• १३ भदौ २०८२, शुक्रबार

‘रचनात्मक पत्रकारिता : हाते पुस्तक’ प्रकाशित

blog

 गोरखापत्र समाचारदाता

ललितपुर, भदौ १२ गते । रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक ‘रचनात्मक पत्रकारिता : हाते पुस्तक’ सार्वजनिक भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालालिखित पुस्तकलाई सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेशले सार्वजनिक गरेको हो । 

सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्न विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो । प्रविधिको तीव्र विकाससँगै नकारात्मक समाचारको व्यापक फैलावटका कारण पत्रकारिताप्रति खस्किरहेको विश्वासलाई रचनात्मक पत्रकारिताले पुनस्र्थापित गर्ने अपेक्षा गरिएको सापकोटाले जानकारी दिनुभयो । 

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले रचनात्मक पत्रकारिता अभ्यासका लागि पुस्तकले नेपाली पत्रकारलाई झकझक्याउने विश्वास व्यक्त गर्नुभयो । 

भोलिका दिनमा समाचार कक्षलाई हाँक्ने पत्रकारिताका विद्यार्थीले नेपाली पत्रकारितालाई नयाँ गतिका साथ रचनात्मक दिशामा अघि बढाउन पुस्तकलाई उपयोगी ठानिने निष्कर्ष उहाँले पुस्तकको भूमिकामा उल्लेख गर्नुभएको हो । 

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफिल–पिएचडी शोध गरिरहनुभएका लेखक कोइरालाले रचनात्मक पत्रकारिताबारे विश्वमा भइरहेका अभ्यास र चलिरहेका अभियानको आँखीझ्याल स्वरूपमा पुस्तक तयार पारिएको बताउनुभयो । उहाँले भ्न्नुभयो, “शोधका लागि अध्ययन गर्ने क्रममा रचनात्मक पत्रकारिताको अभ्यास नेपाली सन्दर्भमा पनि अपरिहार्य रहेको बोध भयो । त्यसैले प्राप्त ज्ञानलाई बाँड्दै जाने उद्देश्यका साथ पुस्तकको स्वरूपमा काम गरिएको हो ।”