• ११ वैशाख २०८१, मङ्गलबार

विद्यालयलाई एक रोपनी जग्गा दान

blog

जग्गाधनी पुर्जा हस्तान्तरण गरिँदै । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका एक समाजसेवीले विद्यालयलाई एक रोपनी जग्गा निःशुल्क प्रदान गर्नभएको छ । सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी सुकमाया पन्दाक लिम्बूले स्थानीय इन्द्रावती आधारभूत विद्यालयलाई एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । 

पन्दाकले आफ्नो नाममा रहेको जग्गा इन्द्रावती आधारभूत विद्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको हो । करिव चार लाख रुपियाँ मूल्य बराबरको उक्त जग्गा पन्दाकले मालपोत कार्यालय ताप्लेजुङमार्फत विद्यालयको नाममा शुक्रबार रजिष्ट्रेसन पास गरी दिनुभएको छ ।

जग्गा रजिष्ट्रेसन पास गरी जग्गादाता पन्दाक र मालपोत कार्यालयका प्रमुख निर्मल शेर्पाले जग्गाधनी पुर्जा विद्यालयकी प्रधानाध्यापक अनिता इवारमलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ । पन्दाकले आफ्ना स्वर्गीय श्रीमान डिल्लीकुमार पन्दाकको स्मृतिमा विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराएको बताउनुभयो । यसअधि पनि सोही उहाँले सोही विद्यालयलाई तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

जग्गादता पन्दाक परिवारले उपलब्ध गराएको उक्त जग्गामा भवन लगायतका संरचना निर्माण गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर बिष्टले जानकारी दिनुभयो । यता विद्यालयलाई आवश्यक पर्ने जग्गा पुनः निःशुल्क उपलब्ध गराएकोमा जग्गादाताप्रति विद्यालयले आभारसमेत व्यक्त गरेको छ ।