• १० फागुन २०८२, आइतबार

मौलिक संस्कृति र संस्कारको मूल्य

blog

नेपाली समाज पश्चिमी संस्कार र संस्कृतिको चपेटाबाट प्रताडित हुँदै आएको भनिन्छ । हाम्रा आफ्नै संस्कार र संस्कृति जीवन र जगत्का लागि महत्वपूर्ण रहेका छन् । हाम्रा संस्कार र संस्कृति पूर्वीय दर्शनको धरातलमा उभिएको छ । त्यसमा पनि हिन्दु दर्शन र बौद्ध दर्शनबाट बढी प्रभावित छ । दर्शनले जीवन र जगत्सम्बन्धी सत्य तथा सामाजिक चेतनाको रूप वा सामाजिक उपयोगितामा आधारित मूल्यको खोज गर्छ । कौटिल्यद्वारा आन्विक्षिकीलाई विद्याका बलाबल पक्षलाई युक्तिपूर्वक विवेचना गरी लोकको उपकार गर्ने, बुद्धिलाई सुख र दुःखबाट माथि उठाई स्थिर बनाउने र प्रज्ञालाई चिन्तन मननका निम्ति सक्षम बनाउने विद्या भनी चिनाएका छन् । 

ग्रिसेली दार्शनिक पाइथागोरसद्वारा फिलोस (प्रेम) र सोफिया (विवेक) शब्दको योग गरी दर्शनलाई विद्याप्रतिको अनुरागका अर्थमा परिभाषित गरिएका छन् । सुकरातले पनि दर्शनलाई सत्य र ज्ञानका रूपमा परिभाषित गरेको र दर्शनलाई जीवनमा आइपर्ने जटिलता र समस्याको समाधान निकाल्ने बाटोका रूपमा मानेका छन् । प्लेटोले दर्शनलाई वस्तुहरूको प्रकृतिका बारेमा ज्ञान प्राप्त गर्ने प्रक्रिया भनी अथ्र्याएका छन् । यसमा पनि पूर्वीय दर्शनले आत्मिक सुख, आशीर्वचन, अरूको भलो गर, आत्मानुशासन, आफैँभित्र संसार खोज्ने अभ्यास गर्नु र न्याय र समानता जस्ता आधारभूत पक्षलाई समेटेको छ । 

पूर्वीय दर्शनमा पनि साङ्ख्य दर्शन, योग दर्शन न्याय दर्शन, वैश्यसिक दर्शन, मीमांस दर्शन, वेदान्त दर्शन, जैन दर्शन जस्ता दर्शन अभ्यासमा रहेका छन् । यही दर्शनमा आधारित भएर नेपाली संस्कार र संस्कृति निरन्तर अघि बढ्दै आएको छ । 

नेपालको संस्कृतिको विकासमा गोपालवंश, महिषपाल, किराँतकाल, लिच्छवि, मल्लकालदेखि आधुनिककालसम्म आइपुग्दा विभिन्न उतारचढाव हुँदै आएको छ । इसाको पहिलो इतिहासदेखि लिच्छविकालीन शासनको अवधिमा विकसित सामाजिक मूल्यमान्यता तथा सांस्कृतिक पक्ष नै नेपाली समाजको आधारभूत संरचना हो । त्यसबेला नै नेपालमा हिन्दु तथा बौद्ध धर्म तथा दर्शनमा आधारित सांस्कृतिक एवं सामाजिक संरचना, लिच्छवि लिपि र संस्कृत भाषा, धार्मिक सहिष्णुताका साथै विभिन्न प्रथा, चाडपर्व जस्ता प्रमुख सांस्कृतिक मूल्य र मान्यतालाई अङ्गीकार गरेको देखिन्छ । यहाँ नवौँ शताब्दीदेखि अठारौँ शताब्दीसम्म मल्ल राजाले शासन गरेका थिए । राजा जयस्थिति मल्लले कामको आधारमा जातीय विभाजन गरी सामाजिक सुधार गरेका थिए । जातीय विविधता, र अन्य विभिन्न कारणले गर्दा त्यसबेलाको सामाजिक संरचना एवं सांस्कृतिक मूल्य मान्यतामा केही जटिल अवस्थाको सिर्जना पनि भएको देखिन्छ । तत्कालीन राजाहरूले परम्परादेखि स्थापित सांस्कृतिक मूल्य मान्यतालाई जीवन्त राख्न सामाजिक सुधारको अभियान नै चलाएका थिए । 

 राज्य एकीकरणको समयमा सामाजिक, सांस्कृतिक क्षेत्रमा त्यति सुधार हुन नसके पनि खस र संस्कृत भाषा, देवानगरी लिपिको प्रयोग, दास प्रथा, सती प्रथा जस्ता सांस्कृतिक विकृतिजन्य परम्परा अन्त्य भयो । त्यतिबेला वर्ण तथा जाति व्यवस्थालाई प्राथमिकता दिइन्थ्यो । तथापि राष्ट्रनिर्माणको कार्य सबैको साझा बगैँचा हो भन्नेमा जोड दिएका थिए । विसं १९१० मा राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले पहिलो मुलुकी ऐन जारी गरे । त्यसमा जातजातिलाई तागाधारी, मतवाली र छोइछिटो हाल्नुपर्ने गरी वर्गीकरण भएको थियो र राणा कालमा सती प्रथाको पूर्ण रूपमा अन्त्य भएको थियो । तत्पश्चात् विसं २००७ मा प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापना भयो । यस परिवर्तनले देशमा सामाजिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा नयाँ परिवर्तन आयो भने विसं २०२० मा नयाँ मुलुकी ऐन जारी भयो । सङ्घीयताको मर्म अनुसारको नेपालमा नयाँ संविधानमा जारी भएको छ, जसले सङ्घीय शासन व्यवस्थाको जग बसाएको छ । यही संविधानलाई टेकेर विसं २०७४ भाद्र १ मा मुलुकी संहिता आएको छ । यसले हाम्रा सामाजिक तथा सांस्कृतिक पक्षमा रहेका गलत अभ्यासलाई सुधार गर्न सहयोग पुगेको छ । 

नेपालका आदिवासी जनजातिले आफ्नो मौलिक एवं विशिष्ट संस्कृतिलाई जीवन्त बनाएका छन् । हिन्दु धर्म तथा दर्शनबाट निर्देशित सामाजिक, सांस्कृतिक बहुलताभित्र पाइने सद्भाव, प्राचीनकालदेखि सांस्कृतिक तादम्यता, जाति तथा वर्ण व्यवस्थामा आधारित सांस्कृतिक परम्परा, विविध जातजातिका आआफ्नै संस्कार, कला तथा वास्तुकलाको भण्डार, पितृ सत्तात्मक सामाजिक, सांस्कृतिक स्वरूप आदि जस्ता पक्षलाई नेपाली संस्कृतिको प्रमुख विशेषता मानिन्छ । नेपालको संस्कृतिमा पूर्वीय दर्शनले स्थापित गरेका मूल्यमान्यताको प्रभाव उल्लेखनीय छ । परमात्मा, जीवात्मा तथा जगत् तìव पूर्वीय दर्शनको महत्वपूर्ण पक्ष हो, जसलाई नेपाली संस्कार र संस्कृतिको समेत आधार मान्ने गरिन्छ । नेपाली संस्कृतिमा स्वर्ग तथा नरक सम्बन्धित धारणा व्यापक रूपमा छ । जुनसुकै जातजाति, जनजाति समुदायले आफूले यस जन्ममा गरेको कर्मले भोलिको स्थान तय गर्छन् भन्ने जनविश्वास छ । 

जीवनले मोक्ष प्राप्त नगरुन्जेल निरन्तर कुनै न कुनै रूपमा आत्माले जन्म लिइरहन्छ भन्ने विश्वास छ । धर्म, अर्थ र काम कुशलतापूर्वक सम्पादन गरेमा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास नेपाली संस्कृतिमा छ । नेपाली संस्कृति लोकजीवनमा पनि आधारित छ । त्यसैले साहित्य, सङ्गीत, कला लोकसंस्कृतिको मूल स्रोतका रूपमा नेपाली संस्कृतिलाई लिइन्छ । नेपाली जनजातिका मौलिक सांस्कृतिक र परम्परा यस मुलुकका सांस्कृतिक सम्पदा हुन् । वैदिक सनातनका मूल्यमान्यता र परम्परा नेपाली समाजको लागि मार्गदर्शक सिद्धान्त बन्दै आएका छन् । नेपालमा बसोबास गर्ने प्रत्येक जातजाति समुदायमा कुनै न कुनै रूपमा पूर्वीय दर्शनको प्रभाव छ । नेपाली संस्कृतिमा हिन्दु धर्म र दर्शन अनुसार स्थापित धारणा स्वीकार गरिएको छ । देव ऋण, ऋषि ऋण र पितृ ऋणबाट जन्मना साथ ऋणी हुने र यस्ता ऋण मोचनपछि मात्र मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता नेपाली संस्कृतिले अद्यपि स्वीकार गरेको छ । 

अर्कातर्फ हिन्दु धर्म र दर्शनमा स्थापित मान्यता अनुसार ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ र भूतयज्ञ यी पाँच यज्ञ सम्पन्न गरेपछि मात्र मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास लिने गरिन्छ । संस्कारगत कार्य नगरी परिवार, कुल कुटुम्ब शुद्ध नहुने, व्यक्तिको शारीरिक, बौद्धिक एवं मानसिक विकास नहुने उल्लेख छ । धर्मप्रति विश्वास गर्नु र सबै धार्मिक सम्प्रदायलाई समान रूपमा महìव दिनु पर्छ भन्ने मान्यतालाई पूर्वीय दर्शनले स्वीकार गरेको छ । हिन्दु धर्म एवं दर्शनले स्थापित गरेको अग्नि, जल, वायु, पृथ्वी र आकाशलाई पञ्चभौतिक तìव मानिन्छ । यी पञ्च तìवलाई नेपाली समुदायमा कुनै न कुनै रूपमा स्वीकार गरी श्राद्ध, भक्ति, अर्पण गर्ने परम्परा छ । सृष्टि तथा प्रलयसम्बन्धी अवधारणा नेपाली संस्कृतिमा परम्परादेखि स्थापित मान्यता हो । ज्योतिष विज्ञान, पञ्चाङ्ग विज्ञान, नीति विज्ञान, कालगणना हिन्दु धर्म र दर्शनले स्थापित गरेका सांस्कृतिक मूल्य मान्यता हुन् । बुद्ध दर्शनले पनि मानव कर्मलाई स्पष्ट उल्लेख गरेको छ । धार्मिक सहिष्णुता नेपाली संस्कृतिको महत्वपूर्ण विशेषता हो । कर्म मार्ग, ज्ञान मार्ग, भक्ति मार्ग र योग मार्ग ईश्वरसमक्ष पुग्ने वा मोक्ष प्राप्तिको महत्वपूर्ण पक्षका रूपमा हिन्दु धर्मशास्त्रले अगाडि सारेको मान्यता हो । 

 नेपालीको सांस्कृतिक परम्परा र समुच्च जीवन प्रणाली, धार्मिक आस्था, विश्वास र निष्ठा जस्ता कार्य पूर्वीय दर्शनकै कारण प्रभावित हुँदै आएको छ । पूर्वीय परम्परामा धर्म, दर्शन र संस्कृतिबिच अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । संस्कृतिले हाम्रा मौलिक, धार्मिक परम्परा, चाडपर्व, सामाजिक, सांस्कृतिक सङ्घ, सङ्गठन, भाषा, नृत्य, सङ्गीत, वाद्यवादन, कला, वास्तुकला, धामीझाँक्री परम्परा, भूतप्रेत, चिकित्सा प्रणाली, आस्था, व्यवहार, प्रचलित जनश्रुति, किंवदन्ती, काव्य, नाट्य, कथा र इतिहास जस्ता सन्दर्भ आउँछन् । हाम्रो रहनसहन, खानपान, गरगहना, वाद्यवादन, मठमन्दिर, पाटीपौवा, गुम्बा, स्तुपा, दरबार आदि जस्ता मूर्त सांस्कृतिक सम्पदाका साथै भाषा, साहित्य, सङ्गीत, कला र सामाजिक व्यवहार हाम्रा सांस्कृतिक धरोहर हुन् । यी सम्पदाका आधारमा हाम्रो जातजातिको पहिचान स्थापित भएको छ । पूर्वीय दर्शनकै कारणले नेपाली समाज र संस्कृतिको संरक्षण र संवर्धन गर्ने कार्यमा सहयोग पुगेकाले यसको महìव र सान्दर्भिकता अझै कायमै छ । नेपालमा पश्चिमी संस्कृतिको नाममा मौलाउँदै आएका विकृतिलाई हटाउँदै राम्रा र अनुसरणयोग्य सस्कार र संस्कृतिलाई निरन्तरताको खाँचो छ । 

कतिपय विद्वान् हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाको दोष हामीले अवलम्बन गर्दै आएको पूर्वीय दर्शनलाई दिने गर्छन् । यसकै कारण अर्थतन्त्रको अवस्था र नेपालीको आरोग्यको अवस्था अपेक्षित सुधार भएन भन्ने गरेका छन् । यो भाष्य कति सत्य होला त चर्चा र परिचर्चा गर्न सान्दर्भिक हुन्छ । पूर्वीय दर्शनमा प्राय सबैजसो ग्रन्थ चारवाकलाई छोडेर हेर्ने हो भनै कर्म सिद्धान्तलाई आदर्श मान्ने हुँदा कर्मको व्याख्यासहित असल नियतले गर्ने असल कर्मले आर्थिक अनुसासन, कायम गर्न सघाउँदै आएको छ । यसले मूलतः धर्म, मर्म, कर्म र मोक्षलाई केन्द्रमा राख्ने गर्छ । नेपालको अर्थतन्त्रमा यही दर्शनको धरातलमा बनेको नैतिकता, सामाजिक न्याय र दिगो विकासको सिद्धान्तमार्फत सकारात्मक प्रभाव पारेको कुरालाई कम आँक्न हुन्न । मूलतः पूर्वीय दर्शनका केही पक्षले धार्मिक पर्यटन, वित्तीय व्यवस्थापन तथा आर्थिक नीतिमा सकारात्मक योगदान दिँदै आएको छ । 

हिन्दु दर्शनले वित्तीय व्यवस्थापनमा न्यायपूर्ण वितरण, घाटा न्यूनीकरण र आपूर्ति माग सन्तुलन राख्न सहयोग गर्दै आएको छ । यसले उत्पादन, विनिमय र वितरण प्राप्तिका लागि गर्न प्रेरित गर्छ । आर्थिक स्थिरता कायम राख्न सघाउँछ पनि । धार्मिक चाडपर्वले कृषि, पशुपालन र स्थानीय व्यापारलाई प्रवर्धन गरेको छ । सही आचरणसहितको अर्थतन्त्र र दिगो विकासलाई जोड दिँदै असमानता, गरिबी र उपभोक्तावादविरुद्ध सन्तुलित आर्थिक प्रणालीको वकालत गर्न सघाएको छ । नेपालको अर्थतन्त्रमा धार्मिक पर्यटनको माध्यमद्वारा जिडीपीमा योगदान पु¥याएको छ । जसले स्थानीय रोजगारी र हस्तकला उद्योगलाई बलियो बनाएको छ । 

पूर्वीय दर्शनकै कारण विकासको पथमा सकारात्मक देखिए पनि यसकै जगमा बनेको हाम्रा सामाजिक मूल्यमान्यता तथा संस्कारको कारण अर्थतन्त्रका केही पक्षमा भने नकारात्मक असर गरेको भन्ने छ । हाम्रा सामाजिक संस्कार खानपिन तथा आहार विहारले पनि अर्थतन्त्रमा त्यत्तिकै प्रभाव पार्ने गरेको छ । हाम्रो खाद्य संस्कारमा आएको परिवर्तनका कारण खाद्य उत्पादन जस्तो जौ, कोदो, करु, तथा मकैलाई दैनिक भोजनका रूपमा लिन छाडेको छ । यसबाट चामलको आयत बढेको छ भने जङ्कफुड खाने संस्कारको विकासले गर्दा हाम्रा पुराना खाद्य उपभोग गर्ने संस्कारमा परिवर्तन आएको छ । हाइब्रिट उत्पादन, केमिकलयुक्त उत्पादनले हाम्रा जैविक प्रविधियुक्त उत्पादनका प्रविधिसमेत धरासायी भएको छ । 

नेपालीको परिवर्तित सामाजिक संस्कारकै कारणले कृषि पेसालाई हेयको क्षेत्र बनाएको छ । कृषि पेसालाई समाजमा हेलाको पेसा मान्ने र त्यस क्षेत्रको जनशक्ति पलायन हँुदा खाद्यान्न उत्पादन खुम्चिएको छ । जसको कारण नेपालको व्यापार घाटा बढ्दै छ । आयात प्रतिस्थापना गर्न पनि हाम्रा पूर्वी दर्शनका जगमा बनेको अनुसरणयोग्य सामाजिक मूल्यमान्यता तथा संस्कारलाई उन्नत प्रविधिसँग तादाम्यता कायम गरी अघि बढ्न आवश्यक छ । यसो गरेमा मौलिक संस्कृतिको संरक्षण भई नेपालीको आरोग्यमा समेत सुधार हुने अपेक्षा गर्न सकिन्छ ।