• २० भदौ २०८२, शुक्रबार

‘आयुर्वेद हाम्रो प्राचीन पहिचान’

blog

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौँडाको निरीक्षण गर्नु हुँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ । तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता 

हेटौँडा, भदौ २० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आयुर्वेदिक पद्धति हाम्रो प्राचीन पहिचान भएको बताउनुभएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौँडाको बिहीबार निरीक्षण गर्दै उहाँले आयुर्वेदिक सभ्यतासँग जोडिएको स्पष्ट पार्नुभयो । “हाम्रा ऋषिमुनिले गरेको पद्धति यही हो । यथार्थ मान्छेको जीवन, माटो, विभिन्न उत्पादन प्रक्रिया र वनस्पतिसँग आयुर्वेदिक पद्धति जोडिन्छ,” मुख्यमन्त्री बानियाँले भन्नुभयो । 

चिकित्सालय निरीक्षणका क्रममा उहाँले १६ शय्याको आयुर्वेदलाई २५ शय्यामा लैजाने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आवश्यक उपकरण खरिदका लागि पनि अर्थ मन्त्रालयबाट प्रक्रिया पूरा गरी कार्य अगाडि बढाइने बताउनुभयो । उहाँले आयुर्वेद गरिबका लागि सजिलो उपचार पद्धति भएको बताउँदै गरिबले सेवा पाउने पद्धति नै आयुर्वेद भएको जिकिर गर्नुभयो । 

मेडिकल डाक्टर र एलोपेथिक महँगो रहेको तर आयुर्वेदिक सस्तो र न्यून शुल्कमा सेवा प्राप्त गर्ने ठाउँ भएकाले राज्यले यसलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । “राज्य भनेको गरिबका लागि हो, त्यसैले गरिबलाई निरोगी र स्वस्थ बनाउन सरकारले गरिबमुखी सेवालाई प्रभावकारी बनाउन प्राथमिकता दिने छ,” उहाँले भन्नुभयो ।

पछिल्लो समय आमजनमानसको आयुर्वेद चिकित्साप्रति विश्वास र आकर्षण बढेसँगै सेवाग्राहीको पनि बाक्लो उपस्थिति छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका प्रमुख डा. ललिता पाण्डेका अनुसार विगतभन्दा दिनप्रतिदिन आयुर्वेदप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधीले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । विशेष गरी ग्यास्ट्रिक, हाडजोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघाखोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेका पाण्डेको भनाइ छ ।

निरीक्षणमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रवक्ता तथा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल चिकित्सालय व्यवस्थापन समितिका पदाधिकारी, चिकित्सकलगायतको उपस्थिति थियो ।