• २८ वैशाख २०८१, शुक्रबार

बढ्यो चिनीको तस्करी

blog

नेपालगञ्ज, असार १२ गते  । भारतले चिनी निर्यातमा रोक लगाएसँगै दैनिक रूपमा अवैध चिनी नेपालगञ्जमा भित्रिने गरेको पाइएको छ । राजस्व छली गरी नेपाल–भारत सीमा नाकाबाट चिनी तस्करी अत्यधिक बढेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्रिँदै गरेको ठूलो मात्राको चिनी र दाल नेपालगञ्जबाट बरामद गरेको छ । 

नन्दनी मिल परिसरबाट प्रहरीले ५२० बोरा अवैध चिनीसहित दाल बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भारतबाट अवैध रूपमा चोरी पैठारी गरेर भिœयाई गोदाममा राखेको ५२० बोरा चिनी र ५१ बोरा बोडीको दाल बरामद गरिएको बताउनुभयो । उहाँका अनुसार बरामद गरिएको चिनी १८ लाख २० हजार रुपियाँ र दाल एक लाख सात हजार गरी जम्मा १९ लाख २७ हजार रुपियाँको सामान नियन्त्रणमा लिइएको छ ।  

यति ठूलो परिमाणमा चिनी र दाल 

नेपालगञ्ज कसरी पुग्यो भन्ने बारेमा थप अनुसन्धान तथा छानबिन भइरहेको उहाँले बताउनुभयो । यसमा नाकामा खटिएका सुरक्षाकर्मीको कमजोरी देखिएमा कारबाही हुने प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । 

नेपालगञ्जको जमुनाह, हिरमिनिया, साइगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठूलो परिमाणमा चिनी तस्करी हुँदै आएको सो क्षेत्रका स्थानीयले बताएका छन् । भारतबाट तस्करी गरी ल्याइएको चिनी बाँकेसहित बर्दिया, सुर्खेत, दाङलगायतका पहाडी जिल्लामा पठाउने गरिएको छ । सो तस्करी नियन्त्रणका लागि प्रहरीले दिनरात गस्ती गर्ने र सुराकीमार्फत सूचना सङ्कलन गरी पक्राउ र बरामदलाई निरन्तरता दिएको छ ।

अवैध मल बरामद 

बाँकेको नरैनापुर गाउँपालिकाबाट राप्तीसोनारी लैजाँदै गरेको ३३ बोरा अवैध युरिया मल प्रहरीले बरामद गरेको छ ।राति १०ः३० मल बोकेको भे १ त ६६८७ को ट्याक्टर नियन्त्रणमा लिई अवैध मल बरामद गरिएको इलाका प्रहरी कार्यालय नरैनापुरले जनाएको हो । नरैनापुर भारतीय सिमानासँग जोडिएको क्षेत्र हो ।

मल तस्करी भइरहेको सूचनाको आधारमा उक्त मल बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको मल र ट्याक्टर आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको छ । मनसुन सुुुरु भएर धान रोप्ने बेलामा किसानले मल नपाएपछि भारतबाट चोरी तस्करीको मल किसानकहाँ पुग्ने गरेको छ । 

नेपालमा मल नपाएपछि तस्करमार्फत नै भए पनि बाध्य भएर भारतबाट मल मगाउनुपरेको गुनासो स्थानीय कृषकको छ । अन्य सीमानाकाको तुलनामा नरैनापुर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति पातलो हुने भएकाले यो क्षेत्रबाट तस्करी तथा अवैध आयात बढी नै हुने गरेको छ ।