• १२ पुस २०८१, शुक्रबार

‘बाको कोट’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १२ गते ।  राजन सिलवालको लघुकथा ‘बाको कोट’ लोकार्पण भएको छ । साहित्यकार एवं सचिव श्यामकुमार भट्टराईले पुस्तकमा समेटिएका कथाले समाजशास्त्रका विद्यार्थीलाई अहिलेको समाज बुझ्न सहयोग हुने बताउनुभयो । तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले तथ्याङ्कको क्षेत्रमा कार्यरत लेखक सिलवालले समाजलाई नियालेर रचना गरी पुस्तक सार्वजनिक गर्नु गौरवान्वित गर्ने विषय हुन् भन्नुभयो । 

त्यस्तै प्रा.डा. भरतकुमार भट्टराईले विशेष गरी मुक्तक लेखनबाट साहित्यको यात्रामा चर्चित लेखक सिलवालको ‘बाको कोट’मा सङ्गृहीत रचना उच्च वैचारिक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले अहिलेको समाजमा पारिवारिक मूल्य मान्यता, लोपोन्मुख, विघटित अवस्थामा पुगेको अवस्थामा अग्रजको सम्मान, आदरको सन्दर्भमा आएको पुस्तक निक्कै राम्रो रहेको टिप्पणी गर्नुभयो ।

साहित्यकार महेश प्रसाईंले लघुकथा बाको कोटले राजनीति, प्रशासन, परिवार, समाजको हालको स्थितिको बयान गर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भोलिका पुस्ताका लागि आजको समाजको परिपाटी, संस्कार, संस्कृतिलगायत विविध विषयमा अध्ययन गर्न यस पुस्तकमा सङ्गृहीत कथालाई आधार मान्न सकिने यथार्थ तथ्य यसमा छ भन्नुभयो । प्रकाशक निता सिलवालले जागिरको साथै साहित्यको सेवामा निरन्तर खटिने सर्जक राजन सिलवालको मेहनतलाई पाठकमाझ ल्याउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । पुस्तकमा १०८ वटा लघुकथा सङ्ग्रह गरिएका छन् ।