• १४ भदौ २०८२, शनिबार

बा बितेको दिन (कथा)

blog

शैक्षिक सत्र भर्खरै सुरु भएको थियो । नयाँ किताब बिस्तारै एउटा, दुइटा गर्दै पाइँदै थियो । विद्यालयमा नयाँ विद्यार्थी पनि देखिँदै थिए, हामी आठ कक्षा पढ्ने विद्यार्थी थियौँ । 

आठ कक्षा पढ्ने विद्यार्थी स्कुलको गहना हुन् भन्दै सुनाइन्थ्यो, किनकि यस वर्षको जिल्लास्तरीय परीक्षामा उत्कृष्ट अङ्क ल्याउने जिम्मेवारीको पोको हाम्रो मस्तिष्कमा झुन्ड्याइन्थ्यो । अनिश र म राम्रै पढ्ने विद्यार्थीका रूपमा हेरिन्थ्यौँ, विद्यालयमा ।

पहिलो पिरियड नेपालीको सकिएपछि म शौचालय गएर फर्कंदै थिएँ । प्रकाश दाइ र राम काका हतारिँदै विद्यालय हाताभित्र छिर्दै गरेको देखेँ । प्रकाश दाइ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए । म अलि डराएर हतार हतार कक्षामा छिरिहालेँ । ‘तिम्रो छोरा विद्यालयमा बाहिरै लठारिने रहेछ’ भनेर घरमा बालाई भन्दिने पो हुन् कि भन्ने पिरले पनि । उनीहरू हतारिँदै अफिस कोठामा छिरे ।

त्यसपछि अङ्ग्रेजीको पिरियड थियो । उमेश सर छिरिहाले । अनिश र म अगाडिकै बेन्चमा बस्थेम् ।

“मनोज नयाँ किताब कस्तो रहेछ ?”

“मिठो रहेछ सर !” मैले जिस्कँदै भनेँ ।

“मिठो छ रे ? घरमा गएर खायौ र ?” सर हाँसे ।

मैले फेरि जिस्किएर भनेँ– “सबै मिठो चिज कहाँ खान मिल्छ र सर ?”

“हे हे तिमी पनि...’– काँधमा धाप मार्दै भने ।

ढोकामा हेडसर, प्रकाश दाइ अनि राम काका देखिए । 

हेडसरले उमेश सरलाई बोलाए अनि अनिशतिर एक/दुई पटक हेर्दै कानमा बिस्तारै बोले । कक्षाको कसैले पनि सुनेनन् । त्यसपछि उमेश सरले अनिशलाई निन्याउरो स्वरमा भने– “अनिश ! तिमी घर जानुपर्ने भयो । तिम्रो बुबा बिरामी भए रे ।”

मनमा टिङ्ङ घण्टी बज्यो । बुबा बिरामी ! अनिश अक्क न बक्क भएर किताब झोलामा हाल्यो अनि प्रकाश दाइको अघि लुरु लुरु हिन्यो ।

अनिशका बा एक्कासि कसरी बिरामी भए ? उसले बिरामी छन् पनि भनेको थिएन । 

अनिशका बा बिरामी छन् भन्नेबित्तिकै म आफैँलाई पनि झन् बढी पिर हुन थाल्यो । अब स्कुलबाट भागेरै भए पनि अनिशको घर नपुगी कहाँ मान्थेँ र ? अङ्ग्रेजीको कक्षा सकिनेबित्तिकै ट्वाइलेट जाने बहानाले ट्वाइलेटपछाडिको भिरको बाटो भाग्छु भनेर योजना बनाएँ । ज्यान कक्षामा थियो तर ध्यान कहाँ पढाइमा लाग्नु ।

उमेश सरले के के पढाए केही ध्यान गएन । कतिबेला पढाइ सकेर निस्किन्छन् होला भन्ने मात्रै भइराख्यो । घण्टी बज्यो । उमेश सर निस्किए । म सरसँगै हतार हतार ट्वाइलेटको भिरको बाटोबाट भाग्न निस्किएँ । अनौठो हुने रहेछ मन पीडामा दगुर्दा, खुट्टा घोचेको काँडाको पनि वास्ता नहुने । भिरको बाटो बल्ल बल्ल छिचोलेर गाउँबाट झर्ने मूलबाटो निस्केको मात्र के थिएँ, श्रीधर दाइ एकोहोरो शङ्ख बजाउँदै निस्किहाले ।

‘लौ मरेको मान्छे पो ल्याएछन् । गाउँकै मान्छे मरेछन् ।’ मन झन् आत्तियो । मरेको मान्छे ल्याएको बाटो हिँड्न हप्ता दिन डराउने म आज न भाग्न सकेँ न कतै लुक्न नै । बाटोमै छोउ लागेर बसिराखेँ । लास बोक्नेहरू हतार हतार गर्दै झर्दै थिए । बालाई पनि मलामीको लाइनमा देखेँ ।

पहेँलो रामनामीको कपडाले बेरिएको लासलाई काँध हालेर तल्लाघरे काका र गोविन्द दाइ झर्दै गरेको देखिहालेँ । अघि भर्खरसम्म एउटै बेन्चमा चिटिक्क तोरीको तेल हालेर छड्के कोरेको कपालमा देखिएको मेरो साथी अहिले विक्षिप्त थियो । मान्छेको आवरण त जाबो कपालले पनि त परिवर्तन गर्ने रहेछ । उसले मलाई आँखाभरि आँसु बनाउँदै हे¥यो । म कहाँ उसलाई हेर्न सक्थेँ र ? मान्छे जति आफू पीडामा होस्, हेर्न सक्छ होला तर आफ्नो साथी पीडामा भएको हेर्न नसक्ने रहेछ । 

उसले मनमनै यति त सोच्यो होला– ‘मरेको मान्छे ल्याएको देखेर डराउने तँ आज त मेरै बाबाको मलामी देखिस् । तँ डराइनस् नि ! है साथी ।’ उसको मनको सवालको जवाफ मेरो मनले दिनै सकेन ।

बा बितेपछि उसले अबको दिन कसरी कटाउला ? यस्तै मनमा उठ्यो । म न अब स्कुल फर्कन सकेँ न घर पुग्न सकेँ ? न मलामी बनेर अनिशको साथी भएर घाट पुग्न नै सकेँ ।

जसोतसो घर पुगेँ ।

माउ मरेको टुहुरो पाठो झैँ झोक्राएको थिएँ म । आमाले भनिन्– “बिचरा घरको मूलथाम नै ढलेपछि अब के गर्ला ? आफ्नै छोरो जस्तै थियो । तँ पिर नमान् है मनोज हामी उसलाई तँलाई जसरी नै पढाउँछौँ ।”

शिरको सिन्दुर पुछिएपछि राँडी बनेकी नारीलाई समाजले पनि हेर्ने नजर बदल्छ तर तेरो साथीलाई हामी पढाउँछौँ । एउटा होइन हाम्रो दुई वटा छोरा मान्छौँ । आमाले यस्तै गन्थन गरिन् ।

बेलुका ७ बजेतिर बा फर्किए । घर छिर्नेबित्तिकै भने– “बिचरा त्यही बच्चोलाई किरिया बस्न भनिदिए पण्डितले । हुन त छोरा हुँदाहुँदै अर्को मान्छेलाई किन किरिया बसाउँथे होला 

र ? बरु १३ दिन पो बस्न सक्ला कि नसक्ला ।”

आमाले बाको नजिक गएर भनिन्– “बिचरा सीता भाउजूले पो के गर्लिन् ? काखे नानी छे, त्यो छोरोलाई पनि कसरी पढाउलिन् ? बरु हामीले पढाउन सहयोग गरम् न ।”

मैले पनि त्यही सोच्दै आएको थिएँ । हाम्रै मनोजसँग पनि पढ्छ । मिल्ने साथी पनि हुन् । अहिले गुन लगायौँ भने सम्झेला नि पछि हाम्लाई पनि ।

बाआमाको कुराले मन ढुक्क त भयो ।

बरु अनिश के गर्दै होला, मनले उसलाई नै याद गर्दै थियो । १३ दिन कसरी बिताउला ? म झोक्राइरहेको नै थिएँ । बा नजिक आएर भने– “ओई किन झोक्राएको ?”

मैले केही जवाफ दिनै सकिनँ ।

बा बोलेको सुन्नेबित्तिकै आँसु तपक्कै तप्कियो । देखिहाले । काँधमा हात राख्दै भने– “बाबु ! हामी छोरा मान्छे हौँ । हामीलाई यो काँधमा जे पनि पर्न सक्छ । हाम्रो मुटु दरिलो हुनु पर्छ । हामीले जिम्मेवारीका पहाड कलिलो उमेरमै उठाउनु पर्छ । आँसु भनेको छोरा मान्छेका लागि कमजोरी हो । छोरा मान्छे होस् यसलाई लुकाउनु नदेखाउनु ।”

१३ दिनसम्म म अनिशको घर जान सकिनँ । १४ औँ दिन ऊ स्कुल आयो । उसको मुडुलो टाउको खुट्टामा लगाएको सेतो तने चप्पल कति फिका रङ उडेको अनुहार । हुन त कोही आफ्नो रङ भरिएको मान्छे खरानी भएपछि कसरी आफू रङ्गिन बन्न सकिन्छ होला र ? 

उसले झोला पछाडिको बेन्चमा राखेछ । मैले अगाडि ल्याएँ । ऊ पछाडि जान नै खोज्दै थियो । मैले अगाडि नै बस् भनेँ । ऊ बस्यो, बोलेन । अरू नबोल्दा केही नहुन सक्छ तर साथी नबोल्दा केही नरहन सक्छ ।

नेपाली पिरियड चल्दै थियो । उसले बोल्यो– “मनोज ! आज ट्वाइलेट जाने बहानामा स्कुलबाट भागम् न है ।” 

मैले ‘हुन्छ’ भनेँ ।

नेपालीको पिरियडपछि भिरको बाटो हामी भाग्यौँ र त्यही मूल बाटोमा निस्कियौँ । जहाँ मैले मलामी भेटेको थिएँ ।

अनिशले पिपलको चौतारीमा बसम् भन्यो । अलि माथि गएर चौतारीमा बस्यौँ ।

मैले त्येतिन्जेल उसको आँखा नियालेको थिइनँ । उसको आँखा हेरेँ, आँसु पूरै भरिएको थियो । घर छाडेर परदेश लाग्नै आँटेको उसले आँसुलाई सपक्क पुछ्यो ।

“मनोज म अब घर छाड्छु,” एकै सासमा ऊ बोल्यो ।

उसले एक वाक्य बोल्यो मैले १० वाक्य सुनेँ ।

“किन ?” मैले सोधेँ ।

सुस्केरा हाल्दै उसले भन्यो– “अब त बा पनि गए घरको छोरा म हुँ । मैले नकमाए घर कसरी चल्छ । विधवा आमा छिन्, सानी बहिनी छे, मेरो काँधमा त जिम्मेवारी आयो नि साथी ।”

“अनि तेरो पढाइ ? तँलाई पढाउन मेरो बाआमाले पनि कुरा गरेका छन् । सहयोग गर्ने भनेका छन्, तँ नआत्ती । साथी ! जिन्दगीमा दुःख आउँछ । दुःख आयो भन्दैमा भागिहाल्नु हुन्न” –मैले भनेँ । उसले मानेन । “म कमाउन जानै पर्छ । मेरो घरमा चैँ म घर छाडेर भागिसकेपछि भन्देन है” –उसले भन्यो– “बरु तैँले धेरै पढ्नू मेरो सट्टामा पनि ।”

मैले सम्झाउन खोजिराखेँ । ऊ आफू मात्रै बोलिराख्यो– “मेरो किताब पनि तैँले नै लगेस् । अरूलाई नदिएस् । मेरो भागको खाजा पनि अब आफैँ खाने गरेस् । अर्को साथी नबनाएस् ।” 

उसले घर छाड्ने निधो गरिसकेको रहेछ । बर्खाको भेललाई रोक्न सकिँदैन त्यो भेल रोक्न खोज्ने पहाडका डिललाई भत्काएर भए पनि समुद्रको खोजमा निस्कन्छ ।

“कहिले जान्छौ ?” मैले सोधे ।

“भोलि झिसमिसेमा नै भाग्छु, दुधौली बजारबाट बस चढेर सीमा नाघ्छु । आमा रुन्छिन्, कहिलेकाहीँ मेरो घरमा पनि जानू । स्कुलमा भाग्यो नभन्नू । बा बितेपछि छोरा बा बन्न हिन्यो भन्दिनू ।” यति भनिसकेपछि उसले यताउता हे¥यो ।  हाम्रो कुरा कसैले सुनेको छ कि भनेर ।

अनि मलाई गल्र्याम्म अँगालो हाल्यो । एकछिन भक्कानिएर रोयो । मैले लगाएको सर्ट पूरै उसको आँसुले भिज्यो । ऊ रोएपछि म चाहिँ कहाँ समालिन सकेँ र ? ऊ अँगालोबाट अलग भयो । खल्तीमा दुई वटा कलम बोकेको रहेछ । मेरो हातमा ती दुई कलम थमाउँदै भन्यो– “यो दुई कलम हामी दुई हौँ । एउटामा मसी सकिनै लागेको छ, अर्को कलमको निब हालेर चलाउनू ।” यति भनेर ऊ सरासर उकालो लाग्यो । म उसको पछि जान सकिनँ । उसलाई हेरिरहेँ । उसले फर्केर हेरेन वा हेर्न सकेन ।

भोलिपल्ट गाउँमा हल्ला फैलियो– ‘अनिश घर छाडेर भागेछ ।’ उसले भनेको मैले सम्झिरहेँ– ‘बा बितेपछि छोरा बा बन्न हिँड्यो ।’