विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ १२ गते । सप्तरीको करदाता सेवा कार्यालय राजविराजले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ, जुन कि अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो ।
कार्यालयले सो वर्षमा एक अर्ब एक करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा केही कम सङ्कलन भए पनि अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सङ्कलित करिब ७७ करोड रुपियाँको तुलनामा उल्लेख्य वृद्धि भएको करदाता सेवा कार्यालय राजविराजका प्रमुख लालदेव सर्राफले जानकारी दिनुभयो ।
करदातामुखी कार्यक्रम, कर शिक्षा अभियान, कर अनलाइन प्रणालीको विस्तार, सेवाग्राहीलाई सहज सेवा, तस्करी नियन्त्रणका लागि बजार अनुगमन तथा कर छलीविरुद्धका निगरानीले राजस्व सङ्कलनमा सकारात्मक परिणाम देखिएको उहाँले बताउनुभयो ।
राजस्व वृद्धिका लागि कर सचेतना अभिवृद्धि, करदाता शिक्षा, सडक नाटक, भित्तालेखन, करशिविर, विचौलियालाई प्रवेश निषेध गरी करदातालाई प्रत्यक्ष सेवा उपलब्ध गराउने जस्ता कार्यक्रम पनि कार्यालयले गरेको थियो । यसै क्रममा १०३ वटा फर्म तथा पसललाई कारबाही गरी आठ लाख २२ हजार रुपियाँ जरिवाना समेत गरिएको करदाता सेवा कार्यालय राजविराजले जनाएको छ ।
आयकर तर्फ ८३, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ९४ र अन्तःशुल्क तर्फ ८१ प्रतिशत गरी कुल ८७ करोड रुपियाँ सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
खुला सिमाना, तस्करी तथा केही करदाताले समयमा कर नबुझाउनु जस्ता कारणले लक्ष्य पूर्ण रूपमा पूरा नभए पनि विगतको भन्दा उल्लेख्य वृद्धि हुनु सकारात्मक उपलब्धि भएको सर्राफले बताउनुभयो ।
कार्यालयले आगामी आर्थिक वर्ष २०८२/०८३ मा एक अर्ब १४ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको छ । यसका लागि करदाताको दायरा थप विस्तार गर्ने, प्रविधिमुखी सेवा प्रवर्धन गर्ने र कर छल्ने प्रवृत्तिमाथि निगरानी गर्ने योजना रहेको बताइएको छ ।
६६ हजार पाँच सय ६१ सक्रिय करदाता रहेको करदाता सेवा कार्यालयले २०८२/०८३ मा एक अर्ब १४ करोर राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको जनाएको छ ।