• २० भदौ २०८२, शुक्रबार

नेपालगन्ज उपमहानगरपालिकालाई ‘एनिमल एम्बुलेन्स’ हस्तान्तरण

blog

नेपालगन्ज उपमहानगरलाई हस्तान्तरण गरिएको ‘एनिमल एम्बुलेन्स’ । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, भदौ २० गते ।
दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरहरुलाई अस्पताल वा सेल्टरसम्म पुर्‍याउन सहज होस भन्ने उद्देश्यले एनिमल नेपालले नेपालगन्ज उपमहानगरपालिकालाई ‘एनिमल एम्बुलेन्स’ हस्तान्तरण गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमका बिच एनिमल नेपालका अध्यक्ष शोभा रायमाझीले नेपालगन्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै एनिमल नेपालका अध्यक्ष रायमाझीले नेपालगन्जका विभिन्न स्थानमा चौपाया दुर्घटनामा परी वा बिरामी भएर घाइते भएका  चौपायाको उद्धार गर्न समस्या हुने गरेको गुनासाहरु बढेपछि यो एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो ।

एम्बुलेन्स ग्रहण गर्दै नगरप्रमुख विष्टले यो एम्बुलेन्सको सहायताले विभिन्न कारणले दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरहरुलाई अब अस्पताल वा सेल्टरसम्म पुर्‍याउन सहज हुने बताउनुभयो ।

उहाँले छाडा चौपाया सडकमा दुर्घटनामा परेर घाइते भएपछि उनिहरुको उद्धारमा समस्या आउने गरेकोमा अब सो समस्या समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाको पशु शाखा प्रमुख अच्युत गौतमले एम्बुलेन्सको अधिकतम उपयोग गरिने प्रतिबद्धता व्यक्त गर्दै सो अवसरमा पशुको उद्धार र व्यवस्थापनमा ‘एनिमल एम्बुलेन्स’ ले सजिलो बनाउने बताउनुभयो ।

एनिमल एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरका नगर उपप्रमुख कमरुद्दिन राई, पशु शाखाका पशु चिकित्सक डा. आशिष थारु, एनिमल नेपालका डा. अतिश यादव, डा. सजना थापालगायतको उपस्थिति थियो ।