• १२ भदौ २०८२, बिहिबार

नहरमा पानी नआएपछि किसान आन्दोलित

blog

नहरमा पानीको लागि किसानहरु सडक अवरुद्ध पार्दै । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), भदौ १२ गते ।
रौतहटको गरुडा महम्मदपुर गौर नहरमा पानी नआएको भन्दै किसानहरु आन्दोलित भएका छन् ।

बागमती, मनुष्मारा, झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मैया सर्लाहीलाइ नहरमा पानि सुचारु गराउन दवाव स्वरुप बुधबार गौर चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध गरिएको यमुनामाइ गाउँपालिका–३ का किसान रामबाबु प्रसादले जानकारी दिनुभयो ।

धान वालीलाई पानीको आवश्यकता परेको समयमा नहरमा पानी नआउने भएकोले  नहरमा पानी सुचारु गर्न  बुधबार किसानहरुले एक घण्टाका लागि गौर चन्द्रनिगाहपुर सडक पूर्णरुपले अबरुद्ध पारेको यमुनामाइ गाउँपालिका–२ का वडा अध्यक्ष सिताराम यादवले बताउनुभयो ।

‘‘अहिले वालीका लागि पानीको आवश्यक छ,’’ वडा अध्यक्ष यादवले भन्नुभयो, ‘‘हाम्रो माग कार्यालयले नसुनेपछि किसानहरु वाध्य भएर आन्दोलनमा जानु पर्‍यो ।’’

सर्लाहीमा कार्यालय रहेकाले सधैँ आउन जान सम्भव नदेखिएपछि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय रौतहटमा भदौ ६ गते ज्ञापन पत्र समेत बुझाएको यमुनामाइ गाउँपालिका –३ का नागेश्वर राउतले बताउनुभयो  ।

तहाँबाट कुनै पहल नभए पछि बुधबार सडक अवरुद्ध गर्नु परेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष यादवका अनुसार पानीको अभावमा खेती गर्न नपाएर मर्नु भन्दा सडकमा आएर मर्नु नै बेश रहेको दुखेसो पोख्नुभयो ।
महम्मदपुर गौर नहरमा भेडियाहीसम्म मात्र पानि आउने गरेको वडा अध्यक्ष यादवले भन्नुभयो ।

बागमती, मनुष्मारा, झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मैया सर्लाहीका कार्यालय प्रमुख राम दुलारी भगतले किसानहरुले उठाएको मागको सम्वोधनका लागि विभागमा  जानकारी गराई सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सन् १९६० मा भारतीय सहयोगमा झाँझ सिँचाइ निर्माण भएको र अहिले पूरै जिर्ण अवस्थामा पुगेको बताउनुभयो । गएको असोजमा भएको बर्षाले नहर बैंकमा क्षति पुगेकाले मरम्मत सम्भारका लागि टेण्डर आह्वान गरिसकेको उहाँले बताउनुभयो । नहर बैंक मरम्मत कार्यमा ६० प्रतिशत माटोको काम रहेकाले अहिलेको अवस्थामा टेन्डरको काम सुचारु गर्न नसकिने उहाँको भनाइ छ ।

स्थानीयले नहरमा फोहोर बिसर्जन गरी दिनाले जल कुम्भी हुने गरेको र त्यसले नहरमा पानी निकासमा समस्या हुने गरेको कार्यालय प्रमुख भगतको गुनासो रहेको छ ।