टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), भदौ १६ गते । गुल्मीको मुसिकोट नगरपालिका–३ कोे साना किसान कृषि सहकारी संस्थाले पहाडी भेगमा उत्पादन हुने पोषिलो मकैको आटो औपचारिक रुपमा बजारिकरण गरेको छ । आटो बजारिकरणको शुभारम्भ मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले गर्नुभयो ।
सोही अवसरमा बोल्दै खरेलले स्थानीय उपजमा आधारित उद्योग र उद्यम व्यावसाय नगरको प्राथमिकतामा रहेको बताउँदै मकैपछि कोदो र फापर समेतको पीठो समेत बजारीकरण हुने बताउनुभयो । उहाँले साना किसान जस्तै अरु उद्यमीहरुसँग पनि आफुहरु साझेदारी गर्न र सहयोग उपलब्ध गराउन सधैँ आतुर रहेको बताउनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीले आटोको ब्राण्डिङ्गमा ठुलो सहयोग गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रबाट भवन निर्माणदेखि मकैको आटो बजारीकरणसम्म ७३ लाख रुपियाँ र साना किसानको १६ लाख ५० हजार रुपियाँ खर्च भएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले जानकारी दिनुभयो ।
सहकारीले स्थानीय किसानहरुको मकै प्रति पाथी दुई सय रुपियाँमा खरिद गरी प्रशोधन र लेबलिङ्ग, प्याकेजिङ गरेर बजारमा पठाइएको छ । अहिले प्रतिकिलोे १३० रुपियाँ पर्ने प्याकेट र २५ किलोको बोरामा आटो बजारमा पठाइएको छ । कम्तीमा ३५ टन आटो बिक्री गर्ने लक्ष्य सहकारीको रहेको छन्तेलले बताउनुभयो । आटोलाई तम्घास, वुटवल र काठमाण्डौसहित नेपालभरका साना किसान सहकारी संस्थाहरुमा उपलब्ध हुनेछ ।
उहाँले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै गाउँको गुणस्तरिय उत्पादनको उपभोग सहरसम्म पुर्याउने आफुहरुको उद्देश्य रहेको बताउनुभयो । मध्य पहाडी भेगमा उत्पादित मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकै स्वास्थ्य र स्वादको हिसाबले राम्रो हुने भएकाले सहकारीमार्फत मुसिकोटे आटोको बजारिकरण गरिएको छ ।
आफुहरुले ८५ प्रतिशत अनुदानमा प्रशोधन गर्ने उपकरण, लेवलिङ्ग र प्याकेजिङ्गमा सहयोग उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख रमेश जैसवालले जानकारी दिनुभयो । साना किसान कृषि सहकारी क्षेत्रको कार्यक्षेत्र मुसिकोट नगरपालिका २, ३, ४ हो । सहकारीको स्थापना २०६३ साल भएको थियो । सहकारीले एकीकृत नमुना कफी बगैचा विस्तार कार्यक्रममार्फत वडागाउँको धारापानीमा १६० रोपनी क्षेत्रफलमा १२ हजार कफीका विरुवा ४०० सुन्तला, ६०० एभोकाडो र १०० मेकाडिनियाँ नटका बिरुवा रोपेको छ । एक हजार ३५१ शेयर सदस्य आवद्ध सहकारीको कुल शेयर पुँजी ८९ लाख, बचत १४ करोड ९० लाख र कल पुँजी २० करोड १३ लाख रुपियाँ रहेको व्यावस्थापक विवेक पेमीमगरले बताउनुभयो ।
गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । बर्सेमकै २० हजार ५१३ र बसन्ते एक हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जिल्लामा वर्षे मकै ७१ हजार २०५ मेट्रिकटन र बसन्ते मकै पाँच हजार ९६७ मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा करिव ७० प्रतिशत किसानले हाइब्रिड जात अर्थात् सिपी र जेके मकै धेरै लगाउने गरेका कारण जिल्लाको रैथाने बाली हराएर जाने समस्या देखिएको छ । गतवर्ष जिल्लाको रैथाने ६५ क्लिन्टल बीउले बजार नपाएको सहकारीहरुले गुनासो गरे । गुल्मीमा ७.९ मेट्रिकटन मकैको बीउ उत्पादन हुने गरेको छ ।
जिल्लामा अरुण २, मनकामना ३ र देउती मकैको बीउ उत्पादन हुन्छ । जिल्लाको बीउ खेत र टारीहरुमा राप्ने बिउ हो । अरुण–२ बीउ उत्पादन गर्ने घिमिरे कृषि तथा पशुपंक्षी फर्म इस्मा गाउँपालिका–६ ले गत बर्ष पाँच टन बीउ उत्पादन गरेको थियो । सबैले भारतीय हाइब्रिड रोप्न लाएपछि उन्नत जातको बीउ बिक्री नभएपछि २५ क्विन्टल खायनमा दिनुपर्ने अवस्था रहेको फर्मका सञ्चालक कृष्ण घिमिरे बताउनुभयो । उहाँहरुले ०७० सालबाट बीउ उत्पादन गर्दै आउनु भएको छ । उहाँले बीउ नबिकेपछि आधा मुल्यमा खाद्यान्नको रुपमा दिनुपर्ने बताउनुभयो ।
पुर्कोट उद्यम कृषि सहकारी संस्था मदाने गाउँपालिका–६ ले मनकामना–३ र देउती मकैको बीउ उत्पादन गर्दै आएको छ । यो सहकारीले पनि मनकामना–३ र देउती गरेर ४० क्विन्टल बिक्री गर्न नसकेको पुर्कोट उद्यम कृषि सहकारी संस्था मदाने गाउँपालिका–६ का अध्यक्ष लोकहरी कुवँरले बताउनुभयो । बीउबाट गत वर्ष १७ लाख करोबार गरेपनि अहिले भारतीय बीयका कारण रैथाने उन्नत जातको बीउ बिक्री नभएपछि तीन-चार लाख घाटा लागेको कुवँरले गुनासो गर्नुभयो ।