेटमा टाँसिएको ठेगानामुनि चन्दा सकिने मिति तोकिएको छ । तदनुसार आफ्नो चन्दा सकिनुभन्दा एक महिनाअगाबै अर्को वर्षका लागि चन्दा पठाउनु भए ग्राहकको हुनेसम्म राम्ररी सेवा गर्न सक्ने थियौँ ।” –मेनेजर 

गोरखापत्रले आफ्ना ग्राहकलाई ग्राहककपीमै पत्रिकाको नवीकरणको सूचना पठाउने गरेको त्यो बेला छापिएका विज्ञापनमा भेटिए । हरेक ग्राहकलाई गोरखापत्रले केही महिनाअगाडिबाटै एक महिनाअगाडि नवीकरणबापतको दस्तुर बुझाउन सूचना गरेको देखियो । यस प्रकारको सामग्री २००० सालमा छापिएको थियो ।

‘गोरखापत्र पढ्नुहोस, नेपालको सबभन्दा लोकप्रिय गोरखापत्र ६० वर्ष अघिदेखि देश, नरेश र जनताको सेवा गर्दैछ । सस्तोमा सजिलोसँग घरैमा बसी बसी देश र विदेशका समाचार पढ्नुहोस् ।” 

गोरखापत्र गजेटको चन्दा         

‘वर्षको ने.रू. ४/– भारतीय मार्गबाट जाने भा.रू. ८/–

छ महिनाको ने.रू. २/५० पैसा छ महिनाको भा.रू ५ /– 

एक प्रतिको ने.रू /४     

गजेट 

वर्षको ने.रू ८ /– भारतीय मार्गबाट जाने भा.रू १२ /–

छ महिनाको ने.रू ५ /–’ गोरखापत्र र गजेटको चन्दा मेनेजर गोरखापत्र, छापाखाना, नयाँ सडक काठमाडौँ नेपालको ठेगानामा पठाए वा जिल्ला मालमा बुझाए पनि हुने छ । यो विसं २०१७ माघ २६ गते गोरखापत्रमै प्रकाशित सूचना हो । त्यो समयमा गोरखापत्रको ग्राहक नेपालमा मात्रै सीमित नभएर भारतसम्म भएको माथिको विज्ञापनले प्रस्ट हुन्छ । नेपाल र भारतमार्गबाट पत्रिका प्राप्त गर्नेका लागि दुई प्रकारको मूल्य तोकिएको देखियो । हुन त त्यस समयमा अहिले जस्तो पत्रिका ढुवानीका गर्न त्यति सहज थिएन पनि । दुरीको हिसाब गरेर पत्रिकाको दुईथरी मूल्य कायम गरिएको अनुमान लगाउन सकिन्छ । 

महाविपत्मा समेत पाठकप्रति जवाफदेही

‘य ग्राहक महाशय ! दैवको प्रभाव चर, थचरः जट, चेतन सबैमा पर्दोरहेछ । यो माघ २ गतेको महाभयंकर दुर्घटनाको प्रभाव यस गोरखापत्रलाई पनि पर्नगै गोरखापत्र छापाखाना आफिसघरै समेत भत्की प्रेस, केश आदि थिचिई मिचिई सो घरले भयंकररूप धारण गरी सो घरमा पस्न जानै समेत नभै प्रेस, कम्पोजको काम सबै रोकन गएको हुनाले ३९/४० संख्याको गोरखापत्र प्रत्येक ग्राहक, पाठकहरूका करकलममा ठीक–ठीक समयमा सुशोभायमान हुन सकेनः एकै रूपमा अहिले बल्लतल्ल सेवामा प्राप्त भई इश्वरसँग भक्तिपुर्वक शान्ति प्राथना गरौँ भनी सबैसँग सार्वजनिक प्राथना गदर्छ ।” 

यो १९९० माघ २ गते महाभूकम्प गएपछि गोरखापत्र ग्राहककहाँ समयमै पुर्‍याउन नसकेर माफी मागिएको सूचना हो । यो गोरखापत्रको प्रथम पृष्ठमा छापिएको सूचनाबाट गोरखापत्र उहिले पनि ग्राहक र पाठकप्रति जवाफदेही रहेको पुष्टि हुन्छ । 

गोरखापत्रका शताब्दी ग्राहक

हो त्यो बेला स्थिति कठिन थियो । सङ्घर्ष गर्दै प्रकाशनको १२४ वर्ष पूरा गरेको गोरखापत्रको अवस्था अब त्यो बेलाको जस्तो छैन । ग्राहकको माया र विश्वास चुलिँदो छ । विगतमा एकैपटक १० वर्षका लागि अग्रिम ग्राहक बनेका घटना त थिए तर गत वर्ष डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) को वसुन्धरा–मान प्रतिष्ठान, बालुवाटार एक सय वर्षका लागि अग्रिम ग्राहक बनेर गोरखापत्रका लागि नयाँ कीर्तिमान कायम भएको छ । सम्भवतः विश्वमै यो पहिलो घटना हुन सक्छ । आधुनिक सञ्चार माध्यमको उर्लंदो अवस्थाका बिचमा पनि परम्परागत सञ्चार माध्यम मानिने त्यसमा पनि सबैभन्दा जेठो पत्रिका गोरखापत्र दैनिकको उक्त प्रतिष्ठान एक वर्षको ग्राहक बनेर कीर्तिमान कायम भएको हो । 

गत वर्ष (२०८० असार) मा एक सय वर्षका लागि ग्राहक बनेपछि गोरखापत्र संस्थानको इतिहासमा सो प्रतिष्ठान पहिलो शताब्दी ग्राहक बन्न सफल भएको छ । प्रतिष्ठानका सल्लाहकार बद्रीप्रसाद ढकालले गोरखापत्र नेपाली भाषा सिक्ने माध्यम भएकाले यसको संरक्षण गर्ने उद्देश्यका साथ प्रतिष्ठान एक सय वर्षको ग्राहक बनेर इतिहास रचेको प्रतिव्रिmया दिनुभयो । ग्राहकले यति धेरै विश्वास गरेको गोरखापत्रले आफूले दिने सेवामा निरन्तरता र नियमितता हुनुपर्नेमा उहाँको जोड छ । गोरखापत्रलाई जोगाउनु पर्छ भनेर नै प्रतिष्ठानका तर्फबाट गोरखापत्र दैनिकसहितका अन्य प्रकाशनको एक सय वर्षका लागि ग्राहक बनेबापतको रकम एकमुस्ट संस्थानलाई भुक्तानी गरेको बताउँदै सल्लाहकार ढकालले भन्नुभयो, “यसबिचमा बेला बेलामा पत्रिकाको नियमितता हुन सकेको छैन । यसलाई गोरखापत्र व्यवस्थापनले तुरुन्तै सच्चाउनु पर्छ, यो मेरो अनुरोध हो ।”

प्रतिष्ठानले पत्रिकाबापतको शुल्क अग्रिम भुक्तानी गरेपछि गोरखापत्र संस्थानले ग्राहक शुल्कमा ४० प्रतिशत छुट उपलब्ध गराएको थियो ।  उक्त प्रतिष्ठानले एक सय वर्षका लागि हुन आउने कुल तीन लाख ६५ हजार रुपियाँमा एक लाख ४६ हजार रुपियाँ छुट दिएर दुई लाख १९ हजार रुपियाँको चेक संस्थानलाई हस्तान्तरण गरेको थियो । संस्थानका प्रकाशनहरू सोही मितिदेखि प्रतिष्ठान कार्यालयमा अपवादमा बाहेक उपलब्ध हुँदै आएको पनि प्रतिष्ठानका सल्लाहकार ढकालले जानकारी दिनुभयो । आगामी एक सय वर्ष अर्थात् २१८० साल असार २९ गतेसम्म प्रतिष्ठानले गोरखापत्रसहित अन्य प्रकाशन नियमित प्राप्त गर्ने छ । संस्थानको प्रकाशनप्रति विश्वास लागेर एक सय वर्षका लागि ग्राहक बन्ने निर्णय गरेको बताउँदै उहाँले भन्नुभयो, “ग्राहक बन्नुअघि प्रतिष्ठानका पदाधिकारीबिच १० वर्ष वा ५० वर्षको ग्राहक बन्ने कि भनेर छलफल भएको थियो तर पछि एक सय वर्षका लागि ग्राहक बन्नु पर्छ भन्ने निर्णय ग¥यौँ ।” नेपालकै पुरानो र इतिहास बोकेको पत्रिकाको एक शताब्दीको ग्राहक बन्न पाउँदा प्रतिष्ठान खुसीले गद् गद् भएको भन्दै उहाँले यस खुसीलाई अलिकति पनि तलमाथि हुन नहुनेतर्फ गोरखापत्र संस्थान सधैँ जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो । 

उहाँका अनुसार नेपालको भाषा, साहित्य, कला तथा संस्कृति उत्थानमा गोरखापत्र संस्थानको प्रकाशनको महìवपूर्ण योगदान रहेकाले संस्थानको प्रकाशन प्रवर्धनका लागि आफूहरू ग्राहक बन्ने निर्णयमा पुगेको हो । प्रतिष्ठान पनि गोरखापत्र संस्थान जस्तै भाषा, साहित्य, कला र संस्कृतिको उत्थानको अभियानमा रहेकाले भाषालाई अझै परिष्कृत गर्न सहयोग होस् भनेर ग्राहक बन्ने निर्णय भएको ढकालको भनाइ छ । 

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) द्वारा आमा र बावुको स्मृतिमा गठित संस्थाले एक सय वर्षको ग्राहक बन्ने निर्णय गरेपछि पाठकमाझ सकारात्मक सन्देश प्रवाह भएको संस्थान पदाधिकारीको बुझाइ छ । प्रतिष्ठानले जसरी गोरखापत्रका प्रकाशनलाई विश्वास गरेर एक सय वर्षको ग्राहक बन्यो त्यसै गरी गोरखापत्रका व्यवस्थापकले गोरखापत्रले प्रकाशन गर्ने सामग्रीदेखि सेवालाई अझै थप विश्वसनीय र जिम्मेवार बन्न दबाब सिर्जना गरेको छ । गोरखापत्रका प्रकाशनप्रति प्रतिष्ठानले जुन विश्वास र माया दिएको छ त्यसको कदर गरेर संस्थानले जिम्मेवार भएर नियमित पत्रिका उपलब्ध गराउने कार्य गर्नु पर्छ । प्रतिष्ठान २०५६ फागुनमा स्थापना भएको हो । नेपाली साहित्य, कला, संस्कृतिको उत्थानमा योगदान दिने व्यक्तित्वलाई प्रतिष्ठानले सम्मानित गर्दै आएको छ ।

दोस्रो पुस्तासम्म गोरखापत्रको नियमित ग्राहक

  गोरखापत्रले नागरिक चासोलाई पनि प्राथमिकता दिने गरेको छ । त्यसैले त बुवाका पालामा ग्राहक बनेर छोरो उत्ताराध्यसम्म पनि गोरखापत्र नियमित ग्राहक हुनुहुन्छ काठमाडौँ डिल्ली बजारका रामचन्द्रराज उपाध्याय । उहाँ विगत ८२ वर्षदेखि गोरखापत्रको नियमित ग्राहक र पाठक दुवै हुनुहुन्छ । गोरखापत्र साप्ताहिक हुँदा उपाध्यायका बुवा ग्राहक बन्नुभएको थियो । उहाँले पढ्न त धेरै पत्रपत्रिकाबाट सूचना प्राप्त गर्नुहुन्छ तर घटनाको सत्यतथ्यको जानकारी लिन गोरखापत्र नै पढ्नुहुन्छ । उहाँ गोरखापत्रमा आएका हरेक सूचना विश्वासका साथ ग्रहण गर्दै आउनुभएको छ । त्यसैले त गोरखापत्र रामचन्द्र उपाध्यायका लागि विश्वासिलो माध्यम बन्न सफल भएको छ । उहाँले विशेष गरी गोरखापत्रमा पढ्ने सामग्री भनेको राष्ट्रिय/अन्तर्राष्ट्रिय समाचार, शनिबार विशेषमा छापिने कथा, नियात्रा हुन् । उहाँको विचारमा म जस्ता ग्राहक र नयाँ पुस्तालाई आकर्षण गर्न गोरखापत्रले दिने सामग्रीमा सुधार गर्नु पर्छ । 

गोरखापत्र पढ्ने बानी

यस्तै विश्वदीप अधिकारी २०४० सालदेखि गोरखापत्रको नियमित पाठक र ग्राहक हुनुहुन्छ । उहाँ २०४० देखि २०५८ को बिच/बिचमा छिटफुट रूपमा छुटे पनि २०५८ सालयता भने गोरखापत्रको नियमित ग्राहक हुनुहुन्छ । लामो समय वकालत पेसामा आबद्ध रहनुभएका अधिकारीलाई अन्य पत्रपत्रिका पढे पनि गोरखापत्र नपढेसम्म पत्रिका पढे जस्तो हुँदैन । उहाँ गोरखापत्रमा प्रकाशित हुने नयाँ नेपालबाहेक सबै पृष्ठ पढ्नुहुन्छ । उहाँका अनुसार २०४६ सालभन्दा पहिला त गोरखापत्रको विकल्प थिएन । जस्तोसुकै सामग्री आए पनि पढ्नै पथ्र्यो । अहिले धेरै विकल्प (च्वाइस) छन् तर पनि गोरखापत्र पढ्ने बानी भइसक्यो । छोड्न खोजेर पनि सकिएको छैन । 

भोक निन्द्राभन्दा प्रिय गोरखापत्र 

गोरखापत्रका ७० वर्षदेखिका नियमित पाठक एवं ग्राहक माधवी अर्याललाई गोरखापत्र नपढेसम्म खान मन लाग्दैन । डिल्लीबजार घर भएकी अर्यालका श्रीमान्श्रीमतीको दैनिकी भनेकै बिहानको चियासँगै गोरखापत्र पढ्ने । उहाँले गोरखापत्रमा छापिने हरेक विषयलाई पढ्ने मन्थन गर्ने गर्नुहुन्छ । लामो समय शिक्षण पेसामा आबद्ध अर्याल दम्पतीको जीवन नै पढ्ने पढाउने भएकाले अवकाश जीवनमा पनि पत्रिका पढेरै दिन बित्छ । अर्याललाई एक दिन खान नदिए बरु खासै दुःख लाग्दैन तर गोरखापत्र पढ्न नपाए असाध्यै दुःखी हुने बताउनुहुन्छ । उमेरले अर्याल दम्पती ८५ र ७५ भए पनि गोरखापत्रमा आउने हरेक सूचनामा जानकार हुनुहुन्छ । कुन दिन कुन सूचना आउँछ भन्ने जानकारीसमेत उहाँहरूले राख्ने गर्नुभएको छ । उहाँ गोरखापत्र मात्रै होइन, गोरखापत्रका अन्य मासिक प्रकाशन ‘मधुपर्क’, ‘युवामञ्च’, ‘मुना’ को समेत नियमित पाठक हो । ‘मधुपर्क’ मा छापिने कथा, कविता, निबन्ध पढ्न मन पर्छ । ‘युवामञ्च’ मा छापिने स्वास्थ्य र विज्ञानका विषयप्रति पनि निकै चाख दिएर पढ्ने उहाँलाई ‘मुना’ बालपत्रिका पढ्दा बाल्यकालको सम्झना आउँछ ।  

गोरखापत्र साथी

गोरखापत्रका ३० वर्षदेखिका अर्का नियमित ग्राहक मोतीकाजी तुलाधरलाई पनि गोरखापत्र पढ्ने बानी भइसकेको छ । राति निद्रा लागेन भने पनि गोरखापत्र पढ्नुहुन्छ । असनमा व्यापार हुँदा गोरखापत्रको ग्राहक बन्नुभएका तुलाधरले व्यापार छोडे पनि गोरखापत्रको नियमित ग्राहक बन्न छोड्नुभएको छैन । उमेरले ८० को हाराहारीमा पुग्नुभएका उहाँले गोरखापत्रमा धेरै जसो समाचार नै पढ्ने गर्नुभएको छ । समाचार त टिभी मोबाइलमा हेर्ने गर्नुभएका तुलाधरलाई गोरखापत्र पढेपछि बल्ल समाचारप्रति विश्वास लाग्छ । राति निद्रा लागेन वा निद्राबाट बिउँझिएपछि पनि गोरखापत्र नै पढ्ने गर्नुहुन्छ । उहाँहरू त प्रतिनिधिमूलक ग्राहक हुनुहुन्छ । उहाँहरू जस्तै हजारौँ नियमित ग्राहक हुनुहुन्छ । 

गोरखापत्रको स्वर्णिम युग

सुरुवातमा पाठक अभाव भए पनि क्रमशः यो अवस्था सुधारिँदै गएको देखिन्छ । ४० को दशकदेखि ५० को दशकको मध्यसम्म गोरखापत्रले अत्यधिक पाठक पाएको थियो । पाठक आकर्षणका हिसाबले यसलाई गोरखापत्रको उत्कर्ष या स्वर्णकाल मान्न सकिन्छ । अग्रजहरूले बताए अनुसार यो अवधिमा गोरखापत्र प्रकाशनको इतिहासमै सबैभन्दा धेरै ग्राहक बनेका थिए । गोरखापत्र मात्रै होइन, यसका सहप्रकाशनहरू पनि उत्तिकै लोकप्रिय भए । त्यो बेला गोरखापत्रमा काम गर्ने मात्रै होइन पढ्ने मान्छे पनि ठुलो मानिन्थ्यो । गोरखापत्रको ग्राहक योजनामा लामो समय काम गर्नुभएका सोमबहादुर घलेको अनुभवमा विसं २०४० देखि २०६० सालको बिचमा गोरखापत्रले ग्राहक खोज्ने होइन ग्राहकले गोरखापत्र खोज्ने गर्थे । त्यो बेला गोरखापत्र हरेक सरकारी कार्यालय, भारतका विभिन्न ठाउँ र नेपाली राजदूतावास, महावाणिज्यदूत रहेका देशमा समेत पुग्थ्यो । ५० को दशकसम्म गोरखापत्र भारतसहित नेपाली दूतावास भएका देशहरू सबैमा पुग्थ्यो । उहाँका अनुसार मासिक पत्रिका ‘मधुपर्क’ नेपाली भाषी भएका भारतका सिक्किम, सिलगढी दार्जिलिङ, कोलकातालगायतका ठाउँसम्म करिब दुई हजारप्रति बिक्री हुन्थ्यो । त्यो बेला गोरखापत्र संस्थानले भारतका ती ठाउँमा ‘मधुपर्क’ बिक्रीस्थल नै तोकेर बिक्रीको प्रबन्ध गरेको थियो । संस्थानले २०४० सालमै गोरखापत्र दैनिक ठुलो सङ्ख्यामा छाप्ने गरेको सम्झिँदै घलेले भन्नुभयो, “सरकारका प्रत्येक कार्यालयमा गोरखापत्र अनिवार्य पुग्थ्यो । विसं २०४९/५० मा ‘युवामञ्च’ ६० हजारभन्दा बढी प्रकाशन गरेर बजारमा पठाउँदा पनि अभाव भएको भनी छापिएको समाचार घलेलाई सम्झना छ ।” 

पुरानो साख जोगाउने चुनौती 

सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगपछि विश्वव्यापी रूपमा छापा माध्यममा आएका चुनौती गोरखापत्र र यसका अन्य प्रकाशनमा पर्नु स्वाभाविक देखिन्छ । विसं ५० को दशकदेखि गोरखापत्रसँग प्रतिस्पर्धा गर्न निजी पत्रपत्रिका पनि आएका छन् । उनीहरूले ग्राहकलाई आकर्षक उपहार दिएर पत्रिकाको ग्राहक बनाउने होडबाजी नै चलाउँदै आएका छन् । जसले गर्दा गोरखापत्रलाई आफ्नो साख जोगाउन नयाँ नयाँ बजार योजना बनाउनु परिरहेको छ । गोरखापत्रले पछिल्ला वर्षमा विभिन्न खाले ग्राहक छुट योजना ल्याउँदै आएको छ । मूलतः पाठकहरू गोरखापत्रमा प्रकाशन हुने समाचार तथा अन्य बौद्विक खुराक र सरकारी कार्यालयका सूचनाका लागि ग्राहक बन्ने गरेका छन् । 

गोरखापत्र वितरण 

गोरखापत्र संस्थानको वितरण कार्यसञ्चालन निम्ति वितरण विभाग खडा गरिएको छ । विभाग अन्तर्गत दुई शाखा छन्, ग्राहक सेवा र बिक्री प्रवर्धन । विभागको समन्वयमा ग्राहक सेवा शाखाले वितरण कार्य गर्छ । संस्थानका प्रकाशनहरू पाठकको घरदैलोमा संस्थानबाट प्रत्यक्ष र एजेन्टमार्फत पुर्‍याइने परिपाटी छ । उपत्यकाका अतिरिक्त प्रदेशस्तरीय प्रकाशन कार्यालय, विराटनगर, कोहलपुर तथा प्रदेशस्तरीय कार्यालयहरू हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, धनगढीलगायत क्षेत्रमा संस्थान आफैँले वितरकमार्फत पाठकका घर घरमा पत्रिका उपलब्ध गराउँदै आइरहेको छ । वितरण पहुँच नभएका दूरदराजका क्षेत्रमा भने हुलाकसँगको समन्वयमा पत्रिका पुग्दै आएको छ । सूचना खपत र इतिहासको दस्ताबेजीकरणका लागि गोरखापत्रका प्रकाशन भरपर्दो भएकाले यसको महìव बुझाएर वितरण व्यवस्था प्रभावकारी बनाउनु पर्छ । 

 वितरण शाखालाई थप सशक्त बनाइनुपर्ने

संस्थानको महत्वपूर्ण जिम्मेवारी रहेको वितरण विभाग र यस अन्तर्गत रहेको शाखालाई बदलिँदो समय अनुसार थप सशक्त बनाउनुपर्ने आवश्यकता छ । स्रोतसाधन र जनशक्तिको उचित व्यवस्था गरी कर्मचारीको आकर्षण केन्द्र बनाउन सकिने विश्वास र माग वितरण शाखाका प्रमुख हरि ढुङ्गानाको छ । संस्थाको विभिन्न विभाग र शाखाले उत्पादन गरेका प्रकाशनलाई नतिजामुखी बनाउने विभाग र यस अन्तर्गतको शाखालाई साधन स्रोतबाट सम्पन्न, समयको माग अनुसार दक्ष, प्रतिस्पर्धी र जिम्मेवार बनाउनुपर्ने देखिन्छ । 

छापामा वितरणको महत्व 

एउटा पत्रिका छापिएर बजारमा जान धेरै चरण पार गर्नु पर्छ । सम्पादकीय (पत्रकार), उत्पादन र वितरण सञ्चारगृहका प्रमुख तीन अङ्ग हुन् । सम्पादकीयको काम जनताका लागि आवश्यक तथा रुचिकर सामग्री सङ्कलन गरेर प्रकाशन प्रसारण निम्ति योग्य बनाउनु हो । यसरी तयार सामग्रीलाई साजसज्जा (लेआउट) को रूप दिएपछि पत्रिकाको आकृति दिइन्छ । जुन काम उत्पादनले गर्छ । उत्पादन शाखाले पत्रिका छापेपछिको जिम्मेवारी वितरणको हो । वितरण प्रणालीलाई छापाखानाको अन्तिम र महत्वपूर्ण मानिन्छ । वितरण प्रणालीमार्फत एक कुनामा प्रकाशित अखबार अर्को कुनामा पुर्‍याइन्छ । पत्रकारिताको लामो इतिहास बोकेको प्रकाशन गोरखापत्र दैनिकलाई गोरखापत्र संस्थानले वितरणमार्फत देशव्यापी रूपमा पहुँच विस्तार गरिरहेको छ । हुन त, पछिल्लो समय विद्युतीय माध्यमका कारण छापा माध्यमको महत्व केही खस्किएको छ । नेपालमा अझै पनि इन्टरनेट पहुँच नपुगेका र इन्टरनेट साक्षरता नभएका नागरिकलाई सुसूचित गर्ने काममा गोरखापत्रको भूमिका महत्वपूर्ण छ । जुन काम वितरणले मात्र गर्न सक्छ । ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ यो उखानले भने झैँ गोरखापत्रका प्रकाशनमा पिठोको काम वितरणबाट मात्रै हुन्छ । वितरण प्रणाली चुस्त दुरुस्त हुँदा मात्रै धेरैभन्दा धेरै पाठकको हातमा पत्रिका पुग्न सक्छ । विज्ञापनदाताले छापामा पाठकको आकर्षण हेरेर मात्रै विज्ञापनका सामग्री दिने गर्छन् । यसर्थ व्यापार व्यवसाय उकास्न पनि वितरण प्रणाली चुस्त र व्यवस्थित हुन जरुरी हुन्छ । 

बहुवर्षीय ग्राहक योजना सफल

गोरखापत्र संस्थानले विगत तीन वर्षदेखि बहुवर्षीय ग्राहक योजना कार्यान्वयनमा ल्याएको छ । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नेपालमा पहिलो पटक अखबारको बहुवर्षीय ग्राहक योजना गोरखापत्र संस्थानले कार्यान्वयनमा ल्याइएको दाबी गर्नुभयो । उहाँका अनुसार गोरखापत्र संस्थानका प्रकाशनको ग्राहक बन्न चाहने महानुभावका लागि नयाँ वर्ष र दसैँतिहारमा एकबर्से, दुईबर्से र तीनबर्से ग्राहक योजना कार्यान्वयनमा ल्याएको छ । अघिल्लो वर्ष पाँचबर्से ग्राहक योजना कार्यान्वयनमा ल्याइएको थियो । सोही कार्यक्रम अन्तर्गत गोरखापत्र दैनिकको एक सय वर्षका लागि गत वर्ष नै वसुन्धरा–मान प्रतिष्ठान ग्राहक बनिसकेको छ । यस्तै पाँचबर्से योजना अन्तर्गत पनि ठुलो सङ्ख्यामा ग्राहक थपिएका छन् । गोरखापत्रले बहुवर्षीय ग्राहक योजना ल्याउनुको मुख्य उद्देश्य भनेको गोरखापत्रप्रति पाठकको आकर्षण साँच्चिकै घटेको हो कि होइन भन्ने परीक्षण गर्नु पनि थियो । पछिल्लो पटक गोरखापत्रका पाठकको ग्राहक बन्ने उत्साहबाट गोरखापत्र संस्थान उत्साहित छ ।  

विशेष छुट अन्तर्गत संस्थानका कुनै पनि प्रकाशन पढ्न तीन वर्षभन्दा बढी ग्राहक बनेमा ४० प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ । महाप्रबन्धक ऐरीका अनुसार गोरखापत्रले बहुवर्षीय ग्राहक बनाउनुको उद्देश्य एउटा ग्राहक सुनिश्चित गर्ने र अर्को सिर्जनात्मक योजना बनाउने रहेको छ । त्योभन्दा पहिला ग्राहक योजना अन्तर्गत गोरखापत्र किन्दा मासिक पत्रिकामध्ये ‘युवामञ्च’ वा ‘मधुपर्क’ वा ‘मुना’ छुटस्वरूप दिने व्यवस्था थियो । पछिल्ला वर्षदेखि त्यसलाई हटाएर हरेक पत्रिकामा प्रतिशतमा रकममै छुट गर्ने गरी योजना ल्याएको जानकारी दिँदै उहाँले भन्नुभयो, “एक वर्षको ग्राहक बन्दा २७ प्रतिशत, दुई वर्षको ग्राहक बन्दा ३३ प्रतिशत र तीन वर्ष र तीन वर्षमाथिको ग्राहक बन्दा ४० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।” ग्राहक योजना कार्यान्वयन आएसँगै गोरखापत्रका नियमित ग्राहक र पाठकबाट राम्रो प्रतिक्रिया आएको उहाँको भनाइ छ । ऐरीका विचारमा यस प्रकारको योजनाले ग्राहक र गोरखापत्र दुवैलाई लाभ भएको छ । ग्राहकले ४० प्रतिशत छुट पाउनुभएको छ भने हाम्रा लागि तीन वर्ष र पाँच वर्षसम्म ग्राहक सुरक्षित हुनुभएको छ । 

छापा माध्यमप्रति आमनागरिकको आकर्षण घटेको भन्ने कुरालाई पनि गोरखापत्रले गलत साबित गर्न सफल भएको बताउँदै महाप्रबन्धक ऐरीले भन्नुभयो, “गोरखापत्रका प्रकाशनको दुईबर्से र तीनबर्से ग्राहक बन्नेको लर्को छ । यसले स्पष्ट हुन्छ भने गोरखापत्रप्रति मानिसको अझै आकर्षण र विश्वास छ भन्ने देखिन्छ ।”

१२५ औँ वर्षमा नयाँ योजना

गोरखापत्र १२५ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा गोरखापत्र १२५ वर्ष पुगेको जानकारी हुने गरी सिर्जनात्मक कार्य गर्नुपर्ने देखिएको छ । महाप्रबन्धक ऐरीले भन्नुभयो “यस पटक विशेष वर्ष भएकाले ग्राहक छुट योजना पनि वर्षभरि नै सञ्चालन ल्याइने छ । जसको उद्देश्य गोरखापत्रको ‘ब्रान्डिङ’ गर्ने रहने छ । पहिलो चौमासिकमा ग्राहक बन्नेलाई धेरै छुट हुने छ भने दोस्रो चौमासिकमा बन्नेले त्यसको आधा छुट पाउने छन् भने अन्तिम चौमासिकमा बन्नेले केही मात्रै छुट पाउने व्यवस्था गर्छौं । एउटै खालको छुट गर्दा सुरुमा ग्राहक बन्नेलाई घाटा हुन्छ ।” अर्को यस अवसरमा हाम्रो ग्राहक योजना ग्राहक सङ्ख्या बढाउने मात्रै सीमित नभएर गोरखापत्र नामको ब्रान्डलाई अझै उचाइमा पुर्‍याउने रहेको छ । जसले निजी क्षेत्रको विज्ञापन बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ । अबको गोरखापत्रले ग्राहक र व्यवसाय दुवै आफैँ खोज्नुपर्ने भन्दै महाप्रबन्धक ऐरीले भन्नुभयो, “त्यसो त गोरखापत्रले व्यापारमा मात्रै केन्द्रित गर्न खोज्ने भन्ने पनि होइन, गोरखापत्र राज्यको सञ्चार माध्यम भएकाले नागरिकप्रतिको हाम्रो दायित्व बढी छ । यस्तो अवस्थामा गोरखापत्र जस्ता राज्यका सञ्चार माध्यममार्फत सत्यतथ्य विषय उजागर गर्नुपर्ने थप दायित्व रहेको छ ।” 

लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।