• १० फागुन २०८२, आइतबार

लमजुङमा अवरुद्ध राहदानी सेवा आजबाट सुरु हुँदै

blog

जिल्ला प्रशासन कार्यालय लमजुङ । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, फागुन १० गते ।
जिल्ला प्रशासन कार्यालय लमजुङमा १२ दिनदेखि बन्द राहदानी सेवा आइतबारबाट सुचारु हुने भएको छ । राहदानीसम्बन्धी भेरिफिकेशन र वितरण सेवा कम्प्युटरमा प्राविधिक समस्या आएपछि गत माघ २९ गतेबाट सेवा अवरुद्ध हुँदै आएको थियो ।

राहदानी विभागबाट समस्या समाधानगरी कम्प्युटर आइसकेकाले राहदानी सेवा आइतबारबाट सुचारु हुने सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिनुभयो । सुरक्षाका कारण राहदानी विभागबाट प्राप्त आधिकारिक कम्प्युटरमार्फत मात्र सेवा दिन सकिने भएकाले वैकल्पिक व्यवस्था गर्न सम्भव नभएका कारण १२ दिनदेखि सेवा अवरुद्ध हुँदै आएको थियो । सेवा अवरुद्ध हुँदा जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएका सेवाग्राही त्यतिकै फर्कनुपरेको छ ।

राहदानी विभागले सेवा दिन मिल्ने एउटा मात्र कम्प्युटर उपलब्ध गराएका कारण समस्या झेल्दै आउनुपरेको सहायक प्रजिअ गौतमले बताउनुभयो । यसअघि दुईवटा कम्प्युटर भए पनि एउटा कम्प्युटर विग्रिएर मर्मत हुन सकेको छैन् । बाँकी एउटा कम्प्युटरमा पनि समस्या आएपछि सेवा पूर्णरुपमा अवरुद्ध हुन पुगेको थियो ।

यद्यपि जिल्ला प्रशासन कार्यालय लमजुङले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा मात्रै एकहजार एकसय ५८ थान राहदानी विवरण दर्ता गरिसकेको छ । कात्तिक महिनादेखि पुस मसान्तसम्मको अवधिमा एकहजार ९० राहदानी वितरण भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।