• १६ भदौ २०८२, सोमबार

आमाले २० महिनाकी छोरी छाडेर हिँँडेपछि बच्चाको बिचल्ली

blog

नातिनीलाई अस्पतालमा उपचारका लागि ल्याएकी हजुरआमा र बेपत्ता भएकी बालिकाकी आमा । तस्बिरः शङ्कर केसी

शङ्कर केसी

सल्यान, भदौ १६ गते । जन्म दिने आमाले आफ्नो २० महिनाकी छोरीलाई छाडेर घरबाट हिँडेपछि बालिकाको बिचल्ली भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका –१ पटारे निवासी आमा दिला गिरीले आफ्नी छोरी दुधे बालक दीपा गिरीलाई छाडेर हिँडेपछि कारुणिक अवस्था सिर्जना भएको छ । 

बालिकाका बुवा टीकाराम गिरीको गत पुसमा मृत्यु भएको थियो । बुवाको मृत्युपछि टुहुरी बनेकी दीपा अहिले आमा बेपत्ता हुनासाथ थप बिचल्लीमा परेकी छन् । उनी मावली घर सिद्धकुमाख –२ सालघारीमा बस्दै आएकी छन् । माइतीघरमै बसिरहेको अवस्थामा गत असार ३२ गतेका दिन बिहानै खाना नखाएर २० महिने बालिका दीपाकी आमा घर छाडेर हिँडेपछि अबोध बालिकाको बिचल्ली भएको हो । 

अहिलेसम्म खोजी गर्दा पनि सम्पर्कमा आउन नसकेको बालिकाकी मावली हजुरआमा धाइरी बाेहराले बताउनुभयो । घर छाडेको दुई दिनपछि आफूले मोबाइलमा छोरीसँग कुरा गर्दा गाडीमा चढेर भारत जान लागेको बताए पनि त्यसपछि सम्पर्क टुटेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “मेरो एकमात्र छोरी हो, कस्ती छोरी जन्माएँछु । दुधे बालखलाई अलपत्र छाडेर कोसँग कहाँ हिँडी । आफैंले जन्म दिएको सन्तानको पनि माया नहुने कस्तो निर्दयी रैछे ।”  

पछिल्लो पटक नातिनी दीपा धेरै बिरामी परेपछि उनको जीवनरक्षाका लागि श्रीनगरमा उपचारका लागि हजुरआमा आउनुभएको छ । अति न्यून दृष्टिको समस्याका कारण आफैं बिरामी अवस्थामा रहेकी हजुरआमा धाइरीले नातिनीलाई श्रीनगरस्थित सल्यान कर्णाली अस्पतालमा भर्ना गर्नुभएको छ । उपचारका लागि पैसासमेत नभएपछि अस्पतालले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । 

हिमालयन लाइफ इन्स्योरेन्स श्रीनगरका शाखा प्रबन्धक दीपेन्द्रकुमार शाहीले उहाँहरुको खानाको व्यवस्थापन गरिदिनुभएको छ । अस्पतालका पदाधिकारीहरुको भनाइअनुसार बालिकाको स्वास्थ्य अवस्था कमजोर छ । हेरचाह आवश्यक छ । मावली धाइरीले नातिनीको स्याहारसुसार गर्न निकै कठिन भएको बताउनुभयो । 

“म आफैं आँखा नदेख्ने, शरीरले पनि साथ दिँदैन । नातिनीको माया त धेरै लाग्छ, तर हेरचाह गर्न गाह्रो हुन्छ” उहाँले पीडा सुनाउनुभयो । बालिकाको बुवाको निधन भइसकेको छ । आमा बेपत्ता भएपछि घरपरिवारमा अरु कोही नहुनु र मावली घरमा अशक्त हजुरआमाको काखमा २० महिनाकी अबोध बालिकाको बिचल्ली छ । 

आमा बेपत्ता भएपछि केही समय अघिसम्म लगातार रुने कराउने गरेकी उनी अहिले विस्तारै आमालाई बिर्सदै गएकोजस्तो देखिने घरपरिवारले जनाएको छ । अहिले दीपा आफ्नो मामासँग सुत्छिन् । तर पनि आमाको माया र स्नेहको कमी उनलाई खड्किरहेको छ । 

“नानीको अवस्था अत्यन्त कारुणिक छ, समाजका अरुले पनि सहयोग गर्नुपर्ने अवस्था छ” हिमालयन लाइफ इनस्योरेन्स श्रीनगरका शाखा प्रबन्धक शाहीले भन्नुभयो । बालिकाको आमाको खोजीका लागि माइती परिवारले सबैसँग सहयोगको याचना गरेको छ ।