पिताजीले सन् १९७० को अन्त्यबाट सन् १९८० को मध्यसम्म आप्रवासी कामदारका रूपमा मध्यपूर्वी एसियामा चर्को घाम अनि मरुभूमिको तातोमा कठिनाइ झेल्दै निर्माण क्षेत्रमा मजदुरका रूपमा काम गर्नुभयो । जस्तोसुकै कठिनाइ भोग्नु परे पनि उहाँले कहिल्यै दुःख देखाउनुभएन । त्यतिबेला कोरियामा मजदुरले प्राप्त गर्ने पारिश्रमिकभन्दा झन्डै तीन गुणा बढी रकम आर्जन गर्दै जिम्मेवारी पूरा गर्नुभयो । हाम्रो परिवारको भरोसा हुनुहुन्थ्यो बुवा । प्राथमिक विद्यालयको विद्यार्थी रहेकाले मलाई बुवाले वैदेशिक रोजगारीमा रहेर गरिरहनुभएको कामको बारेमा ज्ञान थिएन । कोरियाभन्दा बाहिरी संसारका बारेमा पनि धेरै कुरा थाहा थिएन र प्रवासी कामको महत्व बुझ्ने कुरै भएन ।
म हुर्किएपश्चात् बुवा बनेर अभिभावकको भूमिका जिम्मेवारी लिने बेलामा मात्र उहाँका अनुभव बुझ्न थालेँ । उहाँले मध्यपूर्वमा किन काम गर्ने निर्णय गर्नुभयो ? त्यो तातो हावासँगै उड्ने बालुवाको प्रतिकार कसरी गर्नुभयो ? मरुभूमिमा निर्माण क्षेत्रमा काम गर्दाको गर्मी र थकान बिर्सिएर परिवारका लागि ठुलो योगदान गर्नु भयो । न राम्रो खाना उहाँका लागि उपलब्ध थियो न त उहाँसँग गुनासो गर्न परिवारका सदस्य साथमै थिए । बुवाको त्यस बखतको साथी पसिना र थकाई थियो, पर्खाइपश्चात् प्राप्त हुने पारिश्रमिक मात्र थियो ।
उहाँ कोरिया फर्कन कैयौँ पटक सोच्दै आत्तिनुभएको क्षण, परिवारका सदस्य सम्झिएर भक्कानिएका क्षण आदि वर्णन गर्न म त्यति सक्षम छैन । आज बुवाको भूमिमा रहँदा उहाँको अविचलित स्वभाव र सहनशीलताको पर्यायवाची खुला आकाशका बारेमा बुझ्न बाध्य भएको छु । त्यतिबेला मलाईभन्दा पनि मेरी आमालाई कैयौँ गुणा पीडा हुने गर्दथ्यो । उहाँले विदेशमा कार्यरत बुवालाई हस्तलिखित पत्र लेख्न र मलगायत भाइबहिनीको आवाज रेकर्ड गरिएका क्यासेट पठाउने र बुवाले पठाउनुभएको उहाँका आवाज भरिएका सन्देश सुनेर रमाएको क्षण कहिल्यै भुल्न सक्दिनँ । आज सञ्चार क्षेत्रमा ठुलो परिवर्तन आएको छ, त्यस बखत हामीले गर्न सक्ने सञ्चार माध्यममध्ये उपयुक्त विधि नै त्यही थियो ।
मध्यपूर्वी देशमा आप्रवासी कामदारका रूपमा बुवाले बगाउनुभएको पसिना र गर्नुभएको कठोर परिश्रमबाट आर्जित पारिश्रमिक कम मूल्यवान् थिएन । मलगायत हाम्रो परिवारको आर्थिक हैसियत माथि उठाउन र समय सुहाउँदो शिक्षा लिन महत्वपूर्ण उपहार नै साबित भयो त्यो पारिश्रमिक । बुवाको एकल त्यागप्रति नतमस्तक हुँदै मैले अध्ययनलाई महत्वका साथ अगाडि बढाएँ । राम्रो विश्वविद्यालयबाट शिक्षा लिनुका साथै आज सार्वजनिक सेवामा करियर बनाउन सक्षम भएँ ।
म दुई वर्षअघि दक्षिण कोरियाली राजदूतका रूपमा नेपालमा कार्यभार समालिरहेको छु । नेपालमा आएपश्चात् मेरो पारिवारिक विगत जस्तै यहाँका बुवाहरूको दैनिक पनि नियालिरहेको छु । ठुलो सङ्ख्यामा नेपाली बुवाहरू मेरो बुवा जस्तै आफ्नो परिवारको आर्थिक अवस्था सुधार गर्न, सन्तानलाई शिक्षा दिन हजारौँको सङ्ख्यामा आप्रवासी कामदारका रूपमा मध्यपूर्वका खाडी मुलुकलगायत अन्य देशमा अवसरको खोजीमा गएको प्रत्यक्ष अनुभव गरिरहेको छु ।
मलाई विश्वास छ, धेरै नेपाली बुवाहरू आप्रवासी कामदारका रूपमा विभिन्न मुलुक जाँदै गर्दा ४० वर्षअघि मेरो बुवाको जस्तै भावनाको प्रतिनिधित्व गर्छ । विदेशमा आप्रवासी कामदारका रूपमा जीवन जिउनु भनेको कठिन र डरलाग्दो हुन्छ । तथापि आफ्नो परिवारको पालन पोषण, छोराछोरीको शिक्षाको खातिर कठिन यात्रालाई साहसपूर्वक अँगाल्न बाध्य हुनु पर्छ । हाम्रा बुवाहरूले आफ्नो परिवारबाट टाढा हुनु, आफ्ना छोराछोरी हुर्किएको हेर्न नपाउनु, आमाबुवा बिरामी हुँदा उपस्थित हुन नसक्नु, आमाबुवाको मृत्यु हुँदासमेत उपस्थित हुन नसक्नु, अपरिचित वातावरणमा काम गर्नुको पीडा सहन बाध्य हुनु, सांस्कृतिक तथा भाषाको ज्ञानका कारण तड्पिनुपर्ने बाध्यता छ । नेपाली प्रवासी मजदुरले दिनमा धेरै पटक परिवारलाई सम्झनु हुने छ, विभिन्न कठिन पलमा जन्मस्थान नेपाल र आफ्नो परिवारको काखमा रमाउन फर्कने इच्छा सगरमाथाभन्दा उच्च हुने छ । त्यस बखत पनि धैर्य र परिवारप्रतिको गहन जिम्मेवारीबोधले स्वदेश फर्कन सक्दैनन् । परिवारप्रतिको माया र जिम्मेवारी सबै किसिमका कठिनाइ भन्दा बलिया छन् । हाम्रा बुवाहरूको प्रवासी कामदारका रूपमा थालनी भएको यात्रा कुनै पनि नायकको यात्राभन्दा उच्च रहेको छ ।
धेरै नेपाली बुवा आज कोरियामा काम गरिरहनुभएको छ । केही वर्षअघि एक कोरियाली टिभी कार्यक्रमले रोजगार अनुमति प्रणालीमार्फत कोरियामा कार्यरत नेपाली आप्रवासी कामदारको जीवनीको बारेमा भोगाइ प्रस्तुत भएको थियो । उक्त कार्यक्रममा आप्रवासी कामदारका रूपमा कोरियामा काम गर्ने प्रक्रिया, उनीहरूले सामना गरेका सुरुवाती कठिनाइ साना तथा मझौला उद्योग र कृषि तथा पशुपालन क्षेत्रमा सहकर्मीसँग बाँडिएको कठिन काम र आरामको समय देखाइएको थियो । कारखानाको कठिन काम, छात्रावासमा आफ्ना सहकर्मीसँग नेपाली खाना पकाएको र नेपालमा रहेका पत्नी र छोराछोरीसँग भिडियो च्याट गरेको देखाइएको थियो । पत्र र क्यासेट टेपमार्फत मेरो बुबासँग कुराकानी गर्ने मेरो आफ्नै विगतको अनुभव सम्झना गरायो । प्रसारणको क्रममा, आप्रवासी कामदार, आफ्नो परिवारसँग मुस्कुराउँदै भिडियो कल गरेपछि परिवारलाई सम्झँदै छात्रावासको कुनामा एक्लै रोएको दृश्य देखाइएको थियो । कार्यक्रमले आप्रवासी कामदारकी पत्नी र छोराछोरीलाई अचानक पारिवारिक पुनर्मिलनका लागि कोरियामा आमन्त्रित गरिएको भावुक क्षण पनि देखाएको थियो । पति पत्नी रोइरहेका थिए तर साना छोराछोरी रोमाञ्चित देखिन्थे ।
आप्रवासी कामदार केवल श्रमिक मात्र होइनन् र सम्मानयोग्य पात्र हुन् भन्ने देखाउने यो कार्यक्रमले मलगायत कोरियाली दर्शकमाझ अत्यधिक लोकप्रियता हासिल गरेको छ । यही कारणले कोरिया सरकारले आप्रवासी कामदारलाई न्यूनतम ज्याला, स्वास्थ्य तथा सामाजिक बिमा र श्रम नियमसहित कोरियाली कामदारसरह भेदभावरहित अवस्थाको ग्यारेन्टी गरेको छ । हरेक समाजमा अपवाद पनि हुन्छन् नै । आप्रवासी कामदारको मानव अधिकार हनन भएका विषय कोरियाली मिडियामा आउने पनि गरेका छन् । एक महिनाअघि मात्र आप्रवासी कामदारमाथि भएको दुव्र्यवहारको घटनापश्चात् दक्षिण कोरियाली राष्ट्रपति महामहिम ‘ली जेम्यङ’ ले श्रम मन्त्रालयका अधिकारीलाई विदेशी कामदारको मानव अधिकार सुरक्षित गरिएको सुनिश्चित गर्न र पुनः घटना नदोहोरिने वातावरण निर्माण गर्न आवश्यक सुधार सम्बन्धमा रिपोर्ट गर्न निर्देशन दिनुभएको थियो ।
नेपाल सरकारले आप्रवासी कामदारको कल्याणका बारेमा गहन अध्ययन गरी सकारात्मक पहलकदमी लिँदै विभिन्न नीतिगत सुधारका प्रयास गरिरहेको छ । कोरिया सरकारले पनि कोरियामा कामको अनुभव भएका आप्रवासी कामदारलाई नेपाल फर्केपछि पुनस्र्थापना तथा स्वदेशमै उद्यमशील बनाउन निरन्तर प्रयास गरिरहेको छ । कोरिया सरकारले सन् १९७० र १९८० को दशकमा जर्मनीमा खानी मजदुर र नर्सका रूपमा तथा मध्यपूर्व एसियामा निर्माण कामदारका रूपमा खेलेको भूमिका र आप्रवासी कामदारको अनुभवबाट कोरियाका विकासमा उल्लेख्य भूमिका स्मरण गरिरहेका छौँ । मेरो बुवाको समर्पण र वैदेशिक रोजगारको कारण, कोरियाले आफ्नो प्रारम्भिक विकासको जग बसाल्न सफल भएको थियो । आप्रवासी कामदारको अनुभव भएका व्यक्तिमध्ये धेरैले ठुला र साना दुवै व्यवसाय सुरु गरेर स्वदेशमा रोजगारी सिर्जना भई कोरियाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याए । यस अनुभवलाई मनन गर्दै कोरियाली सरकारले वैदेशिक रोजगारको अनुभव लिएर नेपाल फर्केकाहरूले मातृभूमिलाई विकास र समृद्धिका लागि कुशल चालकको भूमिका सम्पादन गर्न सक्छन् भन्ने बुझाइ छ । यसै विषयलाई ध्यानमा राखेर कोरिया सरकारले सन् २०२३ देखि स्वदेश फर्केकाको पुनर्एकीकरण र उद्यमशीलतासम्बन्धी विभिन्न परियोजनामा हातेमालो गर्दै आएको छ ।
हामी नेपालमा उद्यमशीलता विकास गर्न कोरिया सरकार र स्वीस संस्थाको साझेदारीमा स्वदेश फर्केका कामदारसँग सहकार्य गरिरहेका छौँ । त्यसै गरी यही वर्ष जुन महिनाको अन्त्यमा हामीले ‘के–हामी’ नामक मोबाइल एप सुरुवात गरेका छौँ । उक्त एपले नेपाली आप्रवासी कामदारले विदेश प्रस्थान गर्नुअघिको तयारी, विदेशमा कार्यरत रहँदाको क्रममा जान्नुपर्ने ज्ञान र अन्त्यमा स्वदेश फर्केपछि नेपालमा व्यवसाय सुरु गर्न आवश्यक ज्ञान, सिपका बारेमा नेपाली भाषामा चरणबद्ध रूपमा जानकारी उपलब्ध भइरहेको छ ।
त्यसै गरी गत जुनमा कोरियाली दूतावासले ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तकमा उत्पादनमूलक, कृषि, सेवा, शिक्षा क्षेत्रमा कोरियाबाट कामको अनुभव लिई फर्किएका ५० जना उद्यमीका सफलताका कथा समावेश गरिएको छ । उक्त पुस्तकमार्फत असम्भव जस्तै लाग्ने व्यावसायिक यात्रा पूरा गरेका ५० जना उद्यमीको यात्रा र सफलताका आधार समावेश गरिएको छ । म यी ५० जना नायकलाई सम्मान गर्न चाहन्छु । उक्त पुस्तकमा समावेश गरिएका वास्तविक कथामार्फत स्वदेश फर्किएका आप्रवासी कामदारको उद्यमशीलता भावनालाई प्रेरित गर्छ भन्ने लागेको छ । दूतावासले उक्त पुस्तक प्रकाशन गर्न सक्नुलाई नेपालका लागि कोरियाली राजदूतको रूपमा मेरो कार्यकालको सबैभन्दा महìवपूर्ण उपलब्धिका रूपमा लिएको छु ।
आज नेपालमा बुवाको मुख हेर्ने दिन कुसेऔँसी हो । यसै अवसरको सदुपयोग गर्दै बुवाहरूको वीरताको बारेमा कुरा गरिरहेको छु । संसारभरका आमाहरू पनि उत्तिकै शक्तिशाली नायिका हुनुहुन्छ । नेपालमा हामी प्रायः आमाहरू भगवान् हुनुहुन्छ भन्ने वाक्यांश धेरै सुन्ने गरेका छौँ, यो सत्य नै हो । बुवाको मुख हेर्ने दिन मनाउँदै गर्दा नेपालमा रहेका पत्नी र छोराछोरीले विदेशमा रहेका नेपाली बुवाहरूलाई भिडियो कल गरेर कृतज्ञता व्यक्त गर्न सक्ने छन् । जसले गर्दा यो दिन एक क्षणका लागि मात्र भए पनि बुवाको मुख हेर्ने सुखद क्षण बन्ने छ । बाल्यकालमा लामो समय बुवाको समीपमा बिताउन नपाउनुभएका परिवारका सदस्यले कालान्तरमा बुबाको महìव आफू बुवा भएपश्चात् झनै बुझ्ने छन् । आप्रवासमा रहनुभएका सबै बुवाहरूप्रति सलाम छ ।
(लेखक पार्क नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हुनुहुन्छ ।)