• १६ भदौ २०८२, सोमबार

पहिरो खस्दा घरसहित चौपाया पुरिए

blog

सुर्नया गाउँपालिका –२, कठनोलीमा पहिरोले पुरिएको घर । तस्बिर सौजन्यः देवबहादुर चन्द

गोकर्ण दयाल

बैतडी, भदौं १६ गते । डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि एकजना ज्येष्ठ नागरिक गम्भीर घाइते हुनुभएको छ । 

घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको छ । सुर्नया गाउँपालिका –२, कठनोली (चौपाता) मा डोजरले खनेको सडकबाट आइतबार दिउँसो पहिरो खस्दा स्थानीय गिरिश चन्दको आठ कोठे र रेखा चन्दको चार कोठे घरसहित पशु चौयामा पुरिएका छन् । 

पहिरोमा परी ९० वर्षीय गोदावरी चन्द गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले बताउनुभयो । दिउँसोको समयमा पहिरो खसेकाले परिवारका सदस्य भाग्न सफल भए पनि दुबै परिवारको घर, पाँचवटा गाई, चारवटा बाच्छी, १५ वटा बाख्रा पहिरोमा पुरिएको स्थानीय देवबहादुर चन्दले बताउनुभयो । 

विस्थापित परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । सामाजिक अगुवा चन्दले अबिर वर्सा र डोजरले सडक खन्दा पहिरो खसेको बताउनुभयो । उहाँले पहिरो खसेको २४ घण्टासम्म नेपाल प्रहरी बाहेक गाउँपलिका प्रमुख–उपप्रुमख घटनास्थलमा नआएको गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, “विस्थापित परिवारको सर्वस्व गुम्यो । अहिलेसम्म राज्यका नियकाय पीडित परिवारको घरमा पुग्न सकेका छैनन् ।” सतबाँझ–श्रीभावर सडक खण्डबाट सुर्नयाको कठनोली ग्रामीण सडक दुई वर्षदेखि निर्माण भइरहेको छ । डोजरले जथाभावी सडक खन्दा यहाँ गएको हिउँदमा खानेपानीका मुहानसमेत पुरिएको स्थानीको गुनासो छ ।

झुलाघट र गिरेगाडामा पहिरो 

अविरल वर्साले झुलाघट बजारनजिक पहिरो खस्दा सवारीसाधन रोकिएका छन् । त्यसैगरी देहिमाण्डौं–गिरेगाडा सडक खण्डमा दुई दिनअघि खसेको पहिरो वर्साको कारण पन्छाउन सकिएको छैन । सडकमा पहिरो खसेपछि दहिमाण्डौंबाट ग्वाल्लेक, गिरेगाडा जाने सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।