• १३ वैशाख २०८१, बिहिबार

फोहोरको यात्राबारे बनेपावासी चकित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ११ गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको फोहोर चार जिल्ला कटाएर नुवाकोट लगिन्छ भन्ने थाहा पाउँदा बनेपावासी चकित परेका छन् । काभ्रेको सबैभन्दा पुरानो नगरपालिकाबाटै फोहोर व्यवस्थापनमा यस्तो कार्य हुनु निकै दुर्भाग्य भएको पनि स्थानीयवासीले बताएका छन् ।

गोरखापत्र दैनिकले ‘बन्चरेडाँडा जान फोहोरको ६५ किमि यात्रा’ शीर्षकमा शुक्रबार समाचार प्रकाशित गरेपछि मात्र स्थानीयवासीले आफूहरूको फोहोरले नुवाकोट र धादिङ प्रदूषित भएको थाहा पाएका थिए । उद्योगी, राजनीतिक दलका नेता तथा स्थानीय नागरिकले यसरी फोहोर नुवाकोट र धादिङसम्म लिएर जाँदा त्यसको व्ययभार बनेपाले लामो समय थेग्न नसक्ने दाबी पनि गर्नुभयो । 

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले काभ्रेको फोहोर नुवाकोट र धादिङसम्म लिएर जानुभन्दा काभ्रेमै विसर्जनको उपाय खोज्नु आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसका लागि नगरपालिकाले वातावरण मिलाउन सके आफूहरूले सो क्षेत्रमा लगानी गर्ने भन्दै गाडी भाडामा मात्रै दैनिक ६७ हजार रुपियाँ खर्च हुनु राम्रो नभएको बताउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले), बनेपा नगर कमिटीका उपाध्यक्ष एवं उद्योगी नवराज मानन्धरले बनेपाको फोहोर व्यवस्थापनका लागि चारवटा जिल्ला कटाएर लानुपर्छ भन्ने समाचार सुन्दा अचम्म लागेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन गर्न आफ्नो पार्टी बनेपा नगरपालिकालाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

बनेपा ब्वाइज क्लबका अध्यक्ष महेश कर्माचार्यले काठमाडौँको फोहोर विसर्जनको समस्या हुने ठाउँमा बनेपाको फोहोर विसर्जन गर्नु निकै अप्ठ्यारो रहेको बताउनुभयो । उहाँले बनेपाका वडा–वडामै फोहोर व्यवस्थापनको काम गर्न आवश्यक रहेको बताउँदै बन्चरेडाँडासम्म फोहोर पु-याउन लाग्ने खर्च बनेपामै दिन सकेमा त्यसले राम्रो काम गर्ने बताउनुभयो ।