• १८ भदौ २०८२, बुधबार

नेपालको गौरव राष्ट्रिय पत्रकारिता दिवस

blog

नेपाली पत्रकारिताको सान्दर्भिकता अभिवृद्धि र गुणात्मक विकास गर्ने अभिप्रायले नेपालमा आफ्नै पत्रकारिता दिवस मनाउनु पर्छ भन्ने मनसायबाट राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको थियो ।

नेपालबाट पहिलो पटक औपचारिक रूपमा पत्रिका प्रकाशन सुरु भएको मिति विसं १९५८ वैशाख २४ गतेलाई आधार बनाएर हरेक वर्ष वैशाख २४ को दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन उचित हुन्छ भन्ने गोरखापत्रका तत्कालीन सम्पादक र व्यवस्थापकको प्रस्तावलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहर्ष स्वीकार गरी मन्त्रीपरिषद्बाट निर्णय गराएपछि उक्त दिवस मनाउन थालिएको हो । 

यस्तो थियो तत्कालीन मन्त्रीपरिषद्को निर्णय–

पत्रकारिता क्षेत्रका विज्ञहरू, प्रेस काउन्सिल नेपाल तथा नेपाल पत्रकार महासङ्घका अध्यक्षलगायत विभिन्न सरोकारवालासँगको बैठकमा मिति २०७२/११/९ को निर्णय अनुसार नेपालबाट प्रकाशित पहिलो अखबार गोरखापत्र प्रकाशन भएको पहिलो दिन वैशाख २४ गतेलाई स्मरण गर्दै सोही दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने सिफारिस गरिए अनुसार यस मन्त्रालयको मिति २०७२/११/१२ को प्रस्तावमा नेपाल सरकार मन्त्रीपरिषद्ले मिति २०७२/११/१७ मा ‘प्रस्तावित विषयमा मन्त्रालयबाटै टुङ्गो लगाउने’ गरी निर्णय भएको र सो अनुसार मन्त्रालयबाट २०७१/११/२० गते प्रत्येक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको छ । 

यसरी सरकारबाट दिवस मनाउने निर्णयपछि सम्पूर्ण नेपाली पत्रकारिता जगत्ले संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष मे ३ मा मनाउँदै आएको मितिभन्दा फरक मितिमा आफ्नै देशको पत्रकारिताको गौरवमय इतिहासलाई साक्षी राखेर पत्रकारिता दिवस मनाउने परम्पराको थालनी हुन पुग्यो । 

राष्ट्रिय पत्रकारिता दिवसको पृष्ठकथालाई गोरखापत्र दैनिकका तत्कालीन सम्पादक पुष्कर माथेमा यसरी सम्झनुहुन्छ, 

नयाँ सम्पादकीय नेतृत्व आएपछि गोरखापत्र दैनिकमा कार्यरत सबै पत्रकारको औपचारिक बैठक बोलाउने परम्परा अनुसार पहिलो बैठक बोलाइयो । पुस २२ गते बोलाएको उक्त बैठकमा गोरखापत्र दैनिकका सामग्री र कार्यशैलीमा गर्न चाहेका नयाँ प्रयोग र परिवर्तनसम्बन्धी विचारका साथै एउटा भिन्न प्रस्तावप्रति सहकर्मीको समर्थन प्राप्त गर्ने सोच बनाएको थिएँ । त्यो प्रस्तावबारे कसैसँग सल्लाह भने गरेको थिइनँ र एकै पटक सामूहिक बैठकमै सार्वजनिक गर्ने सोचमा थिएँ । 

सहकर्मीहरूका कुरा सुनिसकेपछि मैले बोल्ने क्रममा अन्य कुराका अतिरिक्त मेरो स्वप्न प्रस्तावलाई पनि अगाडि सारेँ, “गोरखापत्र दैनिकको पहिचानलाई एउटा नयाँ कोण दिने सोच लिएको छु । प्रायः क्षेत्रका राष्ट्रिय दिवसहरू छन् । नेपालको पत्रकारिता क्षेत्रले भने विश्व प्रेस स्वतन्त्रता दिवसलाई नै पत्रकारिता दिवसका रूपमा मनाइरहनु परेको छ । आफ्नै राष्ट्रिय दिवस अझै पाएको छैन । नेपाली पत्रकारिताको ऐतिहासिक कोसेढुङ्गाका रूपमा रहेको गोरखापत्र प्रकाशन भएको दिनलाई नै राष्ट्रिय पत्रकारिता दिवसका रूपमा किन अगाडि नबढाउने ? तपाईंहरूको समर्थन र सहयोग रहेमा यो सोचलाई मूर्त रूप दिन मेरो भरमग्दुर प्रयास रहने छ ।” यो प्रस्तावमा तत्कालीन प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ रोदनलगायत बैठकमा उपस्थित सबैले एकसाथ ताली बजाएर समर्थन गर्नुभयो ।

कुनै पनि कुरा सोच्न र भन्न जति सजिलो हुन्छ, फत्ते गर्न त्यत्ति नै गाह्रो । यो विषय गोरखापत्र संस्थानको व्यवस्थापनले निर्णय गरेर पुग्दैन थियो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सहमति जनाउनु मात्र पनि पर्याप्त हुँदैन थियो । त्यसका लागि त मन्त्रीपरिषद्को निर्णय नै आवश्यक पथ्र्याे । 

दैनिक अखबारको दैनिकी व्यवस्थापनमै निकै समय जान्थ्यो, अन्य पहलका लागि समय निकाल्न निकै मुस्किल हुन्थ्यो तर पनि म र श्रीओमजी यस विषयमा छलफल गरिरहन्थ्यौँ । बीजारोपण भएको त्यो अवधारणालाई अगाडि बढाउनका लागि रणनीति बुनिरह्यौँ । गोरखापत्रको ११६ औँ वार्षिकोत्सवका अवसरमा नै यो दिवसको सुरुवात गर्नु पर्छ भन्नेमा हामी कसिएर लाग्यौँ । 

गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमक्ष यो अवधारणा प्रस्तुत गर्‍यौँ । महाप्रबन्धक कोइराला त त्यो कुरा सुनेर निकै रोमाञ्चित हुनुभयो र भन्नुभयो, “यो त गजबको कुरा ल्याउनुभयो । म यो प्रस्तावलाई तुरुन्तै प्रक्रियामा लैजान्छु ।” उहाँको सकारात्मक प्रतिक्रिया र प्रतिबद्धताले हामीलाई पहिलो चरण जितेको अनुभूति भयो । 

नेपालको प्रशासनिक निर्णय प्रक्रियामा विद्यमान सुस्तताले भने हाम्रो लक्ष्य सार्थक हुनेमा शङ्का नै लागिरहेको थियो तर एक दिन महाप्रबन्धक कोइरालाले भन्नुभयो, “हामीले राखेको प्रस्तावलाई मन्त्रालयले अत्यन्त सकारात्मक रूपमा लिएको छ र निर्णय प्रक्रियालाई सकेसम्म छिटो अगाडि बढाउने आश्वासन पाएको छु ।” 

यसैबिच गोरखापत्र संस्थानको निरीक्षणमा आउनुभएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङले पनि उक्त प्रस्तावसम्बन्धमा विशेष प्राथमिकतासहित प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो । त्यसपछि गोरखापत्र संस्थानको टोलीसँगको एक बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री शेरधन राईले पनि उक्त प्रस्तावप्रति सरकार सकारात्मक रहेको र चाँडै नै मन्त्रीपरिषद्को बैठकमा प्रस्तुत गरिने बताउनुभयो । 

सबै जिम्मेवार व्यक्ति यत्ति सकारात्मक भएपछि नेपाली पत्रकारिता जगत्लाई आफ्नै राष्ट्रिय पत्रकारिता दिवस पाउने दिनको प्रतीक्षा धेरै लम्बिएन । अन्ततोगत्वा २०७२ साल फागुन १७ गते साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा हालसम्म पत्रकारिता क्षेत्रलाई प्रतिनिधित्व गर्ने राष्ट्रिय दिवस नभएकाले नेपालको पहिलो अखबार गोरखापत्रको प्रकाशन आरम्भ भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने प्रस्तावको टुङ्गो मन्त्रालयबाट गर्ने भनी निर्णय गरिदियो । त्यसलगत्तै २० गते मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको घोषणा गरिदियो । 

यसरी सोचको बीजारोपण भएको दुई महिना नबित्दै राष्ट्रिय पत्रकारिता दिवस मनाउने विषयले सार्थकता पायो । २०७३ वैशाख २४ गते ११६ औँ गोरखापत्र वार्षिकोत्सवसँगसँगै पहिलो राष्ट्रिय पत्रकारिता दिवस भव्यताका साथ मनाइयो ।

यो दिवसले राष्ट्रको मात्र नभई दक्षिण एसियाकै धरोहरका रूपमा रहेको गोरखापत्रको महत्वलाई बढावा दिने, संविधानप्रदत्त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै नेपाली प्रेस जगत्लाई आफ्नो दायित्व र जिम्मेवारीप्रति थप सजग हुन उत्पे्ररित गर्ने, मर्यादित तथा विश्वासिलो रूपमा आमपाठकसमक्ष आफ्ना सामग्री पस्कन सक्ने भयरहित वातावरण सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ । दिवसका दिन वर्तमान पत्रकारिता जगत्का आउटपुट, त्यसले समाज र राष्ट्रमा पारिरहेका सकारात्मक वा नकारात्मक प्रभाव, सूचना र सन्देशका व्यवस्थित र निरन्तरको प्रवाहले समाजमा जगाउन सकेका आशा र अपेक्षाका साथै आगामी दिनमा लिनुपर्ने वा सकिने बाटा र लयबारे पनि थिङ्क ट्याङ्कहरूबिच छलफल, अन्तव्रिर्mया, बहस चलाउने अवसर बन्नु पर्छ । 

अझै इन्टरनेटको पहुँच र व्यापकतासँगसँगै सामाजिक सञ्जालको चपेटाले गाँजिँदै गएको समाजमा देखिएको मिस इन्फर्मेसन, डिसइन्फर्मेसन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा प्रवेश गर्दै गर्दा पत्रकारिताको स्वरूप, प्रभाव, प्रक्रिया र पद्धतिमा नै ल्याउनुपर्ने फरकपनबारे छलफल गर्ने र सरोकारवाला सबैको ध्यानाकृष्ट गर्ने उचित दिन पनि यो दिवस बन्न सक्नुपर्ने देखिन्छ ।

यसै दिन पारेर देशका अग्रज र पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिँदै आएका पत्रकारलाई पुरस्कार र सम्मान गरिने परम्पराको थालनी पनि भएको छ । त्यसका लागि मन्त्रालयले एक छुट्टै कार्यविधि पनि बनाएको छ । 

सूचना तथा सञ्चार मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानलाई व्यवस्थित गर्ने कार्यविधि, २०७२’ मा सम्मान र पुरस्कृत गर्ने पात्र छनोटका लागि बनाउने समिति यसप्रकारको रहेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव संयोजक, प्रेस काउन्सिल नेपालका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य, पत्रकार महासङ्घका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य, मन्त्रालयले मनोनीत गरेका पत्रकारिता विषयका विज्ञ, पत्रकारमध्येबाट कम्तीमा एक जना महिलासहित तीन जना सदस्य र मन्त्रालयका सञ्चार महाशाखा हेर्ने सहसचिव सदस्यसचिव रहने गरी सिफारिस समिति गठन भएको छ । यसरी सिफारिस समितिले सिफारिस गरेका आधारमा राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मानका लागि मन्त्रालयले घोषणा गर्ने गर्दछ । उक्त पुरस्कार तथा सम्मानका लागि आवश्यक बजेट मन्त्रालयको वार्षिक विनियोजनबाट गरिने व्यवस्था गरिएको छ । 

कार्यविधि अनुसार राष्ट्रिय पत्रकारिता पुरस्कार प्रत्येक वर्ष आमसञ्चार माध्यम वा पत्रकारमध्ये छ जनालाई जनही एक लाख रुपियाँ र कदरपत्र प्रदान गरिने छ । त्यस्तै प्रत्येक वर्ष दुई जना वरिष्ठ पत्रकारलाई दुई लाख रुपियाँ र कदरपत्र प्रदान गरिने व्यवस्था गरेको छ । 

यसरी गौरवमय दिवसमा प्रदान गरिने गौरवमय सम्मान प्रदान गर्दै गर्दा सम्मान गरिने पात्रको छनोटमा भने निकै सचेत हुन जरुरी छ । यसलाई दलगत आस्थाका आधारमा वा पत्रकारका अनेकौँ सङ्घ संस्थाका आधारमा भागबन्डा गर्ने गरियो भने यसले सम्मानको ओज बढाउने अवस्था रहिरहन सक्दैन ।  

लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।

प्रस्तुत आलेख ‘नेपालको गौरव राष्ट्रिय पत्रकारिता दिवस’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।