• १० फागुन २०८२, आइतबार

रौतहटको गौरमा लम्बियो कर्फ्यु

blog

जिल्ला प्रशासन कार्यालय रौतहट

प्रवीणकुमार शर्मा 
रौतहट, फागुन १० गते ।
जिल्ला प्रशासन कार्यालय रौतहटले फागुन ९ गते शनिवार दिउँसो १ बजेदेखि जारी गरेको कर्फ्यु आदेश अर्को आदेश नहुन्जेलसम्मका लागि थप गरिएको छ ।

धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि शनिबार रातिदेखि लगाइएको कर्फ्यु आइतबार बिहान ८ः३० बजेदेखि  पुनः लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारि दिनेश सागर भुषालले शनिबार दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यु आइतबार बिहान ६ः३० बजेसम्म रहने बताउनुभएको थियो । आइतबार बिहान ६ः३० देखि ८ः३० बजेसम्म कर्फ्यु आदेश खुकुलो पारिएको उहाँले जानकारी दिनुभयो । अत्यावश्यक कार्यका लागि दुई घण्टा खुकुलो पारिएको जानकारी दिनु हुँदै प्रमुख जिल्ला अधिकारि भुषालले सो अबधिमा कुनै भेला, जुलुस तथा प्रदर्शन गर्न नपाइने बताउनुभयो ।

आइतबारदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु रहने उहाँले जानकारी दिनुभयो । पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

उहाँका अनुसार विवादको समाधान खोज्ने प्रयास भइरहेको छ । प्रदर्शनकारीहरूले शनिबार ६ वटा मोटरसाइकल र दुई जिपमा आगजनी गरेको छ  ।

बिहिबार राति सवगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिद अगाडि अवरोध भएपछि विवाद चर्किएको थियो ।

विवाद उग्ररुप लिएपछि स्थति सहज पार्न शुक्रबार साँझ भएको वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याइए पनि कार्यान्वयन नभएपछि स्थति साम्य पार्न जनमत पार्टिका रौतहट जिल्ला संयोजक तथा गौर –६ का पूर्व वडा अध्यक्ष शेख जमसैद र गौर –६ का वर्तमान वडा अध्यक्ष अवध बिहारी साहलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारि भुषालले जानकारी दिनुभयो । सामाजिक सद्भावमा खलल पुर्याउने, ढुङ्गा मुडा गर्ने दर्जनौं व्यक्तिलाई यस अघि नै जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको थियो ।