• ७ भदौ २०८२, शनिबार

रूस र अमेरिकाबिच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफलः पुटिन

blog

राष्ट्रपति भ्लादिमिर पुटिन ।

मस्को, भदौ ७ गते । रूस र संयुक्त राज्य अमेरिकाबिच तरल प्राकृतिक ग्यास (एलएनजी) परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताउनुभएको छ । 

यो सहकार्य रूसको आर्कटिक क्षेत्र मात्र नभई अमेरिकाको अलास्कासम्म फैलिन सक्ने उहाँले जनाउनुभयो । निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक क्षेत्रका प्राविधिक तथा वैज्ञानिकसँगको भेटमा बोल्दै पुटिनले ‘नोभाटेक’ जस्ता प्रमुख एलएनजी उत्पादक कम्पनीलगायत थुप्रै रूसी कम्पनीले युरोप र एसियाका साझेदारसँग पहिल्यै सहकार्य गरिरहेका बताउनुभयो ।

“हामी अमेरिकी साझेदारहरूसँग पनि यस क्षेत्रमा सहकार्यको सम्भावनामा छलफल गर्दै छौँ, जुन केवल हाम्रो आर्कटिक क्षेत्रमै सीमित छैन, अलास्कामा पनि हुन सक्छ,” पुटिनले टास समाचार एजेन्सीलाई उद्धृत गर्दै भन्नुभयो । पुटिनका अनुसार, रूससँग रहेको विशेष तरल प्राकृतिक ग्यास प्रविधिले अमेरिकी साझेदारको समेत ध्यान खिचेको छ । रासस/सिन्ह्वा