• १२ भदौ २०८२, बिहिबार

महादेवाका पूर्व गापा अध्यक्ष दिपकको निधन

blog

महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार स्व. दिपक कुमार यादव (टुटु बाबु) । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, भदौ १२ गते ।
सप्तरीको महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष दिपक कुमार यादव (टुटु बाबु)को निधन भएको छ । सप्तरीको महादेवा गाउँपालिका– ३, बथनाहा निवासी यादवको ६८ वर्षको उमेरमा बुधबार निधन भएको हो । उनी कलेजोको क्यान्सरबाट पीडित थिए । एक वर्षदेखि आइएलबीएस हस्पिटल दिल्लीमा उपचार गराउँदै आएका पूर्वअध्यक्ष यादवका छोरा अभिनव यादवले जानकारी दिनुभयो ।

चिकित्सकको निगरानीमा उपचारमा रहेका उहाँको आफ्नै घरमा निधन भएको जनाइएको छ । उहाँको बिहीबार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

यसैगरी, जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्ष केदार प्रसाद यादवले जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार यादवको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेता यादवको निधनले अत्यन्तै मर्माहत तुल्याएको तथा पार्टीमा अपुरणीय क्षति पुगेको भन्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति समवेदना समेत व्यक्त गरेका छन् ।  

महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका उहाँले आफ्नो कार्यकालमा स्थानीय सडक, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको सुधारलाई प्राथमिकता दिएका थिए । पालिकामा महिला, दलित र युवाको सहभागिता बढाउन उहाँले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

जनमैत्री र सरल स्वभावका कारण दिपक यादव स्थानीय जनतामाझ लोकप्रिय थिए । उहाँका बुवा विशेश्वर प्रसाद यादव राणा र पञ्चायती शासन विरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

बुबाकै प्रेरणाले टुटुवाबु विद्यार्थी जीवनकालदेखि राजनीतिमा होमिएका थिए । पछिल्लो समय प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमा समेत उहाँले सक्रिय सहभागिता जनाएका थिए । उहाँका एक छोरा, एक छोरी र पत्नी छन् ।

यसैबिच महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले बुधबार एक शोक विज्ञप्ति जारी गर्दै गापाका पूर्व अध्यक्ष दिपककुमार यादवको निधनमा बिहीबार महादेवा गाउँपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु(आकसिमकर अत्यावश्यक सेवा वाहेक)सेवा केन्द्रहरु तथा सामुदायिक विद्यालयहरुमा शोक बिदा रहने जनाएको छ । शोक सन्देशमा गाउँपालिकाको समग्र विकास र सुशासनमा यहाँले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने जनाइएको छ । सन्देशमा मृत आत्माको चिरशान्तिको कामना गरिएको छ भने शोकाकुल परिवार तथा इष्टमित्रमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी कामना समेत गरिएको छ ।