हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन १० गते । मुस्ताङमा यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ तथा संयुक्त सुरक्षा अभ्यास गरिएको छ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका–४, स्थित जिल्ला खेलकुद विकास कार्यालयको खेलमैदानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन कार्यालयको संयोजनमा संयुक्त निर्वाचन सुरक्षा अभ्यास’ तथा नमुना मतदान अभ्यास गरिएको हो ।
मुस्ताङमा प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो ।
मतदानस्थलभित्र मतदातालाई भयरहित र विश्वसनीय वातावरणमा मतदानको सुनिश्चिताका लागि नमुना अभ्यासले समेत सघाउने प्रजिअ शर्माको भनाइ थियो । निर्वाचन प्रहरी, सरकारी कर्मचारीको उपस्थिती रहेको अभ्यासमा ‘प्रत्यक्ष’ र ‘समानुपातिक निर्वाचन प्रणाली’अन्तर्गत नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभयो ।

निर्वाचनका दिन अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया अभ्यासलाई प्रयोग गरिएको थियो भने अभ्यासका क्रममा मतदानका बेला हुनसक्ने सम्भावित घटना जस्तै मतदान बिथोल्न होहल्ला गर्ने, मतदानस्थलभित्र भिडभाड, मतपत्र च्यातिने अवस्थामा तीन तहको सुरक्षा घेराभित्रबाट भिड नियन्त्रिणको अभ्यास समेत गरिएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, नायब उपरीक्षक छिरिङ कृप्पा लामा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक भेषराज गिरी, राष्ट्रिय अनुसन्धान प्रमुख विष्णुहरी पण्डित लगायतको उपस्थित रहेको थियो । नमुना मतदानमा फागुन २१ गतेको झल्को दिने गरी महिला, पुरुषको लाइनसहित ज्येष्ठ नागरिक तथा अशक्त मतदातालाई प्राथमिकता दिने गरी व्यवस्था गरिएको थियो । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार तीन सय २८ रहेका छन् ।
