काठमाडौँ, पुस २९ गते । माघेसङक्रान्तिमा माग र खपत बढी हुने कन्दमूल (तरुल, पिँडालु र सखरखण्ड) को आपूर्ति र मूल्य गत वर्षको भन्दा बढेको छ । उपत्यकाका बजारमा ती कन्दमूलको आपूर्ति बढे पनि माग धेरै भएकाले मूल्य बढेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार तरुलको मूल्य न्यूनतम ६० रुपियाँदेखि अधिकतम २५० रुपियाँ थोक मूल्यमा कारोबार भएको छ । जबकि गत वर्ष सोही अवधिमा तरुलको न्यूनतम मूल्य ५५ रुपियाँ र अधिकतम दुई सय रुपियाँ थोकमा थियो । समितिका सूचना अधिकारी विनय श्रेष्ठले यस पटक कारोबार भएको तरुलमा सबैभन्दा सस्तो सिमलतरुल प्रतिकेजी ६० रुपियाँ र सबैभन्दा महँगो वनतरुल प्रतिकेजी २५० रुपियाँ थोकमा किनबेच भएको जानकारी दिनुभयो ।
तरुल तुलनात्मक रूपमा विषादीरहित हुने, जस्तोसुकै रोगी र निरोगी सबैले उपभोग गर्न मिल्ने भएकाले पछिल्लो समयमा यसको माग बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार हात्तीपाइले तरुल प्रतिकेजी ८० रुपियाँ, आकासे तरुल प्रतिकेजी १२० रुपियाँ, घरतरुल प्रतिकेजी ६० रुपियाँ, पत्तालेतरुल प्रतिकेजी १३० रुपियाँ, मुडेतरुल प्रतिकेजी ७० रुपियाँ, इस्कुसको जरा प्रतिकेजी दुई सय रुपियाँ थोकमा कारोबार भएको छ ।
यस्तै पिँडालु प्रतिकेजी औसत मूल्य गत वर्ष ७० रुपियाँ रहेकामा अहिले ९० रुपियाँ, सखरखण्ड प्रतिकेजी औसत मूल्य ७० रुपियाँ रहेकामा अहिले ८० रुपियाँ छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार पुस १ देखि २८ गतेसम्म १६ लाख छ हजार सात केजी तरुल, पाँच लाख ५५ हजार ५७७ केजी पिँडालु र १० लाख ७६ हजार १६८ केजी गरी कुल ३२ लाख ३७ हजार ७५२ केजी कन्दमूल आएको छ । गत वर्ष यस अवधि १४ लाख २८ हजार ५३८ किलो तरुल, चार लाख ९४ हजार १०६ केजी पिँडालु, पाँच लाख ३१ हजार २८३ केजी सखरखण्ड गरी कुल २४ लाख ५४ हजार ८७ केजी कन्दमूल भित्रिएको थियो ।
समितिका प्रवक्ता विनय श्रेष्ठले तरुल गत वर्षभन्दा कम आयात भएकाले मूल्य बढेको जानकारी दिनुभयो । उहाँले बजारमा तरुल माघभर नै भित्रिने गरेको र अहिलेसम्मको अवस्था हेर्दा बजारमा गत वर्षभन्दा कम तरुल आउने देखिएको जानकारी दिनुभयो ।
बजारमा अहिलेसम्म तराई र पहाडी जिल्लाबाट पनि तरुल आइरहेको र पहाडबाट आउने तरुल महँगो भएकाले अधिकांश उपभोक्ताको रोजाइ तराईबाट आउने तरुलमै रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा अहिलेसम्म तराईका जिल्लाबाट आउने घरतरुल, हात्तीपाइले र फाटफुट रूपमा सिमलतरुल आएको छ । वनतरुल, पत्तालेतरुल, पहाडको घरतरुल भने बजारमा थोरै मात्रै भित्रिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
कालीमाटीका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बजारको ठुलो हिस्सा तराईका घरतरुलले ओगटे पनि मूल्यका हिसाबले पहाडबाट आउने पत्तालेतरुल, वनतरुल, इस्कुसका जरा महँगो हुने गरेको बताउनुभयो । यी जातका तरुल स्वादिलो हुने तर थोरै मात्रै आउने र माघेसङ्क्रान्तिमा बढी माग हुने भएकाले मूल्य महँगो हुने उहाँको भनाइ छ ।
समितिका अनुसार कालीमाटी बजारमा भित्रिएको तरुलमध्ये ४८ प्रतिशत सर्लाही र सात प्रतिशत सुनसरी, पाँच प्रतिशत धादिङ, भारतबाट आठ प्रतिशत र बाँकी झापा, चितवन, गोरखा, मकवानपुर, नवलपरासी, मोरङलगायतका जिल्लाबाट आएको छ । गत वर्षभन्दा यो वर्ष भारतबाट आउने तरुलको परिमाण घटेको छ ।