• २० भदौ २०८२, शुक्रबार

२३ औं जेसीज कप फुटबल प्रतियोगिताक मङ्सिर दोस्रो हप्ता हुने

blog

एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको प्रतियोगितबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर :अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ २० गते ।
म्याग्दी जेसीजको आयोजनामा हुने अन्तरमाध्यमिक विद्यालय(कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी मङ्सिर ८ देखि १३ गतेसम्म हुने भएको छ ।

एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको प्रतियोगितबारेमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी म्याग्दी जेसीजले जानकारी गराएको हो । २२ औं संस्करणदेखि प्रायोजन सम्झौता गरेको एभरेष्ट ग्लोबलले पाँच संस्करणका लागि एक लाखका दरले नगद उपलब्ध गराउने छ ।

२३ औं जेसीज कप फुटबल प्रतियोगिताका संयोजक तथा म्याग्दी जेसीजका कोषाध्यक्ष नवीन पौडेलले प्रतियोगिताका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार प्रतियोगितामा पहिलो हुनेले रनिङ शिल्डसहित ट्रफी, प्रमाणपत्र र नगद ५५ हजार पाँच सय ५५ रुपियाँ पाउनेछन् । त्यस्तै दोस्रो हुनेले ३५ हजार पाँच सय ३५ रुपियाँ नगद ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, मिडफिल्डर, राइजीङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगदसहित पुरस्कृत गरिनेछ । त्यस्तै, अनुसासित टिम र सेमिफाइनल पुग्ने टिमलाई पनि नगदसहित सम्मान गर्ने म्याग्दी जेसीजका अध्यक्ष विनोद घर्तीले जानकारी दिनुभयो ।

सन् १९९९ मा म्याग्दी जेसीजको स्थापना भएपछि सन् २००० देखि म्याग्दीमा जेसीजकप फुटबल प्रतियोगिताको थालनी भएको थियो । जेसीजको अगुवाइमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाउन पाउने फुटबलको सुरुआत गरेर जेसीजले नयाँ कदम चालेको थियो । सोही प्रतियोगिताको २२ औं संस्करणको उपाधि माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको थियो ।