विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ १२ गते । आर्थिक वर्ष २०८१/०८२ मा सप्तरीमा विभिन्न पोखरी, इनार, नदी–नाला र खेतमा बनेका खाल्टोमा डुबेर २३ जना बालबालिकाको मृत्यु भएको छ ।
अभिभावकको निगरानीबिनै पानी आसपासमा खेल्ने र नुहाउने क्रममा अधिकांश बालबालिकाको डुबेर मृत्यु भएको हो ।
वर्षायाममा खाल्टो, पोखरी तथा नदी–नालामा नुहाउने वा खेल्ने क्रममा उनीहरू डुबेर २३ जना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमध्ये १५ जना बालक र आठ जना बालिका रहेका छन् ।
कोशी प्रदेशका इन्सेक प्रमुख अधिकारकर्मी मनोहर कुमार पोखरेलले जथाभावी खाल्टो खनेर छाड्ने प्रचलन, पोखरीमा घेराबेरा नहुने, पोखरी धनी र अभिभावकको लापरवाही तथा पानीको उपयुक्त निकास नहुँदा आफ्नै जग्गामा खाल्टो खनेर राख्ने प्रवृत्तिले यस्तो दुर्घटनालाई निम्त्याउने गरेको बताउनुभयो ।
“तराई–मधेशमा पोखरी, नदी–नाला मानिसको दैनिकी, धार्मिक र सांस्कृतिक अभ्याससँगै आयस्रोतको आधार पनि हो“ पोखरेलले भन्नुभयो, “तर विकास निर्माणका क्रममा पनि ठाउँ–ठाउँमा खाल्टो खनेर माटो निकाल्ने प्रचलन रहेकाले निजी कम्पनी र जनप्रतिनिधिहरु पनि यसप्रति जिम्मेवार हुनुपर्छ ।”
उहाँले अभिभावकलाई सचेत रहन, साना बालबालिकालाई एक्लै पानी आसपासमा नछोड्न आग्रह गर्नुहुँदै स्थानीय तहलाई जोखिमयुक्त स्थानमा चेतावनी बोर्ड राख्ने र असुरक्षित पोखरी तथा खाल्टोलाई तारजालीले घेराबार गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।